काठमाडौं, २६ फागुन । फरक फरक मूल्यका कारण विरामी ठगिन थालेपछि सरकारले १५ हजार व्राण्डका औषधीको मूल्य वेबसाइटमा राख्ने तयारी थालेको छ ।
स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने सरकारी निकाय औषधी व्यवस्था विभागले औषधी किन्दा उपभोक्ताहरु धेरै हदसम्म ठगिने गरेको पाइएपछि अत्यावश्यक मुख्य औषधीहरुको मूल्य वेबसाइटमा राख्न लागेको हो ।
औषधी व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता नारायण ढकालले एउटै खाले औषधीको पनि बजारमा फरक फरक मूल्य हुने खालको गलत प्रतिस्पर्धामा कमी ल्याउन सरकारले औषधीको मूल्य वेबसाइटमा राख्न लागेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो-‘सेवाग्राही विरामीले औषधीको तोकिएकै मूल्यमा औषधी पाओस भनेर हामीले औषधीको मूल्य सार्वजनिकरण गर्ने सोचमा गएका हौँ ।’ उहाँका अनुसार प्रारम्भिक चरणमा औषधी व्यवस्था विभागले देशभर विक्री हुने स्वदेशी तथा विदेशी गरी झन्डै १५ हजार ब्रान्डका औषधीहरुको मूल्य वेबसाइटमार्फत सार्वजनिक गर्न प्रक्रिया शुरु गरेको हो ।
प्रारम्भिक चरणमा आयुर्वेद, होमियोपेथी लगायतका वैकल्पिक भनिने उपचार पद्धतिमा प्रयोग हुने औषधीको मूल्य विवरण भने समावेश गरिने छैन् ।
औषधीहरुको नामावली मूल्य वेबसाइटमा राख्न अहिलेसम्म ३५ वटा स्वदेशी औषधी कम्पनीले मूल्य विवरण बुझाएको भएपनि झन्डै तीन सय वटा विदेशी कम्पनीले बुझाउन बाँकी रहेकोले सार्वजनिक हुन अझै ६ महिना लाग्ने प्रवक्ता ढकालले बताउनुभयो ।
यस्तो प्रणालीबाट औषधी उत्पादक कम्पनीबीच प्रतिस्पर्धा हुने र उनीहरुलाई मूल्य घटाउन दबाब पर्ने विभागको विश्वास छ ।
यो व्यवस्था लागू भएपछि तोकेको मूल्यभन्दा बढी लिएमा औषधी पसललाई तत्कालै खारेज गरी सञ्चालकलाई २५ हजार जरिवाना वा ३ वर्ष कैद वा दुवै सजाय हुने विभागले जनाएको छ ।














प्रतिक्रिया