नमस्कार प्रधानमन्त्री सुशील कोइरालाज्यू,
प्रधानमन्त्री कार्यालय, बालुवाटार
मेरो नाम सीमा बस्नेत हो । म कक्षा १० मा पढ्ने विद्यार्थी हुँ । मेरो घर, मामाघर जे भने पनि रौतहट जिल्ला पौराई गाविस वडा नम्बर १ मा हो । म एउटा कलिलो, भर्खरको काचो माटो हुँ । मेरा जन्म विसं. २०५५–९–१६ गते रौतहट जिल्लामा भएको हो । म मेरो जिल्लामा कक्षा ६ सम्म अध्ययन गरेर २०६८ साल चैत २५ गते हजुरआमाका साथमा काठमाडौं सहर आएकी थिएँ । म मेरो जिल्लाबाट काठमाडौंमा आफ्नो भविष्य राम्रो र उज्ज्वल बनाउन आएकी थिएँ । काठमाडौं सहरमा बसेको ४ वर्ष भयो । म मेरो जीवनमा कस्तो डरलाग्दो, सपनामा पनि नसोचेको र कल्पना गर्न नक्ने घटना घट्दा धेरै दु:खी छु । म त भविष्यमा राम्रो नाम कमाउने उद्देश्य राखी आफ्नो पढाइलाई ध्यान दिन्थेँ ।
हजुरआमाले २०६८ साल वैशाख ५ गते कान्ति ईश्वरी राज्यलक्ष्मी माविमा भर्ना गरिदिनुभयो । त्यसपछि अझ राम्रो पढ्ने अवसर भयो मलाई । म भविष्यमा एउटा सफल गायिका बन्न चाहन्छु । मेरो जीवन मात्रै खेर गएको छैन । यहाँ संगीताको पनि जीवन खेर गयो । संगीताको पनि हरेक इच्छा, चाहना सबै खेर गयो । संगीता, म र हेमू एसएलसी परीक्षाका लागि तयारी गर्दै थियौँ ।
मैले संगीतालाई चिनेको जम्मा एक हप्ता मात्रै भएको थियो । हामीहरू एस प्लस माइनस ट्युसन सेन्टरमा पढ्थ्यौँ । संगीता, म र हेमू बिहान ६:१५ मा सरको बाटो हेरेर बसेका थियौँ । संगीता मलाई अकाउन्टको हिसाब सिकाउँदै थिइन् । एक्कासि एउटा मानिसले ढोको खोल्यो । म त सपना हो कि विपना भएँ । मेरो हातको कमलसमेत बन्द भयो । त्यो मानिसले बोतलमा एसिड ल्याएको थियो । ढोका उघारेर हामीलाई एसिड छ्यापेर भाग्यो । म पछाडि सेकेन्ड बेन्चमा बसेकाले मेरा निधारमा र मुखमा एसिड पर्यो । टाउकोमा पनि कपाल काट्नुपर्यो ।
यो मानिस को थियो होला ? उसले संगीता र मलाई एसिड किन छ्याप्यो ? यही कुराले मलाई दिनरात पिरोलिरहेको छ । त्यो मानिसले हामीहरूमाथि यस्तो डरलाग्दो एसिडजस्तो पदार्थ किन खन्यायो ? तर, मैले भन्नुपर्दा म एउटा विद्यार्थी हुँ । मैले मेरो जीवनमा अहिलेसम्म मोबाइल आफ्नो साथमा बोकेकी छैन । फेसबुक पनि खोलेकी छैन । र, ब्वाइफ्रेन्ड पनि छैन । मेरो जीवनमा भाइहरूबाहेक अरू कुनै केटासाथीहरू छैनन् । एसएलसी परीक्षामा राम्रो माक्र्स ल्याएर कलेजमा पढ्ने ठूलो धोको थियो । अब मेरा लागि यस्ता हरेक इच्छा, चाहना र सपना सोच्ने दिन गए ।
म त यो समाजमा बाँचेर पनि राम्रो काम गर्न सक्दिनँ होला जस्तो लाग्छ । यो एसिड छ्याप्ने व्यक्ति को थियो ? हामीहरूले त्यसको के बिगारेका थियौँ होला ? त्यो पनि एसएलसी परीक्षा तयारी गरिरहेका विद्यार्थीहरूमाथि त्यस्तो व्यवहार किन गर्यो ? त्यसको पनि संगीता र मजस्तै दिदीबहिनी होलान् ? हाम्रो ठाउँमा उनीहरू भएको भए त्यस अपराधीलाई कति पीडा हुन्थ्यो होला ?
हामीले अहिले जति पीडा भोगेका छौँ, उनीहरूलाई पनि त्यति नै पीडा हुन्थ्यो । मानिसले जीवनमा धेरै गल्तीहरू गर्छन् । तर, गल्ती गर्यो भन्दैमा जसले गल्ती गरेको हो उसलाई अन्य तरिकाहरू अपनाएर सम्झाउन सकिन्छ । यदि त्यसरी नमानेमा कानुनको सहायता लिन सकिन्छ । कानुन किन बनेको हो ? यस्ता समस्याको समाधान गर्न बनेको होइन र ?
हाम्रो समाजमा दिनप्रतिदिन यस्ता आपराधिक घटनाहरू किन घटिरहेका छन् ? यस्ता अपराधी अर्थात् म र संगीतामाथि एसिड प्रहार गर्ने मान्छेको मनोबल अझ बढ्ने देखिन्छ । हामीमाथि एसिड प्रहार भएको आज १७ दिन भइसक्दा पनि प्रहरीले पक्राउ गर्न सफल नभएको देखिन्छ । आज मलाई यस्तो लाग्छ कि आउँदो चैत ५ गतेदेखि मेरो एसएलसी परीक्षा हुने भए पनि म दिन पाउँछु कि पाउँदिन भन्ने अन्योलमा छु ।आज म जुन अवस्थामा पुगेकी छु, त्यसले गर्दा म पहिलेको अवस्थामा त पुग्न सक्दिनँ, तर म र संगीतामाथि प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्न नसक्दा भोलिको दिनमा यस्ता घटना नेपाली दिदीबहिनीमाथि हुन सक्दैन भन्न सकिँदैन ।
अन्त्यमा प्रधानमन्त्री सुशील कोइरालाज्यू, म यति चाहन्छु कि म र संगीतामाथि एसिड प्रहार गर्नै पापी, त्यो अपराधीलाई कानुनी दायरामा ल्याई फाँसीको सजाय होस् ।
-सीमा बस्नेत
हाल वीर अस्पतालको क्याबिन नं. ९
















प्रतिक्रिया