बर्दिया, १ चैत । बर्दियामा सञ्चालित एकदिने निःशुल्क मुटु परीक्षण शिविरमा एक हजार ५०० जनाले मुटुको परीक्षण गराएका छन् ।
जयन्ती मेमोरियल ट्रष्ट, ग्रामीण महिला विकास तथा एकता केन्द्र ९रुडुक० र साथी संस्था बर्दियाको संयुक्त आयोजनामा निःशुल्क मुटु परीक्षण शिविर सञ्चालन गरिएको हो ।
सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँ र नेपालगन्ज मेडिकल कलेजको सहयोगमा बर्दियाको ढोढरीस्थित नेपाल राष्ट्रिय उच्च माविमा आज सञ्चालिक एकदिने निःशुल्क मुटु परीक्षण शिविरमा मुटुरोग विशेषज्ञ टोलीबाट एक हजार ५०० जनाले मुटुको परीक्षण गराएका हुन् । परीक्षण गराएकामध्ये एक सय जनालाई थप उपचारका लागि काठमाडौँ बोलाइएको छ ।
शिविरमा डा रवि मल्ल र रामेश कोइरालाको नेतृत्वमा १० जना मुटुरोग विशेषज्ञ डाक्टर र अन्य १७ जना स्वास्थ्यकर्मीसहित २७ जनाको टोलीले निःशुल्क रुपमा इसिजी, ईको, रक्तचाप,मधुमेय र मुटु चेक जाँच सेवा प्रदान गर्नुका साथै एक हप्तासम्म पुग्ने औषधि निःशुल्क वितरण गरेको थियो ।
मुटुको सामान्य उपचार गर्न काठमाडौँ पुग्नुपर्ने वर्तमान अवस्थामा मुटुको परीक्षण शिविर आफ्नै ठाउँमा पाउँदा आफूहरु हर्षित भएको स्थानीय निशा चौधरी बताउनु भयो ।
साथी संस्था बर्दियाका संरक्षक र रुडुक संस्थाका संस्थापक अध्यक्ष डा आरजु राणा देउवाको विशेष पहलमा आयोजना गरिएको एकदिने मुटु परीक्षण शिविरमा जगदम्बा ग्रुप, नेसनल इन्स्योरेन्स कम्पनी, प्रभु बैंक, गुडलाइफ बिस्कुट, लोमस फर्मास्युटिकल्स र वेगा फर्मास्युटिकल्सले निःशुल्क औषधि वितरणको व्यवस्था गरेका थिए ।













प्रतिक्रिया