
– सन्तोष काफ्ले
धरान, ५ चैत । मुलुकभर विहीबार देखि सुरु भएको एसएलसी परीक्षामा किशोरीदेखि तन्नेरीसम्मले परीक्षा दिएका छन् ।
यस्तै बेला धरान–२३ पानबारीकी ७४ बर्षीया तीर्थकुमारी खड्काले पनि आप्ना पनातिनी उमेरका किशोरीको लहरमा बसेर पहिलो दिन अंग्रेजीको परीक्षा दिएकी छिन् ।
मोरङको याङशिला स्थित जन्मभूमिविद्यालयमा ६३ बर्षको उमेरमाकक्षा १ मा भर्ना भएर पढ्न सुरु गरेकी खड्काले कक्षा ५ पछि पाचकन्याको सरस्वती उच्च माविमा कक्षा ६देखि हाल सम्म अध्ययन जारी राखेको बताइन् । सोही विद्यालयमा नियमित अध्ययन गरेपछि एसएलसीमा सहभागी हुने अवसर पाएको उनले बताइन् ।
मुलुक भरमा एसएलसी दिने मध्ये पौने ६ लाख परीक्षार्थी मध्ये तीर्थकुमारी खड्का सम्भवत यो बर्षको एसएलसी परीक्षा दिने सबै भन्दा जेठी छात्रा हुन् ।
धरान–२३ पाचकन्याको लिम्बुचौरी बस्ने ७४ बर्षीया खड्काले धरान उपमहानगपालिका–३ स्थित भानु स्मृित परीक्षा केन्द्रको परीक्षाहलको अन्तिम लहरमा आफ्नो पनातिनी उमेरकी १६ बर्षीया किशोरीको लहरसंगै बसेर अंग्रेजी विषयको परीक्षा दिइन् ।
स्कुलमा भर्ना भएपछि उनले किताबी ज्ञान मात्र पाइनन्, विज्ञान, राजनीति, इतिहास, भुगोल, सामाजिक आदि विषयका बारेमा उनको ज्ञानको दायरा फराकिलो भएको बताइन् ।
पत्रपत्रिका पढ्ने, सामान्य अंग्रेजी पनि बुझ्न थालेकीले देश विदेशका विद्धानहरुले लेखेका अंग्रेजी र नेपाली भाषाका मोटा मोटा पुस्तक पनि अध्ययन गर्ने बानी बस्न थालेपछि ज्ञान भन्ने चिज अपार रहेछ भन्ने पनि बुझेको बताइन् ।
आफ्ना पनातीपनातिनी उमेरका केटाकेटीहरु स्कुल पढ्दापढ्दै छाडेको देखेपछि उनीहरुलाई उमेर छंदै अध्ययन पुरा गर्नुपर्छ भन्ने प्रेरणा दिन आफुले कक्षा १ देखि पढ्न सुरु गरेको बताइन् ।















प्रतिक्रिया