काठमाडौँ, २ चैत । पुष्पकमल दाहाल प्रचण्ड र मोहन वैद्य किरणले दुई बर्षअघि टुक्रिएको पार्टीलाई एकीकरण गर्ने तयारी गरिरहँदा एमाओवादी छाड्नेहरुको गोप्य सूची तयार भएको छ ।
एमालेबाट एमाओवादी प्रवेश गरेका पचास जना नेताले सामूहिक रुपमा पार्टी छाड्ने तयारी गरेका हुन् । काठमाडौँमा फागुन १७ गते भएको गोप्य भेलाले पचास जनाको सूची तयार पारेको छ । भेलामा फागुन १६ गते काठमाडौँमा एमाओवादीले आयोजना गरेको बृहत भेलामा सहभागी हुन काठमाडौँ बाहिरबाट आएका नेताहरु समेत सहभागी थिए । अहिलेसम्म यो भेलालाई निकै गोप्य राखिएको थियो ।
भेलामा पूर्व एमालेहरु रामचन्द्र झा, उर्मिला अर्याल, निर्मल भट्टराई, धर्मदत्त देवकोटा, भिम कडायत, दिनेश पन्थी, कल्पित पराजुली, हरिहर पोखरेल, जितवीर लामा, कृष्णकुमार राई, हरि दाहाल, ओम वाग्ले, राजन तिमल्सिनासहित पचास जना सहभागी थिए । एमाओवादीबाट एमाले फर्कने तयारीमा रहेका डिल्लीराज खनाल भने भेलामा सहभागी थिएनन् । भेलाको अगुवाई दोस्रो संविधानसभाको मुखैमा एमाओवादी प्रवेश गरेका एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनालका सचिवालय सचिव निर्मल भट्टराईले गरेका थिए । उनले ‘अबको गन्तव्य, प्रतिस्पर्धात्मक समाजवाद’ शीर्षकको मस्यौदा छलफलका लागि पेश गरेका थिए । जसलाई केही छलफल पछि परिमार्जन गरी साझा धारणा बनाइएको छ ।
गोप्य भेलाले अब नेपालमा माओवाद लागू हुन नसक्ने निष्कर्ष निकाल्दै एमाओवादीले भनेजस्तो नौलो जनवाद कहिल्यै आउन नसक्ने निष्कर्ष निकालेको छ । माओवादीको सान्दर्भकिता सकिएकाले एमाओवादीमा बस्नुको कुनै औचित्य नरहेको निष्कर्ष निकालेको भेलाका एक सहभागीले दैनिक नेपाललाई बताए ।
भेलाको परिमार्जित प्रतिवेदनलाई एमाओवादी अध्यक्ष प्रचण्डलाई बुझाउने पूर्वएमालेहरुको तयारी छ । तर, त्यसका लागि प्रचण्डले समय दिन आनाकानी गरिरहेका छन् ।
‘हाम्रो मागको सुनवाई नभए पूर्व एमाले र एकता प्रक्रियाबाट एमाओवादीमा समाहित भएकाहरुको राष्ट्रिय भेला गर्छौँ, भेलाले जे निष्कर्ष निकाल्छ, सोही बमोजिम अगाडि बढ्छौँ ।– भेलाको अगुवाई गरेका पूर्वएमाले नेताले बताए ।
भेलाले व्यक्तिगत रुपमा एमाले नफर्कने बरु सामूहिक रुपमै प्रयास गर्ने निष्कर्ष निकालेको छ । एमालेले पुनः पार्टीमै फर्कने वातावरण तयार नगरे नयाँ राजनीतिक शक्ति बनाएर अघि बढ्ने भेलाको निष्कर्ष छ ।
एकता प्रक्रियामा आएकाले पार्टी बिगारेको भन्दै एमाओवादीका नेताहरुले आफूहरुको अपमान हुने गरी भाषण गर्दै हिँडेकोमा भेलाको चर्को आलोचना गरिएको थियो । एमालेबाट आएकालाई एमाओवादीले व्यवस्थापन नगरेको अवस्थामा मोहन वैद्यसँग पार्टी एकीकरण गरिए एमाओवादीमा अवसर अति नै सीमित हुने भन्दै भेलाका सहभागीहरु पार्टीबाट विद्रोह गर्ने पक्षमा देखिएका थिए ।
भेलाका अगुवा एवं मस्यौदाकार निर्मल भट्टराईसँग यसबारेमा जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।
यता, मोहन वैद्यसँग पार्टी एकीकरण भए नारायणकाजी श्रेष्ठको समूहले पनि पार्टीबाट बाहिरिने संकेत गरेको छ ।
नारायणकाजी समूहले हालै चितवनमा गोप्य भेला सम्पन्न गरेको छ । भेलामा नारायणकाजी समूहका देशभरका अगुवा नेताहरुको सहभागिता थियो । भेलामा मोहन वैद्यसँगको एकताप्रक्रिया र एकतामा आएकाले पार्टी बिगोर भनेर माओवादी नेताले भाषण गरिरहेको विषयमा नारायणकाजीले प्रचण्डको चर्को आलोचना गर्दै अब कसरी अगाडि बढ्ने भनी छलफल चलाएका थिए ।
यो पनि पढ्नुहोस् :
को–को फर्कँदैछन् एमालेमा ?
















प्रतिक्रिया