
काठमाडौं, २७ फागुन । आगामी चैत पहिलो साता राजधानीमा १८औं पुष्पव्यापार मेला आयोजना गरिने भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यान को आयोजनामा चैत्रको पहिलो हप्ता काठमाडौंको भृकुटीमण्डपमा पुष्पब्यापार मेला हुन लागेको हो ।
‘स्वच्छ वातावरण र आर्थिक सम्बृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ हुने १८औं फ्लोरा एक्सपोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइ फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, कृषिऔजार, उपकरण, प्याकेजिङका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् ।
फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा हुन लागेको यस मेलालाई नेपाल सरकार कृषिबिकास मन्त्रालयले सहयोग गरेको छ ।
मेलामा व्यवसायिक स्टल ६१ वटा, सूचनामुलक १० वटा र फूलबिरुवाको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल ३ वटा, ल्याण्ड स्केपिङ्गको ४ वटा गरी जम्मा ७८ वटा प्रदर्शनी कक्ष रहने फ्यानका महासचिब दिलिप बादेले जानकारी दिनुभयो ।
साथै मेलामा सहभागि भएका बिभिन्न नर्सरी व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाको स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने कार्यक्रम समेत रहेको छ ।
सोहि अवधिमा एक दिने पुष्प सम्बन्धि गोष्ठि/सेमिनारको समेत आयोजना गर्न लागेको र यसबाट धेरै भन्दा धेरै पुष्प व्यवसायीहरु लाभान्वित हुने फ्यानको बिश्वास रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एशोसिएशन नेपालका उपाध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो ।
चैत्र ७ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने पुष्प मेलामा पुष्प व्यवसायी कम्पनी/फर्महरुको स्टल रहने बताउँदै फ्यान अध्यक्षलोक नाथ गैरेले मेलामा बिदेशी ब्यबशायीहरुको पनि सहभागिता रहने जानकारी दिनुभयो ।
२०५१ सालबाट फ्यानले पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि निरन्तर पुष्प प्रदर्शनी तथा व्यापार मेलाहरुको आयोजना गर्दैै आएको छ ।















प्रतिक्रिया