काठमाडौं, ४ चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणका विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् ।
विवादित विषयमा सहमति जुटाउने विषयमा दलहरूबीच सार्थक संवाद हुन नसकेको र विवाद कायमै रहेको भन्दै सभाध्यक्षले आज छलफल तय गरेका हुन् ।
गत माघ २९ गते अनिश्चितकालका लागि संविधानसभाको बैठक स्थगित भए पनि संविधानका विवादित अन्र्तवस्तुमा सहमति जुटाउनेतर्फ कुनै पनि पहल नभएको भन्दै सभाध्यक्ष नेम्वाङ असन्तुष्ट बन्दै आएका छन् ।
पछिल्लोपटक दलहरूबीच भएको संवादले पनि कुनै निष्कर्ष निस्कन नसकेको, सत्तारुढ दलले प्रक्रियाका आधारमा संविधान लेखन प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेको र एकीकृत माओवादी नेतृत्वमा रहेको ३० दलीय मोर्चाले आन्दोलन घोषणा गरेको सन्दर्भमा आगामी रणनीति कसरी तय गर्ने भन्ने विषयमा टुङ्गो लगाउन बैठक गर्न लागेको सभाध्यक्ष नेम्वाङले जानकारी दिए ।
प्रमुख राजनीतिक दल र नागरिक समाजको आग्रहमा सभाध्यक्ष नेम्वाङले गत माघ २९ गतेदेखि संविधानसभाको बैठक स्थगित गरेका थिए ।
त्यसपछि दलहरूबीच अनौपचारिक संवाद पनि भयो । औपचारिकरूपमा गत फागुन ३० गते चारपक्षीय वार्ता भयो । तर कुनै पनि निष्कर्ष निस्कन सकेन ।
यसैबीच एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले यही चैत १ गते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ भने सत्तारुढ दलले अब प्रक्रिया सुरु गर्नुपर्ने भन्दै तत्काल संविधानसभाको बैठक बोलाउन आग्रह गरेका छन् । छलफल एक बजे हुनेछ ।















प्रतिक्रिया