वैदेशिक रोजगारका लागि आकर्षक गन्तव्य बनेको मलेसिया र विकासका दृष्टिले विश्वकै नमूना मानिएको सिंगापुर घुम्ने चाहनाले साथी शम्भु अधिकारी र म छदिने यात्रामा निस्केका थियौँ । मलेसियामा धेरै जना नेपाली कामदारसँगको अवस्था अध्ययन गर्न पाइयो । भौतिक विकासलाई अधिकतम् उपयोग गरेको हुनाले मलेसिया र सिंगापर हामीलाई रमाइलो लाग्यो । हामी यात्रामा रमाइरहेका थियौँ ।
यात्रालाई छोट्याउँदै ४ मार्च बेलुका काठमाडौ फर्कने टिकट थियो । हतारले क्वालालाम्पुर एयरपोर्ट आयौँ । सोहीदिन बिहान काठमाडौँ एयरपोर्टमा टर्किस एयरको जहाजले विमानस्थल रोकिन पुगेछ । हाम्रो उडान निश्चित भएन । मार्च ५ बिहान दश बजे बोलाइयो । टर्किस विमानकै कारण जहाज उड्ने सम्भावना रहेन । हामी के गर्ने भन्ने दुविधामा प¥यौँ । हामीसँगै रहेका नेपाली जो मलेसियामा कामदार थिए, उनीहरु पनि अन्यौलमै रहे । तत्काल एयरपोर्ट छाडेर अन्यत्र जाने अवस्था पनि थिएन । कुनै पनि समय उडान चालू हुन सक्थ्यो ।
अन्यौलकै बीचमा बसेको चार दिन भयो । ४ दिनसम्म उडान रद्द हुनाले नेपाल फर्कने यात्रुको संख्या बढ्दै गएको थियो । ‘एयरपोर्टमा रहेका यात्रुहरुको खर्च सकिन थाल्यो । विदेशमा कसलाई यो दुख सुनाउने ?’– यात्रुहरुले गुनासो गर्न थाले ।
अधिकांश यात्रु मलेसियामा मजदुरी गरी स्वदेश फर्कने थिए । उनीहरुलाई घर फर्कन हतार थियो । तर समयले साथ दिएन । यात्राका लागि साथमा रहेको खर्च सकिएपछि उनीहरु चिन्तित हुन थाले । एयरपोर्टको चिसो, अनिन्द्रा र भोको पेटले सबैलाई सतायो ।
यो सबै दृश्य हाम्रालागि संवेदनशील बन्न पुग्यो । अलपत्र नेपाली यात्रुका लागि के हुनसक्छ ? कस्ले के गर्न सक्छ ? हामीले पीडित यात्रुहरुलाई प्रश्न ग¥यौँ । उनीहरुको जवाफ थियो– मलेसियास्थित नेपाली दूतावासले पहल गर्नसक्छ र केही गरिदिए हुन्थ्यो । उनीहरु भन्दै थिए कि, दूतावासको फोन समेत उठ्दैन । दूतावासका एकजना कर्मचारी कुमार भन्नेलाई फोन लगाई काभ्रेका शिव दाहालले मलाई फोन दिए । मैले उनीसँग कुरा गरे । नेपालीहरु एयरपोर्टमा भोकै रहेको सुनाएँ । मैले केही गर्न सक्दिन भन्दै उनले अर्को कर्मचारीको मोबाइल नं एसएमएस गर्छु भनी फोन राखे तर एसएमएस आएन ।
त्यसपछि हामीहरुले सोझै नेपालमा परराष्ट्र मन्त्री र सचिबलाई फोन ग¥यौँ । मन्त्री जेनेभा, सचिब जापानमा रहेको थाहा भयो । त्यसपछि परराष्ट्रका निमित्त सचिबसँग कुरा भयो । उनले ‘तत्कालै यसका लागि उचित कदम चाल्छु, त्यहाँ कोही आउँछ र तपाईहरुलाई सम्पर्क गर्छ’ भने । त्यसको चार घण्टापछि नेपालमा फोन गर्ने को हो भन्दै दूतावासका दुई कर्मचारी आए । एकजना अरुण महत र अर्का प्रविण रहेछन् । सुरुमा नाम दिन पनि गाह्रो माने । उनीहरुले मलाई लक्षित गर्दै तपाईँलाई पैसा उठाएको आरोप छ भन्दै थिए । म दङ्ग परेँ । सो कुरा त्यहाँ रहेका सबै नेपाली यात्रुले सुने । सबै आक्रोशित भई दूतावासका कर्मचारीमाथि हुटिङ गर्न थाले । जसले राम्रो काम गर्न खोजेको छ, उसैमाथि यो आरोप ? नेपालमा फोन नगरेसम्म तिमीहरु आयौ ? यहाँको दूतावास किन कानमा तेल हालेर बसेको छ ? जस्ता प्रतिप्रश्नहरु गर्न थाले ।
स्थितिलाई हामीले नै नियन्त्रणमा लियौँ किनकी हामी जिम्मेवार नागरिक हौँ र विदेशमा देशको बेइज्जत भएको हेर्नु थिएन । कर्मचारीलाई मैले भनेँ– ‘यहाँ रहेका नेपालीहरुको सरकार, अभिभावक जे भनौँ दूतावास हो र तपाईंहरु उत्तरदायी हुनै पर्छ ।’
जबाफमा उनीहरु भन्दै थिए– ‘हामीले केही गर्न सक्दैनौँ ।’
मैले सबालजबाफ गरेँ, ‘तपाईंहरु आएर यहाँ अलपत्र परेका नेपालीलाई भेटेमा पनि राहत हुनसक्छ । टिकट भएका यात्रुलाई एयरलाइन्सले पानी र खानाको व्यवस्था गर्न सक्छ । त्यसपछि उनीहरु निस्के ।’
उनीहरु गएको एकछिनपछि सोही ठाउँमा रही पत्रकारिता गर्छौँ भन्नेहरुले मेरो नाम जोडेर ‘नेपालबाट प्लेन मगाउँछु भन्दै ४ हजार रिङ्गेट (नेपाली करिब एक लाख रुपैंया) उठाएर एकजना पत्रकार भाग्यो’ भन्ने कुरा सामाजिक सञ्जालमा लेखेछन् ।
त्यही बसेका नेपालीहरु पनि अचम्ममा परी कमेन्ट पनि हाल्न थाले ।
उनीहरु भन्दै थिए– यो झुटो आरोप किन ?’
हामी पनि दंग भयौँ । मलाई र साथी शम्भुलाई त्यो आरोपले दुखी बनायो । नखाएको विष लाग्दैन भनी जहाज उडानको प्रतिक्षामा एयरपोर्टमा नै रह्यौ । भोकभोकै रहेका सिन्धुपाल्चोकका नारायण श्रेष्ठ लगायत अन्य दुई तिनजनालाई खाना पनि खुवायौँ । आरोप केका लागि बुझ्न सकेका थिएनौँ । यात्रुसँग टिकट थियो, एयरपोर्टमा प्लेन पनि थियो तर काठमाडौ एयरपोर्ट बन्द थियो । भोकै रहेका नेपालीले के पैसा देलान् ? हातमा टिकट हुनेले प्लेन मगाउने कुरा गरे होलान् ? म जस्तालाई बदनाम गराउनुको कारण के ? स्वार्थ के ? नेपालको सम्बन्धित निकायमा सम्पर्क गरेकै कारण यो आरोप ? अथवा किन ? पत्रकारले यस्तो कपोलकल्पित कुरा लेख्न मिल्छ जस्तो लाग्दैन । दुई दशकभन्दा बढी समय पत्रकारितामा समय खर्चेको मलाई चिन्नेलाई पनि यस्तो आरोपले चिन्तित बनायो । यसका बारेमा केही दैनिक पत्रिका र अनलाइनको डेस्कमा पनि समाचार पुगेछ तर सत्य कुरा बुझेपछि समाचार छापिएन । कसले किन लेखाए र लेखे मैले भन्न चाहन्न ।
म क्वालालाम्पुर रहँदा पोखरामा प्रेस चौतारीको अधिवेशन चलिरहेको थियो । मलाई लागेको आरोपका बारेमा त्यहाँ मलेसियाबाट फेसबुकमार्फत खबर भएछ । चर्चा पनि चलेछ । तर, कसैले विश्वास गर्ने कुरै भएन । मेरो इमान्दारिताप्रति सबैलाई विश्वास थियो । मेरा आदरणीय अग्रज, समकक्षी र पत्रकारितामा उदयमान भाइबहिनीहरुले समेत त्यो आरोपको खण्डन गर्नुभएछ । त्यो मप्रति गरिएको विश्वास हो । तथापि अरुको भलो सुन्न नचाहने र अरुको प्रगतिबाट जल्ने पोखराकै एक–दुई जना व्यक्तिहरुले वास्तविकता नबुझी त्यो लेखलाई अरुको नाममा ट्याग र पोष्ट गर्न थालेछन् । आजको यो समयमा पनि ‘साइबर क्राइम’का बारेमा उनीहरुलाई थाहा रहेनछ क्या हो ?
क्वालालाम्पुरको एक सय घण्टाले धेरै कुरा सिकाएको छ । केही गर्छु भन्नेलाई कसरी सिद्धाउन खोजिँदो रहेछ तर म कति पनि विचलित भइन ।
तर अहिले आएर स्टाटस् लेख्ने मलेसियाका पत्रकारले गल्ती भएको भनी स्वीकार गरिसकेका छन् । त्यसकारण पनि उनीहरुको नाम मैले लेख्न चाहिन ।
जे होस्, मलेसिया एयरपोर्टमा हाम्रो आन्दोलनका कारण पोखरा घर भइ मलेसिला बस्दै आएको हिमालयन होटल संञ्चालकले यात्रीहरुलाई एक छाक खाना खुवाइदिइन । बोडिङ पास दिएर पनि यात्रुलाई पानीसम्म नदिएको मालिन्डो एयर र एयर एसियाले खाना खुवाउन सुरु गरे र काठमाडौंमा हारभेष्टमुन ट्राभल्स् एवम् मेनपावरका संञ्चालक राम श्रेष्ठले पनि जुस, फलफुल, पानी, चाउचाउ र बिस्कुट बाँडेर एक छाक टारिदिए । यसले गर्दा पनि धेरै यात्रुलाई राहत भएको थियो । नेपाल फर्कने यात्रुसँग पैसा नभएर भन्दा पनि भएको पैसा पहिलै नेपाल पठाएका कारण कामदार पैसै नभएर पनि विच्चलीमा परेका थिए । यसले गर्दा नेपालीहरुको पीडा जहाँ गए पनि जिउँका त्यूँ देख्न बाध्य भएँ र अगुवाई गर्दा केही आरोप लागेता पनि यसमा सत्यता नभएकाले मैले पाठकसँग आफ्नो कुरा राख्ने आँट गरेको हुँ । दोषी छु भने कसैलाई पनि छोड्नु हुँदैन भन्ने मेरो पनि मान्यता छ । हामीहरुले प्रेस स्वतन्त्रताको प्रयोग गर्दा पनि अरुको स्वतन्त्रता हनन गर्नु हुँदैन भन्ने मान्यता राख्नु पर्छ । जय होस् ।
लेखक पोखराका पत्रकार हुन् ।














प्रतिक्रिया