३ कार्तिक २०८३, मंगलबार

बाँकेबाट ८ हजार बढी विद्यार्थी एसएलसी परीक्षामा सहभागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Slc Exam– विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, ४ चैत । यसपालीको एसएलसीमा बाँकेका २६० जना परीक्षार्थीले परीक्षा दिन नपाउने भएका छन् । परीक्षा शुल्क नतिरेका ५३ र २०७ जना हाजिरी नपुगेका विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएको शिक्षा कार्यालयले जनाएको छ ।

एसएलसी परीक्षामा बाँकेबाट ८ हजार २३४ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । नियमिततर्फ ५ हजार ८५८ र एक्जाम्टेडतर्फ २ हजार ३७२ जना विद्यार्थीले परीक्षा दिने जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको हो ।

बाँकेका १४० वटा विद्यालयका विद्यार्थीले एसएलसी परीक्षामा सहभागिता जनाउँदै छन् । सहायक जिल्ला शिक्षा अधिकारी गोरख बहादुर थापाले ७७ सामुदायिक, ५९ वटा संस्थागत र ४ वटा खुल्ला विद्यालयले परीक्षामा सहभागिता जनाउने बताए ।

उनले परीक्षा सञ्चालनका लागि २९ वटा विद्यालय र एउटा कारागार गरी ३० वटा परीक्षा केन्द्र तोकिएको जानकारी दिए । एसएलसी परीक्षाको पूर्वसन्ध्यामा जिल्ला शिक्षा कार्यालय बाँकेले गरेको पत्रकार सम्मेलनमा थापाले खुल्ला विद्यालयबाट ११५ जनाले परीक्षा दिँदै छन् ।

उनले भने, ‘ज्ञानोदय उमावि खजुराबाट ४५ जना, त्रिभुवन उमावि कोहलपुरका ५९, सरस्वति उमावि पनेरियाका ९ र पौढ गृहणी रझेनाका २ जना खुल्ला विद्यालयका विद्यार्थी एसएलसी परीक्षामा सामेल हुँदैछन् ।’
नेपालगन्जस्थित कारागारमा कैदी जीवन विताइरहेका २ जनाले पनि परीक्षा दिने भएका छन् । उनीहरुका लागि कारागारमै परीक्षा दिने ब्यवस्था मिलाइएको विद्यालय निरीक्षक कृष्णराज पौडेलले जानकारी दिए ।

त्यसैगरी, यसपालीको परीक्षामा १५ जना शारिरीक अशक्त सामेल भएका छन् । पौडेलका अनुसार शारिरीक अपाङ्ता भएका ४, सुस्त श्रवण ३ र दृष्टिविहिन ७ जना विद्यार्थीले परीक्षा दिँदै छन् ।

परीक्षालाई मर्यादित बनाउन सुरक्षाकर्मीको परिचालन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । पहिलेको तुलनामा यसपाली सुरक्षाकर्मीको संख्या थप गरिएको सहायक जिल्ला शिक्षा अधिकारी थापाले जानकारी दिए । उनले भने, ‘अघिल्लो वर्षको एसएलसी परीक्षामा १० जना सुरक्षाकर्मी परीचालन गरिएकोमा यसपाली १५ जना सुरक्षाकर्मी खटाइएको छ ।’

अघिल्लो वर्षको तुलनामा यसपाली एसएलसी परीक्षा दिने विद्यार्थी संख्या घटेको शिक्षा कार्यालयले जनाएको छ । एसएलसी अनुत्तीर्ण भएकाहरुका लागि ब्यवस्था गरिएको एक्जामटेड परीक्षामा भने न्यून परीक्षार्थीले परीक्षा दिँदै छन् ।

विद्यालय निरीक्षक पौडलले भने, ‘हामी एक कक्षाका विद्यार्थी विद्यालय नआए खोजी गर्छौँ । तर, एसएलसी अनुत्तीर्णहरु कहाँ जान्छन् खोजी गर्दैनौँ ।’ उनले एसएलसी परीक्षामा अनुत्तीर्ण भएकाहरुको पनि राज्यले खोजी गर्नुपर्ने बताए ।

– बर्दियामा छात्रा बढी 

यसवर्षको प्रवेशिका (एसएलसी) परीक्षामा बर्दियाबाट १० हजार बढी परीक्षार्थी सहभागी हुँदैछन् । एसएलसी परीक्षामा नियमित र एक्जाम्टेड गरी १० हजार २२३ परीक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय बर्दियाले जनाएको छ ।

नियमित तर्फ ७ हजार ६ र एक्जाम्टेड तर्फ ३ हजार २ सय १७ जनाले परीक्षा दिँदैछन् । ३४ वटा परीक्षा केन्द्रबाट सञ्चालन हुने परीक्षाका लागि प्रत्येक केन्द्रमा १÷१ वटा केन्द्राध्यक्ष, ३ सय ५० भन्दाबढी परीक्षार्थी रहेको केन्द्रमा २ वटा सहायक केन्द्राध्यक्ष र २५ परीक्षार्थी बराबर १ निरीक्षक रहने व्यवस्था मिलाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

बर्दियाबाट यस वर्षको प्रवेशिका परीक्षा दिनेमा छात्रभन्दा छात्रा परीक्षार्थीको संख्या बढी रहेको छ । जिल्ला शिक्षा कार्यालय स्रोतका अनुसार एसएलसीमा नियमित र एक्जाम्टेड तर्फ गरी ४ हजार २ सय ८३ छात्र र ५ हजार ९ सय ४० छात्राले परिक्षा दिँदैछन् ।