
काठमाडौँ, ३ चैत । मानिसहरु रहरले शरीरका विभिन्न भागमा ट्याटु खोप्छन् । तर, शरीरमा भएका यस्ता ट्याटु कहिलेकाँही प्रहरीलाई अनुसन्धानका लागि उपयोगी बन्ने राजधानीमा पछिल्लो एउटा घटनाले देखाएको छ ।
नेपाल प्रहरीले कीर्तिपुरको एक जंगलमा सडेर किरा परेको अवस्थामा भेटिएको शवको रहस्य खोल्न ट्याटुको साहरा लिएको छ । फागुन ३० गते कीर्तिपुरस्थित बागभैरब सामुदायिक वनको खोल्सामा सडेर किरा परेको अवस्थामा भेटिएको बयस्क युवकको शवको सनाखत हुन नसकेपछि प्रहरीले उनको शरीरमा रहेको ट्याटुको सहारा लिएको हो । शबको हुलिया ३० देखि ३५ बर्षको मंगोलियन अनुहारको पुरुष रहेको प्रहरीले जनाएको छ । जसको उचाई ५ फिट ३ इन्च, लामो कालो कपाल, ढाडमा स्टार जस्तो ६ वटा कोण भएको फुलको आकार जस्तो देखिने निलो रंगको ट्याटु रहेको प्रहरीले जनाएको छ ।
सोही ट्याटु र अनुहारको स्केच बनाएर अपराध अनुसन्धान महाशाखाले उपत्यका र देशभित्रका प्रहरी युनिटमा शबको परिचय खोज्न परिपत्र गरेको छ । घटनाको प्रकृति हेर्दा हत्या गरी फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शबको परिचय खुलेपछि मात्र हत्या वा मृत्युको कारण खोज्न सकिने अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
प्रहरीले तस्बीरमा रहेको स्केचसँग मेल खाने व्यक्ति हराएमा नजिकको प्रहरी कार्यालय तथा महानगरीय अपराध महाशाखामा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।















प्रतिक्रिया