
– राजकुमार थापा क्षितिज
लण्डन, बेलायत । प्रवासी नेपाली मञ्च युकेले १०५ औं नारी दिवस भव्य रुपमा मनाएको छ । वेलायतमा सवैभन्दा क्रियाशील मध्यको एक संस्था मञ्चले आफ्नो सांगठनिक मात्र नभएर सामाजिक क्षेत्रमासमेत वृहत्तररुपले काम गर्दै आएको छ ।
यसपटकको नारीदिवसको सन्दर्भमा प्राप्त सहयोगलाई चितवनका चेपाङग महिला तथा वालवालिकाका लागि समर्पित गरिएको कुरा कार्यक्रममा जनाईयो ।
शनिवार कन्नट स्कूल अल्डरसटमा आयोजित १०५ औं नारीदिवस तीनसयभन्दा बढीको उपस्थितीमा सम्पन्न भएको थियो ।
विभिन्न क्षेत्रका अधिकांश महिलाहरु सहभागी रहेको सो कार्यक्रममा मञ्चकी सदस्य इशा गुरुङगले आफ्नो अभियान मार्फत उठाएको साढे तीन लाख बराबरको चेक मञ्चका अध्यक्ष रामशरण सिंखडालाई हस्तान्तरण गर्दै मञ्च मार्फत आफूले सहयोग गर्न पाउँदा गौरव महसुस गरेको र आगामी दिनमा अझ सहयोगको उत्प्रेरणा मिलेको वताएकी थिइन ।
सो अवसरमा मञ्चको तर्फवाट उनलाई प्रशंसा पत्र र खदाले सम्मान पनि गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि मदन पुरस्कार विजेता ‘खलंगामा हमला’ पुस्तककी लेखिका राधा पौडेलले कुनै पनि समूदायमा गरिने सहयोगले निरन्तरता पाउनसके त्यो समुदाय लाभान्वित हुने वताउंदै आफूले गरेको निरन्तर प्रयत्न र संघर्षको कहानी सुनाएकी थिइन् ।
अतिथिको रुपमा एनआरएन युकेका अध्यक्ष महेन्द्र कँडेलले एनआरएन युके प्रवासी नेपाली मञ्च युके लगायत सवै संस्थाका गतिविधिमा सधैब हातेमालो गर्दै अगाडि वढ्ने र मञ्चको वढ्दो सक्रियताले वेलायतस्थित नेपाली समुदाय लाभान्वित वनेको वताएका थिए ।
मञ्चका अध्यक्ष रामशरण सिंखडाले मञ्च एमालेको राजनैतिक विचारसंग नजिक रहे पनि यो प्रवासमा रहेका सबै नेपालीको साझा थलो भएको र सवैक्षेत्रमा सहयोग पुर्याउन प्रयत्नशील रहेको वताउंदै यस कार्यक्रममा उपलब्ध सहयोगलाई यथासक्य सम्वन्धित ठाउँमा पठाउने जनाएका थिए ।
मञ्चकी सल्लाहकार सुष्मा राइको सभापतित्वमा भएको सो कार्यक्रमलाई समाजसेवी इशा गुरुङग, नरकुमारी लिम्वु, राधा भट्टराई, नेपाल नर्सिङग एसोसियसन युकेकी उपाध्यक्ष प्रसुना कँडेल, पत्रकार महासंघ युके शाखाका प्रतिनिधि तथा नेपालीपत्र साप्ताहिक युकेका सम्पादक ध्रुवराज अर्याल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
प्रतिमा केसी, विमला गौतम लगायतले कविता वाचन गरेको सो कार्यक्रममा मंचका सल्लाहकार राजेन्द्र पुडासैनी, कृष्ण भट्टराई, एनआरएन युकेका पूर्व अध्यक्ष कुल आचार्य, एनआरएन युकेका वर्तमान उपाध्यक्ष हिराधन राई, तमुधीं युकेका अध्यक्ष सुर्जे गुरुङग लगाएतको उपस्थिति थियो ।
अन्त्यमा मञ्चकी सदस्य तथा कार्यक्रम संयोजक शुशीला राईले सहभागी सबैमा धन्यवाद ज्ञापन गरेकी थिइन् भने कार्यक्रमको संचालन मञ्चकी सदस्य तथा कार्यक्रम सहसंयोजक स्मीता आत्रेयले गरेकी थिईन् ।
वेलायतस्थित नेपाली पत्रकारहरुको पनि उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम समापन पश्चात गायक भीम निरौला लगायतको सांगितिक प्रस्तुतीले वातावरणलाई मनोरञ्जनात्मक वनाएको थियो ।















प्रतिक्रिया