२८ आश्विन २०८३, बुधबार

गुडबाइ काडमाण्डू !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradeep-Bhattarai

चलचित्रमा जस्तै उसले केही प्रश्न गर्यो । बाहुन हुनु, पुरुष हुनु के यो मेरो दोष हो ? के मैले मेरो जात र लिंग कँही कतै आवेदन दिएर लिएको हो ? हैन भने मेरो आफ्नो कारणले नपाएको यो जात र लिंगका कारण मैले किन सजाय पाउने ? यो त प्राकृतिक न्याय नभएको मात्र हैन, जातीय र लैगिक विभेद पनि भयो । के हामीले बनाउन खोजको नयाँ नेपाल यस्तै हो ?

गुडबाइ काडमाण्डू । नुमाफुङ फेमका निर्देशक नवीन सुब्बाको निर्माणाधीन चलचित्रको शीर्षक हो यो । धेरै भयो उनले यो नामको चलचित्र निर्माण गर्न थालेको पनि । लामो समय लिएकै कारणले हुनसक्छ, धेरैले त यो नामको चलचित्र निर्माण हुँदैछ भन्ने पनि बिर्सिसके । अझ कतिले त नवीन सुब्बा नामको चलचित्रकर्मी नै थियो भन्ने पनि बिर्सी सके । भौतिक रुपमा त हरेकको आयु हुन्छ नै, तर सामाजिक रुपमा बाँच्न समाजको कुनै न कुनै तप्का या वर्गसँग निरन्तर सम्वाद गरिरहनुपर्छ । नत्र, नौ दिनमा नौलो अनि बीस दिनमा बिस्र्यो हुने यो मुलुकमा आफूलाई त्यो रुपमा बचाइ राख्न गाह्रो मात्र हैन, असम्भव नै हुन्छ । नवीन मात्र यसमा कहाँ अपवाद हुन सक्थ्यो र ?

…………………………..

नवीनले गुडबाइ काठमाण्डू समयमै पूरा नगरेर विस्मृतिमा लगे पनि त्यसयता गुडबाइ काठमाण्डूको लोकप्रियताको ग्राफ भने चढेको चढै छ । खासगरी ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालका भित्ताहरुमा यो हाउसफूल छ । यसको बक्स अफिस तेजीमा छ ।  किनकि, यसका लागि अढाइ तीन घण्टाको शो हैन, हरेक मिनेट या घण्टाको शो नै पर्याप्त छ । सिल्भर जुब्ली, गोल्डेन जुब्ली, डायमण्ड र प्लाटिनम जुब्लीजस्ता फिल्मी मात्र हैन, यसले त्योभन्दा माथिका अनेक जुब्लीका कीर्तिमान नै पार गरिसक्यो ।  जनसंख्याको वृद्धिदर दुईभन्दा उकालो नलाग्ने, अमेरिका, क्यानाडा, अष्ट्ेलिया, जापान र युरोपेली मुलुकको भिसा सहज हुने र खाडी मुलुक पठाउने दलालको फन्दा मात्र पनि अलि सजिलो गरी कसिने हो भने गुडबाइ काठमाण्डू भाइरल नै हुन्थ्यो । हुन त यो गुडबाइ नेपाल हो तर मुलुकमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले गुडबाइ नेपाल हुन नपाएर गुडबाइ काठमाण्डूमै सीमित छ ।

…………………………….

हिड्ने बेलामा उत्साहका साथ गुडबाइ काठमाण्डू भन्दै हल्लिने हात जहाजमा चढ्न थाल्दा लत्याकलुतुक भएर गलिसकेका हुन्छन् । अनुहारमा चढेको जोशको पारो उत्रिसकेको हुन्छ । अनि भेटेका जो कोहीको मुखबाट पनि एउटै कुरा सुनिन्छ, देश राम्रो भएको भए कसलाई पो जान मन हुन्थ्यो र आफ्नो जन्मभूमी छोडेर । विमानमा सँगैको सिटमा बसेका मान्छेको त पुरै जीवनकहानी नै सुन्न पाइन्छ, सिलेक्टिव रियालिटीको मानक लगाउने भने एउटा गजबको चलचित्रको कथाजस्तै । खाडी मुलुक या हंगकंगको टन्जिटसम्म पुग्दा यो कथ्य चलचित्र नै बन्छ भन्दा पनि फरक पर्दैन । शायद यसैले त भनिएको होला, कथा बिनाको मान्छे को हुन्छ र ? फरक यति हो कसैले भन्छ, कसैले भन्दैन । कसैको कथामा क्लाइमेक्स हुन्छ, कसैकोमा हुँदैन ।

…………………………

 

पछिल्लो यात्रामा एउटा यस्तै गतिलो कथाको पात्र भेटियो । संजोगले सँगैको सिटमा परको उसको कथा कुनै चलचित्रको कथाभन्दा कम थिएन । यहाँ कहाँका लागि उड्दै हुनुहुन्छ ? मेरो पहिलो प्रश्नको उत्तरमा उसले दबेको स्वरमा भन्यो, अमेरिका । सामान्यतः अमेरिका उड्दै गरेका मान्छेको जहाजमै पनि शान हुन्छ । ऊ कुनै न कुनै बहानामा अमेरिका जान लागेको कुरा ठूलो ठूलो स्वरमा सुनाउँछ । तर अपवाद थियो ऊ,  साउदी अरब जान लागेको भन्दा पनि सानो स्वरमा भनिरहेको थियो । मैले दुई पटक  सोधेपछि मात्र ठम्याए, ऊ अमेरिका त्यो पनि न्युयोर्क जान लागको रहेछ ।

अमेरिका जान लागेको मानिसको त्यो माइल टोनले मलाई उसको कथामा सिलेक्टिव रियालिटी हुनसक्छ जस्तो लाग्यो । मैले उसलाई कर गरेर आफ्नो बारेमा बताइ दिन भनेपछि ऊ नोस्टल्जिक हुँदै खुल्न थाल्यो । टन्समा भएको त्यो मान्छे एकाएक फ्लासब्याकमा पुगेर आफ्ना कथा सुनाउन तयार भयो ।

………………………

तीस वर्ष नाघ्यो, नेपालको राजधानी काठमाडौं छिरेको । त्यतिबेला पूर्वी पहाडी जिल्लाबाट प्रथम श्रेणीमा एसएलसी पास गरेको १६ वर्षे केटो थिएँ म । उसले यसो भन्ने बित्तिकै म पनि नोस्टल्जिक भएँ । आइरन गेट मानिने त्यतिबेलाको एसएलसी । त्यो पनि पहाडी जिल्लाबाट प्रथम श्रेणीमा पास गरेको भन्ने वित्तिकै मेरो मनमा ऊप्रति ठूलो श्रद्धा पलायो । मनमनै भनँे पनि, यो मान्छेसँग सुन्न लायक कथा छ ।

चलचित्रमा एक्सनमात्र भएर पुग्दैन, रियक्सन पनि चाहिन्छ । ऊ चलचित्रको नायकझैं एक्सनमा कथा सुनाउँदै थियो । म पनि उसको एक्सनलाई जीवन्त पार्न सहायक कलाकारझैं रियक्सन दिदै गएँ । ११ दिन लगाएर काठमाण्डू आइपुगें । आइपुग्दा गोजीमा एक सय असी रुपैयाँ बाँकी थियो । त्यसपछि काठमाण्डूमा संघर्षका दिन सुरु भएछन् । ठेलासम्म ठेलेर उसले आफ्नो राजनीति र शिक्षालाई अगाडि बढाएछ । यस क्रममा केही दिन भोकै बस्नु, खाना खाने बेलामा साथीकोमा जानु र खान दिए खानु, नत्र नमिठो बचन खाएर फर्कनु, बसभाडा तिर्न नसकेर भाग्दा खलासीको थप्पड खानु, घरभाडा तिर्न नसकेर घरबेटी सुतेपछि झ्यालबाट भित्र पस्नु र उनीहरु उठ्नु अघि नै झ्यालबाट निस्कनु । यी त सामान्य घटना रहेछन् उसका । चलचित्रका पन्चझै लाग्ने यी सिलसिलेवार घटनाका क्रममा उसले एउटा यस्तो कथा पनि जोड्यो, झ्यालबाट पस्दै दुई महिना गुजार्दा पनि उसले भाडा तिर्न सकेन । त्यसपछि ऊ त्यो घर मात्र छोडने,  त्यो बाटो नै हिड्न छोड्यो । दुई वर्षपछि ऊ भाडा लिएर घरबेटीको घरमा गयो । उसको हातमा एउटा लठ्ठी पनि थियो । पहिला त लठ्ठी देखेर घरबेटी डरायो । तर, ऊ पुग्ने बितिकै त्यो लठ्ठी घरबेटीको हातमा थमायो र ऊ आफैलाई पिट्न आग्रह गर्यो । उसले भाडा तिर्न नसकेर झ्यालबाट राती छिरेको कथा सुनाउँदै भाडा बुझायो । भावुक भएर घरबेटीले भाडा नलिइ अबदेखि छोरो भएको घोषणा गर्यो । उसको यो कथा कुनै पनि सेन्टिमेन्टल चलचित्रको भावुक दृश्यभन्दा कम लागेन मलाई ।

त्यसपछि उसले आफ्ना संघर्ष र उपलव्धीको दौर फास्ट कटमा चलचित्रको मुन्टाजजस्तै छिटो छिटो सुनायो । यसबीचमा उसले पाँच विषयमा मास्टर गरेछ । विद्यावारिधि गरेछ । ५५ जागीर खाएछ । राजनीति छोडेछ । अन्तिममा केही सीप नलागेर सानो छोरो र श्रीमतीको बिदाइको आसु पन्छाउँदै गुडबाइ काठमाण्डू भन्दै जहाजमा चढेको रहेछ ऊ ।

यतिकैमा क्याविन क्रु खाजा लिएर आयो । ठीक चलचित्रको हाफ टाइमजस्तै, हामी पनि भारी मन लिएर खाजा खान थाल्यौंं ।

…………………………

त्यसपछि ऊ टन्समा आउँछ र अमेरिका उड्नुको कारण बताउँन सुरु गर्छ । कथाले मागेको भन्नुपर्छ, उसले टन्स हैन, फेरि पनि फ्लासब्याककै सहारा लिनुपर्ने भयो । उसको जात उपाध्याय, उमेर ५० वर्ष, लिंग पुरुष, योग्यता विद्यावारिधि, अनुभव ५४ जागीर । अनि, विशेषता गैरराजनीतिक एक सर्वसाधारण मान्छे । वरदान हैन, अभिषाप ठहरिएका यी विशेषता उसले फास्टकटमा सिलेसिलेवार सुनायो । कतिपय घटना चोक आउने खालका थिए भने कति ताली बज्ने खालका त कति आँसु झर्ने खालका । साँच्चै भन्ने हो भने चलचित्रका जस्तै ।

अन्त्यमा उसले चलचित्रमा जस्तै, केही प्रश्न गर्यो । बाहुन हुनु, पुरुष हुनु के यो मेरो दोष हो ? के मैले मेरो जात र लिंग कँही कतै आवेदन दिएर लिएको हो ? हैन भने मेरो आफ्नो कारणले नपाएको यो जात र लिंगका लागि मैले किन सजाय पाउने ? यो त जातीय र लैगिक विभेद भयो ? के हामीले नेपाल यस्तै बनाउन खोजेको ? एकपछि अर्को गरेर तेर्सिएका उसका यी प्रश्न तिखा झिर जस्तै थिए ।

उसले आफ्नो योग्यता बढी भएर दुःख पाएका केही पन्चहरु सुनायो । राजनीति छोड्नु पर्नाको कारण पनि सुनायो । उसले यस क्रममा उदाहरण दिदै भन्यो, अहिले मुलुकमा कुनै विचारको भएर हुँदैन, कुनै दलको भएर हुँदैन । कुनै गुटको, कुनै नेताको कुनै नाताको, कुनै दलालको, कुनै सिन्डिकेट या नेटवर्कको मान्छे हुनुपर्छ । अनि मात्र बाँच्न सकिन्छ ? त्यसपछि उसले क्लाइमेक्स जस्तो प्रश्न गर्यो, यस्तो अवस्थामा के गर्ने ? आफ्नै मुलुकमा दोस्रो दर्जाको नागरिक भएर बाँच्ने या मुलुक छोड्ने ? उसले दोस्रो विकल्प रोजेको रहेछ ।

………………………………

जहाज दोहामा अवतरण गरिसकेको थियो । ऊ चलचित्रको नायकजस्तो मलाई केही नभनी सरसर्ती आफ्नो बाटो लाग्यो । मैले उसको नाम सोधें । उसले पछाडि पनि नफर्की भन्यो, भूतपूर्व नेपाली ।

ऊ न्युयोर्क जाँदै थियो, म फिलाडेल्फिया । त्यसपछिको ट्रान्जिट र जहाजमा मात्र हैन, अहिलेसम्म पनि ऊ मेरो दिमाखबाट उत्रन सकेको छैन । आफ्नो नाम नै भूतपूर्व नेपाली भन्ने उसको कथाले म वर्तमान नेपालीको टाउको  घनले भन्दा पनि बेस्सरी ठोकिरहेको छ । त्योभन्दा पनि बढी उसले मलाई क्रसरोडमा ल्याएर छोडिदिएको छ, म चाँहि के ? भूतपूर्व नेपाली या वर्तमान नेपाली ।

……………………

यता न्युयोर्कमा आयोजित प्रवासी देशप्रेम साहित्यिक साँझमा प्रवासी नेपाली कवि कवयत्रीहरु भने मुटुमा भावनाको हड्सन बगाएर वाग्मतीका लागि नोस्टल्जिक हुँदैथिए, विदेशमा आएपछि थाहा भो राष्ट्यिता । शायद, उनीहरुको गोजीमा नीलो पत्ता या अमेरिकन नागरिकता थियो । शायद, केही दिन अघि मात्र दोहोरो नागरिकता हुन्न भन्ने एक नेपाली मन्त्रीलाई न्युयोर्कमा बहिस्कार गर्नेमध्येकै थिए उनीहरु । फिलाडेल्फिया हुँदै न्युयोर्क पुगेको मैले, दोहाबाट सिधै न्युयोर्क लागेको भूतपूर्व नेपालीलाई त्यही कार्यक्रमको स्रोता दीर्घामा बसेर मज्जाले हाँसिरहेको अवस्थामा देखें ।

मनै त हो, मनको कुनै कुनामा यस्तो लाग्यो, मेरो साथी नवीनले यही कथा भनेको भए शायद हिट हुन्थ्यो होला, गुडबाइ काठमाण्डू ।

म्यानहटन, न्युयोर्क ।