२९ आश्विन २०८३, बिहिबार

टर्किस एयरलाइन्स दुर्घटना : जिम्मेवारी कसले लिने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradeep-Bhattarai

टर्किस एयरलाइन्सको विमान दुर्घटनाले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार दिनसम्म बन्द हुँदा राष्ट्को छविमा गम्भीर आघात पुगेको छ । दुर्घटनामा सरकारको दोष नहोला रे, तर त्यसपछिको अव्यवस्थापनका लागि नैतिक रुपमा यो मुलुकको सरकार जिम्मेवार छ । त्यसका लागि मुलुकको पर्यटन र नागरिक उड्ड्यन मन्त्रालय सम्हालेका विभागीय मन्त्री जिम्मेवार छन् । नैतिकताको यो चोर औला मन्त्रीतिर मात्र हैन, उनलाई मन्त्री बनाउने पार्टीतिर पनि ठडिएको छ ।

मुलुकको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिुभुवन अन्तर्राष्ट्रिय विमानस्थल । गत साता बुधबार विहानदेखि शनिवार रातिसम्म चार दिन ठप्पै भयो । त्रिुभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकै सूचनालाई आधिकारिक मान्ने हो भने पनि यस बीचमा २४ हजार तीन सय आउने र त्यतिकै संख्यामा जाने गरी ४८ हजार ६ सय पर्यटकको यात्रा प्रभावित भयो । त्यतिका मान्छेको चार दिन भनेको ५३२ वर्ष हो । अब यो समय उनीहरुको जीवनमा कहिल्यै फर्कदैन । अझ, अनपेक्षित रुपमा हरेक मिनेट पर्खनुको भौतिक अनि मानसिक पीडाको त कुनै हिसाव किताव नै गर्न सकिँदैन ।

दुर्घटना कसैको पनि अपेक्षा या इच्छाको विषय हैन । यो कसैको लागि पनि प्रिय विषय हैन र हुन पनि सक्दैन । नचाहँदा नचाहँदै पनि कुनै न कुनै कमजोरीकै कारण हुने हो, दुर्घटना । भौतिक सुविधाको अभाव अनि प्राकृतिक प्रकोप दुर्घटना हुनुको एउटा पक्ष हुन्छ हुने मानवीय कमजोरी अर्को पक्ष । पहिलो पक्षबाट दुर्घटना धेरै हदसम्म जोगाउन सकिए पनि दोस्रो पक्षबाट जोगाउन सजिलो छैन । मानवीय हेलचेक्याइ, अति विश्वास, भैहाल्छ, यसो गर्दा पहिला केही भएन जस्ता कुरा मानवीय प्रवृतिसँग जोडिएका हुन्छन् । पछिल्लो समय, अधिकांश दुर्घटना यस्तै मानवीय प्रवृत्तिका कारणले भएका छन् ।
गत साता बुधबार बिहान भएको दुर्घटना अलि प्राकृतिक र धेरै मानवीय कारणले भएको देखिन्छ । प्राकृतिक कुरा गर्दा भिजिविलिटीलाई केही गर्न नसकिएला तर मुलुकमा दोस्रो विमानस्थल भएको भए शायद त्यहा सहज किसिमले बैकल्पिक अवतरण गर्न नसकिने कुरै थिएन । सुविधासम्पन्न विमानस्थल भएको भए केही घण्टामै जहाजलाई ह्यांगरसम्म लगेर तत्कालै विमानस्थल सुचारु गर्न सकिन्थ्यो होला । यी त भौतिक पूर्वाधार या प्राकृतिक पक्षसँग जोडिएका कुरा भए ।

मानवीय पक्षको कुरा गर्दा, कन्ट्रोल टावरको प्राविधिकले क्लियर भन्ने तर धावनमार्ग नदेखिने एउटा पक्ष हो भने धावन मार्ग नदेखिदा नदेखिदै पनि विमानचालकले जबर्जस्ती विमान अवतरण गराउने अर्को पक्ष हो । जसको कमजोरी भए पनि नचाहदा नचाहदै एउटा अप्रिय दुर्घटना भयो । तर, अर्को पाटोबाट हेर्दा सबै यात्रु बचेको एउटा सुखद दुर्घटना हो यो । यसका लागि विमानचालक धन्यवादका पात्र पनि छन् । तदारुकताका साथ दमकल पठाउनेलगायतका काम गरेर विमानमा आगो लाग्न नदिएर एअर ट्राफिक कन्ट्रोलका प्राविधिक स्यावासीका पात्र बनेका छन् । तर, दुर्घटना नै हुनबाट रोक्न सक्ने परिस्थितिमा मानवीय क्षति बिना दुर्घटना गराएर बहादुरी काम गरे, यसको अर्थ त्यस्तो हैन र हुन पनि सक्दैन ।

अब रह्यो दुर्घटनापछिको उद्धारकार्य । हामीसँग भौतिक पूर्वाधारको अभाव त थियो नै, मानवीय क्षमताको अभाव पनि त्यत्तिकै रह्यो । अर्कोतिर, यस्तो संवेदनशील घडीमा सरकारको जुन किसिमको उपस्थिति हुनुपथ्र्यो, त्यो पनि देखिएन । त्रिभुवन विमानस्थलको जिम्मा लगाएर सरकार रमितेजस्तो देखियो । मुलुकमा पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय पनि छ भन्ने हेक्का नै गर्न पाइएन । सरकार जनताप्रति र जनसरोकारका विषयप्रति कति पनि संवेदनशील देखिएन । यस बीचमा बरु सरकारका मन्त्रीहरुले होली खेल्न भ्याए, ठूला दलका नेताहरु मालीगाउँ पुगेर पूर्वमहापञ्च सूर्यबहादुर थापाको रात्रीभोजमा रम्न भ्याए । तर, चारदिनदेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदाको पीडासँग कसैको संवेदना देखिएन ।

सरसर्ती हेर्दा, यो मुलुक हवाइ दुर्घटना भैरहने मुलुक हो, अर्को एउटा भयो । कुन ठूलो कुरा भयो र ? अझ राहतको विषय, यसपटक कोही पनि हताहत नभएको सुखद् दुर्घटना भयो । तर, कुरा यति सजिलो हैन । यसले राष्ट्रको छविमा कस्तो प्रभाव पर्‍यो ? मुलुकको पर्यटन क्षेत्रमा कति असर पर्‍यो ? र, अझ यो दुर्घटनामा पर्ने दुई सय २३ यात्रु अनि यात्रा प्रभावित ४८ हजार ६ सय यात्रु र उनीहरुका आफन्तको मनमा के चल्यो ? त्यसको सुक्ष्म मूल्यांकन गर्ने हो भने यो दुर्घटना कति असरदार थियो ?, त्यसको लेखाजोखा गर्न सकिन्छ ।

कुनै अध्ययन अनुसन्धान बिना सजिलै निष्कर्षमा पुग्न सकिने तथ्य के हो भने यसले विश्वसामु मुलुकको खराव छवि प्रस्तुत गरेको छ । नेपाललाई विमान दुर्घटना हुने विमानस्थल भएको मुलुकका रुपमा अर्को एउटा प्रमाणपत्र मिलेको छ । त्योभन्दा पनि खराब चारदिनसम्म पनि सामान्य दुर्घटनाको व्यवस्थापन नगरेर ५० हजार यात्रुलाई विचल्ली पार्ने अव्यवस्थित मुलुकका रुपमा हाम्रो मुलुकको नाम दर्ज भएको छ । विश्व पर्यटनको दशौं गन्तव्यमा परेर पनि एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएको गरीव मुलुकको रुपमा पनि हाम्रो मुलुक चित्रित भएको छ । समग्रमा वर्षौ मेहेनत गरेर बनाएको मुलुकको छवि फेरि एकपटक धुलामा मिलेको छ ।

हरेक घटनाले कम्तीमा पनि एउटा न एउटा त पाठ छोडेकै हुन्छ । यस घटनाले पनि नेपाललाई एक हैन, अनगिन्ती पाठ छोडेको छ । त्यसमध्ये पहिलो पाठ, मुलुकमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तुरुन्त चाहिने रहेछ । निजगढ, भैरहवा, पोखरा जहाँ छिटोभन्दा छिटो निर्माण सम्भव हुन्छ, त्यहाँ संकटकालीन प्रावधान लगाएर भए पनि फास्ट ट्रयाकमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सुरु गर्नुपर्‍यो । सरकारले यो घटनालाई त्यस्तो निर्णय गरेर सम्वोधन गर्न सक्थ्यो । दोस्रो कुरा, अहिलेको घटनाबाट जे जस्ता प्राविधिक उपकरण या दक्ष जनशक्ति आवश्यक हुन्थ्यो, त्यसको व्यवस्थापन गर्न लाग्नु पर्‍यो । ताकि , फेरि यस्ता दुर्घटना भए भने पनि चार दिनसम्म विमानस्थल बन्द गर्नु नपरोस् । तेस्रो कुरा, सत्य तथ्य पत्ता लगाउन सम्भव भए अन्तर्राष्टिय उड्ड्यन संगठनका प्रतिनिधिसमेत रहेको एउटा उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने र त्यसको प्रतिवेदनका आधारमा दोषीमाथि कारवाही गर्ने प्रतिवद्धता सरकारले सार्वजनिक गर्नुपर्छ । यदि टर्किस एयरलाइन्सका पाइलटबाट यस्तो गल्ती भएको भए त्यसबाट राष्ट्रिय छविमा परेको नकारात्मक प्रभावका लागि सम्बन्धित पक्षबाट सोधभर्ना गराउनुपर्छ । ताकि, आगामी दिनमा अन्य एयरलाइन्सबाट यस्तो जबर्जस्ती मानवीय कमजोरी नदोहोरियोस् । चौथो कुरा, सरकारले समयमा व्यवस्थापन गर्न नसकेको स्वीकार गर्दै कम्तीमा पनि सम्वन्धित सबैमा क्षमायाचना गर्दै आइन्दा त्यस्तो नहुने सार्वजनिक प्रतिवद्धता जनाउनुपर्छ ।

माथि उल्लेखित कामहरु गर्न सकियो भने त्यसबाट नेपालले जिम्मेवारी लिएको मात्रै ठहरिदैन, यस घटनाबाट पाठ सिकेको पनि ठहरिन्छ । अहिले मुलुकले अपेक्षा गरेको पनि यही नै हो । तर, दुर्भाग्य, सरकारको रबैया हेर्दा अहिलेसम्म केही भएको देखिदैन । त्यसका लागि पहिलो एक्सन विभागीय मन्त्रीले लिनुपर्ने हो ।

अहिले नेपालको संस्कृति, पर्यटन तथा नागरिक मन्त्री छन् दीपकचन्द्र अमात्य । मनत्री हुने उनको योग्यता भनेको एमालेका पूर्व अध्यक्ष झलनाथ खनालको स्वकीय सचिव हुनु नै हो । उनका लागि खनालले साइनोमा आफ्ना वहिनी ज्वाइँसमेत रहेका एमाले सचिव अनि निर्वाचित सांसद भीम आचार्यलाई अपदस्थ गराएका थिए । खनाल कोटामा परेका, एमालेमा राजनीतिक भविष्यसमेत रहेका र पार्टी महाधिवेसनमा नेपाल खेमाबाट सचिवमा विजयी भएका निर्वाचित सांसद आचार्यलाई छाँस्ने एमाले अध्यक्ष के पी ओलीका लागि यो स्वर्णिम मौका थियो । यसबाट खनाल पनि खुश, आचार्य पनि तमाम । एउटै निशानाबाट दुई शिकार गरिएको थियो । यसरी मन्त्री बन्न पुगेका अमात्यबाट त्यो स्तरको कुशलता र नैतिकताको अपेक्षा गर्न सकिने कुरा पनि भएन । समयक्रमले त्यही कुराको पुष्टि गर्‍यो । तर, प्रश्न अमात्यको मात्र हैन, एमाले र सरकारको पनि हो । एमालेले यो घटना र उनको असक्षमतालाई गम्भीरतापूर्वक लिन जरुरी छ । एमालेले विलम्व नगरी अमात्यलाई फिर्ता बोलाएर अर्को सक्षम एमाले नेतालाई मौका दिनुपर्छ । यसबाट सत्ताभन्दा पनि नैतिकताका लागि राजनीति गर्ने पार्टीका रुपमा एमालेको उचाइ बढ्ने छ । यसोभन्दा कसैले भन्न सक्छन्, टर्की एयरलाइन्सको पाइलटले जहाज धावनमार्गमा जोताउँछ, त्यसमा अमात्यको के दोष ? हो, त्यसमा उनको केही दोष छैन, तर त्यसपछि चार दिनसम्म पनि मुलुकको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल खुलाउन नसकेर ४८ हजार ६ सय यात्रुको समय बर्बाद पार्नमा उनकै कुनै नैतिक दायित्व बन्दैन ?

बन्छ, यदि बन्दैन थियो भने दशरथ रंगशालामा दुर्घटना भएर दर्शकको ज्यान जाँदा राजीनामा दिने तत्कालिन विभागीय मन्त्री केशरबहादुर विष्टको नैतिकताको नजीर नै बन्दैनथ्यो नि ?संजोग भन्नुपर्छ, दुबै ललितपुरे हुन् । फरक यति छ, अमात्य माक्र्सवादी, विष्ट राजावादी । राजावादी भनेर हेला गरिएकाले त्यो उदाहरण प्रस्तुत गरे, तर माक्र्सवादी भनेर गर्व गर्नेले के गर्छन् ? हेर्न बाँकी छ, आगे उनै जानुन् ।