– नरेन्द्र कार्की
दार्चुला, ४ चैत । दार्चुलाका राजनीतिक दलहरुले सरसफाईलाई सामाजिक अभियानको रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
जिल्लाको सरसफाई रणनीतिक योजना २०६६ पहिलो संसोधन २०६८ र २०७० जेठ २९ गरेको प्रतिबद्धतालाई आत्मसाथ गर्दै २०१६ भित्र जिल्लालाई खुला दिशामुक्त घोषणा गर्न अभियानकै रुपमा सञ्चालन गर्ने प्रतिबद्धता गरेका हुन् ।
सेवक नेपाल र सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाले आयोजनामा बुधबार खलंगामा गरेको खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्धनको लागि जिल्लास्तरीय राजनीतिक दलहरुसँगको समीक्षा एवं योजना तर्जुमा गोष्ठीमा दलहरुले प्रतिबद्धता गरेका हुन् ।
राजनीतिक दलहरुले अभियानलाई आफ्ना जिल्ला कमिटीदेखि मातहतका सबै कमिटी समिति एवं भाृतभगेनी संघ संगठनसम्म परिचालन गर्ने प्रतिबद्धता गरेका छन् । जिल्लास्थित राजनीतिक दलहरुले ६ बुद्धे घोषणा पत्र जारी गर्दै सो प्रतिबद्धता जनाएका हुन् ।
राजनीतिक दलहरुले गाविस र नगरपालिकामा एक घर एक शौचालय निर्माण गर्न स्थानीयलाई प्रबद्र्धन गर्ने प्रतिबद्धता गरेका छन् । खुला ठाउँमा दिसापिसाव नगर्ने तथा खुला दिशापिसाब गर्ने कार्यलाई सामाजिक अपराधको रुपमा घोषणा समेत प्रतिबद्धता गरेका छन् ।
गाउँनगरदेखि जिल्लासम्म अभियानलाई सफल बनाउन बजेट विनियोजन देखि हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्ने समेत प्रतिबद्धता जाहेर गरेका हुन् ।
यसघि जिल्लालाई सन् २०१४ भित्र खुला दिशामुक्त गर्ने राजनीतिक दल, नागरिक समाज, सरोकारवाला व्यक्तिहरुले प्रतिबद्धता गरेका थिए ।
लाज र घृणा जोगाउन चर्पी
जिल्लालाई सन् २०१६ भित्र खुला दिसामुक्त घोषणा गर्न घर घरमा चर्पी बनाउनुपर्ने भएको छ । लाज र घृणा जोगाउनको लागि भएपनि एक घर एक चर्पी बनाउनुपर्ने भएको हो ।
जिल्लाको सरसफाई रणनीतिक योजना अनुसार सन् २०१६ भित्र खुला दिशामुक्त जिल्ला घोषणाको लागि अभियानलाई तिव्रता दिनुपर्नेमा जोड दिइएको छ ।
सेवक नेपालका तेजराज उपाध्यायले सौचालय बनाउनको लागि इच्छा शक्ति आवश्यक भएको बताउनुभयो । जाल र घृणाबाट जोगाउन चर्पी नारा लिएर अभियानमा लाग्नुपर्छ राजनीतिक दलहरु सँगको समीक्षा कार्यक्रममा उपाध्यायले भन्नुभयो । ‘कति बेला सम्म गुखाएरै बस्ने ?’
उहाँले खुला दिसामुक्त अभियानको लागि हरेक क्षेत्रले जाग्ने हो भने खुला दिसामुक्तको लागि सन् २०१६ नै पर्खिनुपर्ने आवश्यकता नभएको बताउनुभयो ।
सेवक कै झंकर कुवरले अभियानमा सबैको हातेमालो हुनुपर्ने बताउनुभयो । उहाँले अभियानको लागि म हैन हामी भन्ने भावनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
सेवक नेपालले जिल्लाका २० गाविसमा खानेपानी तथा सरसफाइको क्षेत्रमा सामाजिक परिचालनको कार्य गर्ने जनाएको छ ।















प्रतिक्रिया