३ कार्तिक २०८३, मंगलबार

उपनिर्वाचनको माहोलले तात्यो बागलुङ, उम्मेदवार गाउँगाउँमा भोट माग्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vote-electionबागलुङ, ४ चैत । बागलुङ क्षेत्र नं १ मा यही चैत २८ गते हुने संविधानसभा सदस्य उपनिर्वाचनका लागि दलहरुले प्रचारप्रसार सुरु गरेका छन् ।

निर्वाचनको मिति आउन केही साता मात्र बाँकी रहँदा दलहरु चुनावी कार्यक्रम लिएर गाउँ लागेका छन् । प्रमुख दलले निर्वाचन सम्पर्क कार्यालय स्थापना गरी निर्वाचन परिचालनलाई अघि बढाएका हुन् ।

नेकपा (एमाले)ले चुनावी अभियानको सुरुआत मङ्गलबारदेखि नै गरेको छ । नेपाली काँग्रेस र एकीकृत नेकपा (माओवादी)ले बुधबारदेखि निर्वाचन अभियान सुरु गरेका छन् । राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, सङ्घीय समाजवादी दललगायत दल पनि निर्वाचन प्रचारप्रसारमा जुटेका छन् ।

सुरुका चरणमा सबै दलले ग्रामीण क्षेत्रमा निर्वाचन कार्यक्रम केन्द्रित गरेका छन् । क्षेत्रीय र जिल्लास्तरमा आमसभाको पनि आयोजना गर्ने तयारीमा दलहरु छन् । दलका सबै संयन्त्र निर्वाचनमा खटिएका छन् । नेपाली काँग्रेसले क्षेत्रीय सभापति होमबहादुर हमाललाई निर्वाचन परिचालन कमिटीको प्रमुख तोकेको छ ।

भ्रातृ तथा शुभेच्छुक सङ्घसङ्गठनलाई पनि काँग्रेसले निर्वाचन अभियानमा परिचालन गरेको छ । काँग्रेसको पहिलो चुनावी कार्यक्रम आइतबार पाला गाविसमा सुरु भएको छ । दलहरुले मतदाताको घरदैलोमै पुगेर मत माग्ने, उम्मेदवार र दलको प्रचार गर्ने, प्रतिबद्धता जनाउने, पार्टीका नीति, कार्यक्रम र योजनाबारे बताउने गरेका छन् ।

नेकपा (एमाले)ले पनि जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एमालेले बुधबारदेखि नै ग्रामीण क्षेत्रमा आफ्नो निर्वाचन अभियानलाई केन्द्रित गरेको छ । निर्वाचन अभियानमा उसले जिल्ला, क्षेत्र, नगर कमिटीदेखि सबै जनवर्गीय सङ्गठनलाई परिचालन गरेको छ । एक नगरपालिका र १९ गाविसलाई चारवटा क्षेत्रमा विभाजन गरेर अभियान सञ्चालन गर्न लागिएको एमाले अध्यक्ष शर्माले बताउनुभयो ।

त्यस्तै, एकीकृत नेकपा (माओवादी)ले केन्द्रीय सदस्य लीलबहादुर थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ । एमाओवादीले पनि बुधबार नगरपालिका क्षेत्रबाट आफ्नो चुनावी अभियान थालेको छ । दलको प्रचार अभियानमा केन्द्रीयस्तरका नेता पनि आउने भएका छन् । एमाओवादीले गलकोट क्षेत्रमा हुने चुनावी सभामा अध्यक्ष प्रचण्डलाई ल्याउने तयारी गरेको जनाएको छ ।

त्यस्तै, उपाध्यक्ष बाबुराम भट्टराईलगायत केन्द्रीय नेता पनि आउने एमाओवादीका निर्वाचन परिचालन कमिटीका संयोजक थापाले बताउनुभयो । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेता गोपालमान श्रेष्ठ, गगन थापालगायत नेता चुनावी सभामा सहभागी हुने काँग्रेसले जनाएको छ । एमालेले पनि केन्द्रीयस्तरका नेता ल्याउने तयारी गरेको छ । एक मात्र क्षेत्रमा हुन लागेको उपनिर्वाचन भएका कारण सबै दलका केन्द्रीयस्तरका नेताहरु यहाँ आउने भएका हुन् ।

उपनिर्वाचनमा १० राजनीतिक दल र तीन स्वतन्त्र गरी १३ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट स्वर्गीय सभासद् हरिबहादुर खड्काकी धर्मपत्नी चम्पादेवी खड्का, एमालेबाट मनकुमारी केसी र एनेकपा (माओवादी)बाट कृष्णबहादुर केसी चुनावी मैदानमा हुनुहुन्छ ।

यस्तै, राष्ट्रिय जनमोर्चाबाट नेत्र बुढाथोकी, राप्रपा र राप्रपा नेपालको संयुक्त उम्मेदवार नवीन सर्वुजामगर, सङ्घीय समाजवादी पार्टी नेपालका रेशम थापामगर, राष्ट्रिय जनमुक्ति पार्टीबाट रुकबहादुर पुन, राष्ट्रवादी एकता पार्टीबाट क्षेत्रप्रताप थापा, नेकपा (माले)बाट कुलबहादुर किसान र नेपाल परिवार दलका तर्फबाट बाबुराम शर्मा उम्मेदवार रहनुभएको छ । स्वतन्त्रतर्फ तुलसी थापा, नैना केसी र सरस्वती पन्तले उम्मेदवारी दिनुभएको छ । रासस