३० आश्विन २०८३, शुक्रबार

डेढ सय बर्ष अघि निर्मित मल्लाज दरबारमा अब रिसोर्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mallaj-durbar-resort

बेनी (म्याग्दी), २८ फागुन । ऐतिहासिक महत्व बोकेको उत्तरी पर्वतको माझफाँट–३ मल्लाजस्थित मल्लाज दरबार रिसोर्ट सञ्चालन गरिएको छ ।

एक सय १० वर्ष पुरानो सो दरबारको पुनर्निर्माण गरी स्थानीय मुकुन्दबहादुर मल्लले मल्लाज हेरिटेज रिसोर्ट सञ्चालन गर्नुभएको हो । २२ रोपनी क्षेत्रफलमा फैलिएको तीनतले दरबारको स्तरोन्नति तथा आठवटा टेन्ट निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न मल्लाज हेरिटेज रिर्सोट सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

सदरमुकाम बेनीबजारबाट करिब एक घन्टाको पैदलयात्रापछि पुगिने मल्लाजलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालक मल्लले बताउनुभयो । तत्कालीन बाइसे–चौबिसे राज्यका पालामा निर्मित हातहतियार, दरबारका पुराना तस्बिरसँगै ऐतिहासिक सम्पदाको समेत अवलोकन गर्न पाइने उहाँले बताउनुभयो ।

एक दशकसम्म ‘डिएचएल’ नामक अन्तर्राष्ट्रिय संस्थाको नेपाल प्रमुख, सोल्टी प्लाजामा तीन वर्ष बजार प्रबन्धकका रुपमा समेत काम गरिसकेका मल्लले पारिवारिक यात्रालाई सहज बनाउने गरी रिसोर्ट सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

तीनतले दरबारभित्र रहेका १२ कोठामध्ये सात कोठामा २४ जना वस्न मिल्ने क्षमता रहेको छ । रिसोर्ट सञ्चालनमा आएपछि काठमाडौँस्थित अमरावती नामक संस्थाबाट नौ जना फ्रान्सेलीसहित अन्य देशका १२ पर्यटक आइपुगेका छन् । रिसोर्टभित्र मल्लाज दरबारको परिचय, इतिहासलाई समेत कोठामा राख्ने, दरबारबाट राम्चेको नाँगी, घोडेपानीलगायत क्षेत्रमा पदयात्रामा लैजाने योजनासमेत बनाइएको छ ।

वित्तीय क्षेत्रबाट अवकाश लिएर पर्यटन क्षेत्रको प्रवद्र्धनमा लागेका मल्लसँगै उनका दाजु मजुर मल्लले समेत साथ दिएका छन् । दरबारको पुरानो स्वरुपलाई यथावत् राखिएको छ । देशका विभिन्न भागबाट मुस्ताङ यात्रामा जाने पर्यटकलाई समेत एक दिनको बसाइका लागि रिसोर्टसम्म ल्याउन गाउँनजिक रहेको भुर्तुलामा रक क्लाइम्बिङ, पर्वतको मिलनचोक र पारीबेनी हुँदै गाउँमा आउने सडकको स्तरोन्नति, टुरिस्ट म्यापको तयारीसमेत गरेका छन् ।

विगत ३५ वर्षयता बन्द अवस्थामा रहेको दरबारलाई व्यवस्थित गरेर रिसोर्ट सञ्चालन गरिएपछि दैनिक अवलोकन गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढेको स्थानीयवासीको भनाइ छ । रिसोर्टमा आउने पर्यटक गाउँमा जाँदा अन्य स्थानीयवासीको व्यापारसमेत बढेको बताउनुभयो ।

विसं १९७२ मा भक्तपुरका ज्यामी ल्याएर दरबार बनाइएको थियो । दरबारमा परम्परागत नाचगानका सामग्री, विभिन्न ऐतिहासिक नेपाली, हिन्दी, अङ्ग्रेजी, नेवारी भाषाका पुस्तकहरु, घरेलु बन्दुक, गाउभरिका जनतालाई खाना पकाउन मिल्ने तामाका ताउलालगायत सामग्री द्वन्द्वकालीन अवस्थामा हराएका थिए । रासस