विराटनगर, ५ चैत । राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले संविधानसभाबाटै विवादित विषयमा सहमति खोज्नुपर्ने कुरा बताउनुभएको छ ।
विराटनगरमा आज पत्रकारहरुसँगको भेटघाटमा उहाँले संविधानसभाभन्दा बाहिर गएर बन्द कोठा वा आन्दोलनबाट निकास खोजियो भने प्रजातान्त्रिक मूल्य मान्यताप्रति आघात पुग्ने स्पष्ट गर्नुभयो ।
उहाँले विवादित विषयहरुमा सहमतिका लागि संविधानसभाभित्रका दलहरुबीच सर्वदलीय बैठक गरी नयाँ कार्यतालिका बनाएर विधि र प्रक्रियाको माध्यमबाट सहमति गर्नुपर्ने विषयमा जोड दिनुभयो ।
काँग्रेस र एमालेको गणितीय दम्भ तथा निषेधको राजनीति र एमाओवादी तथा मधेसी मोर्चाको आन्दोलनका कारण जनताको चाहनामाथि कुठाराघात भएमा मुलुक राजनीतिक सङ्कटमा फस्ने सम्भावना व्यक्त गर्नुभयो ।
उहाँले सङ्घीय राज्यको सन्दर्भमा पाँच जिल्लाको विवाद केही नेताहरुको उग्र महत्वाकांक्षी सोचाइको उपज रहेको प्रसङ्ग उल्लेख गर्दै केही हदसम्म बाह्य शक्तिको दबाब पनि हुन सक्ने आशङ्का व्यक्त गर्नुभयो ।
संविधानसभालाई सार्वभौम संस्था बनाउन सभाध्यक्षले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै नेता थापाले संविधान निर्माणको सन्दर्भमा सभाध्यक्षको भूमिका सकारात्मक देखिएको स्पष्ट गर्नुभयो ।
मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता महसुस गरिएकाले राप्रपासँग पार्टी एकीकरणका लागि प्रयास सुरु भएको जानकारी गराउँदै अध्यक्ष थापाले यसका लागि वार्ता टोली गठन भइसकेको बताउनुभयो ।
उहाँले विराटनगरले शतवार्षिकी मनाइरहेकाले सोको सम्मानका लागि राप्रपा (नेपाल)को केन्द्रीय कार्यसमितिको बैठक चैत १६ देखि १८ गतेसम्म विराटनगरमा बस्ने जानकारी गराउनुभयो । रासस















प्रतिक्रिया