फागुन, २६ डिसी । नेपाली मूलका जीवन तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्रअन्तर्गत भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट’मा उम्मेदवारी घोषणा गरेका छन् ।
कास्की जिल्लास्थित लेखनाथनगर नगरपालिका बेगनास ताल घर भै बिगत १० वर्षदेखि अमेरिकाको उत्तर भर्जिनियामा बस्दै आएका तिवारीले सोमबार मार्च ९ तारिख भर्जिनियाको हाउस अफ डेलिगेटको लागि क्षेत्र ८७ बाट २०१५ को लागि प्रतिनिधि सभामा डेमोक्र्याट पार्टीबाट उम्मेदवारी दिएका हुन् ।
अघिल्लो जनगणनाअनुसार उक्त क्षेत्रमा करिब २५ प्रतिशत एसिएन मूलका मानिस बसोबास गर्छन ।
संसदका उम्मेदवार बनेका तिवारी डेमोक्राटिक दलमा विभिन्न तहमा २००९ देखि नै सक्रिय रही काम गर्दै आएका छन ।
उक्त क्षेत्रमा डेमोक्राटिक पार्टीका कोषाध्यक्ष भई काम गरी सकेका पनि छन् ।
उनले अमेरिकाका राष्ट्रपति बाराक ओबामाको चुनावी प्रचार तथा प्रसारमा पनि सक्रिय रुपमा सहभागिता जनाएका थिए ।
पेसाले तिवारी घर खरिद तथा बिक्री अभिकर्ता हुन् । हाल उत्तर अमेरिका नेपाली समुदायको जेष्ठ अमेरिका नेपाल सोसाईटीका वर्तमान अध्यक्ष पनि हुन् ।
यस बाहेक प्रिन्स विलिएम तथा लाउडन काउन्टी डेमोक्राटिक दलका सदस्य तथा डेमोक्राटिक एसिएन अमेरिकन अफ भर्जिनियाका सदस्य रहेका पनि छन् ।
गैर मुनाफा सामाजिक संस्था सोसल सर्भेंट अफ अमेरिकाका संस्थापक पनि हुन् ।
सन् २००४ मा डिभी चिट्ठा कार्यक्रममा छनौट भै अमेरिका आएका तिवारी १ वर्ष न्युयोर्कमा बसी २००५ देखि नै भर्जिनियामा बसोबास गर्दै आएका छन् ।
तिवारी श्रीमती हिमाली तिवारी तथा ४ वर्षका छोरा आदर्श तिवारी तथा २ वर्ष कि छोरी अर्बिना तिवारी साथ भर्जिनियामा बस्छन् ।
आगामी जुन ९ ,२०१५ मा प्राथमिक एवं नोभेम्बरमा ३ ,२०१५ मा अन्तिम चरणको निर्वाचन हुनेछ ।
अमेरिकन सदनको लागि सभासदका उम्मेदवार तिवारीले पहिलो चरणमा विजयी भएपछि मात्र नोवेम्बरमा हुने निर्वाचनमा रिपब्लिकनका प्रतिद्वन्दीसंग चुनाव लड्नु पर्नेछ ।
यो क्षेत्रमा दुई पटक रिपब्लिकन दलका लेबनानी अमेरिकन डेविड रमादान विजयी भएका छन् । यो क्षेत्र केहि वर्ष अगाडि मात्र बनाईएको हो ।
आफ्नो उम्मेदवारीमा तिवारीले शिक्षा, स्वास्थ्य, आवास, आर्थिक विकास तथा विविधतालाई चुनावी मुद्दा बनाएका छन् ।
उनले आफ्नो आधिकारिक चुनावी वेब (संजाल) तिवारी फर डेलीगेट डटकम (Tiwari for delegate.com ) खोलि सकेका छन् ।


















प्रतिक्रिया