३ कार्तिक २०८३, मंगलबार

सरकारी निर्देशिका मिचेर दाङमा जिशिअले निजी विद्यालयका सञ्चालकलाई केन्द्राध्यक्ष बनाए

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

slc– निशान दाजु भट्टराई

घोराही, ४ चैत ४ । भोलीदेखि सञ्चालन हुन लागि रहेको विद्यार्थीको फलामे ढोका मानिने एसएलसी परीक्षामा दाङको एक परीक्षा केन्द्रमा निजी विद्यालयका सञ्चालकलाई नै केन्द्राध्यक्ष तोकिएको छ ।

जिल्ला शिक्षा कार्यालय दाङमा यस विषयमा मौखिकरुपमा जानकारी गराउँदागराउँदै जिल्ला शिक्षा अधिकारी प्रल्हाद अर्यालको ठाडो निदेर्शनमा बालमितेरी उमावि भोजपुर परीक्षा केन्द्रमा निजी विद्यालयका सञ्चालक ओमप्रकाश वलीलाई केन्द्राध्यक्षका रुपमा खटाइएको छ । ओली बालमितेरी उमाविका प्राचार्य हुनुहुन्छ भने मुनामिलन बोर्डिङ स्कूल भोजपुरका सञ्चालक हुनुहुन्छ ।

मुनामिलन इंगलिश बोर्डिङ स्कूलका विद्यार्थीले यस वर्षको एसएलसी परीक्षा सोही परीक्षा केन्द्रबाट दिन लागि रहेका छन् । यसैगरी चौतर्फी बिरोधका बाबजुत सोही विद्यालयका शिक्षक एवं सोही बोर्डिङका विज्ञान विषयका आंशिक शिक्षक राजीब बस्नेतलाई पनि उक्त परीक्षा केन्द्रको सहायक केन्द्राध्यक्षकारुपमा जिल्ला शिक्षा कार्यालय दाङले खटाएको छ ।

स्रोतका अनुसार यस विषयमा मौखिक जानकारी जिल्ला शिक्षा कार्यालयमा दिइएपछि यस विषयमा बुझ्नका लागि कार्यालयमा सहायक केन्द्राध्यक्ष बस्नेतलाई जिल्ला शिक्षा अधिकारी अर्यालले बोलाएपनि विभिन्न चलखेलका कारण उनीहरुलाई नै परीक्षा सञ्चालन गर्न जिम्मेवारी दिएर पठाएका छन् ।

स्रोतका अनुसार उक्त केन्द्रका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षका बच्चाहरु पनि सोही बोर्डिङबाट एसएलसी दिइरहेका छन् ।

परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउनका लागि सरकारले परीक्षा सञ्चालनका गर्न जारी गरेको निर्देशिकामा परीक्षा केन्द्रमा परीक्षा दिने विद्यालयका सञ्चालक, शिक्षकलाई परीक्षाको केन्द्राध्यक्ष लगायतका जिम्मेवारी नदिने स्पष्ट प्राव्धान रहेको छ ।

यसैगरी छोराछोरी परीक्षा दिइरहेकाहरुलाई पनि कुनै पनि महत्वपूर्ण जिम्मेवारी नदिने प्राव्धान सरकारले बनाएको छ । तर निर्देशिका मिच्दै जिल्ला शिक्षा कार्यालय दाङका जिशिअ अर्यालयको ठाडो निर्देशनमा यस्तो कार्य भएको स्रोतको भनाइ छ ।

दाङमा करिव १२ हजार परीक्षार्थीले परीक्षा दिइरहेका छन् । जसमा नियमित तर्फ ९ हजार १ सय ५० र एक्जाम्टेड तर्फ ३ हजार ७ सय ५४ जनाले परीक्षा दिइरहेका छन् । दाङमा ३९ वटा परीक्षा केन्द्र तोकिएको छ भने ३५ सामुदायीक र ४ वटा संस्थागत विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । यस वर्ष सामुदायीक ४६, संस्थागत ८३ विद्यालयहरुका विद्यार्थीले परीक्षा दिदैंछन् ।

परीक्षा बिहीवार विहान ८ बजेबाट हुँदैछ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुँदछ । परीक्षाका लागि ५ सय ८ जना निरीक्षक, १ सय ४० जना सहयोगी र ५ सय ८५ सुरक्षाकर्मी परीचालन गरिएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ ।

यस विषयमा जिल्ला शिक्षा कार्यालयका परीक्षा शाखाका सहायक जिल्ला शिक्षा अधिकारी चेतनशिल लम्सालले यस विषयमा आफूलाई खासै जानकारी नभएको र बुझेर थप कदम चाल्ने बताउनुभयो ।

तर जिल्ला शिक्षा अधिकारी प्रल्हाद आर्यालको मोवाइल नम्वर ९८५७८३४५०९ मा पटकपटक फोन गर्दा पनि फोन उठाउनु भएन ।