३० आश्विन २०८३, शुक्रबार

सहकारीहरु बजारमा केन्द्रित, रणसिंहकिटेनी गाविस खाली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sahakari-pasal– रबिना बोहरा
बागलुङ, २५ फागुन । बागलुङ जिल्लामा दर्ता भएका ४ सय १३ वटा सहकारी संघ संस्था मध्ये बागलुङ नगरपालिका वडा नम्बर २ मा मात्र ६० वटा सहकारी संघ संस्था रहेका छन् । बागलुङको रणसिंहकिटेनीमा भने अहिलेसम्म एउटा पनि सहकारी संस्था दर्ता हुन नसकेको डिभिजन सहकारी कार्यालयले जनाएको छ ।

डिभिजन सहकारी कार्यालयले दिएको जानकारी अनुसार सबैभन्दा बढी बागलुङ नगरपालिकाको बजार क्षेत्रमा सहकारी संघ संस्थाहरु रहेका छन् । नगरपालिकाको वडा नम्बर २ मा सबैभन्दा बढी ६० वटा संस्था रहेका छन् भने सबैभन्दा कम बानपा–९ मा एउटा मात्र सहकारी रहेको छ । बानपा–३ मा २२ वटा संस्था रहेका छन् । वडा नम्बर २ र ३ बजार क्षेत्रमा पर्दछन् ।

यस्तै नगरपालिका बाहेक बागलुङ क्षेत्र नम्बर १ का १९ वटा गाविसमा १ सय १७ वटा सहकारी संस्थाहरु रहेका छन् । क्षेत्र नम्बर १ मा सबैभन्दा बढी विहु गाविसमा १७ र सबै भन्दा कम अर्गल गाविसमा २ वटा सहकारी संस्था रहेको कार्यालयको अभिलेखमा उल्लेख छ । क्षेत्र नम्बर २ का २० वटा गाविसमा १ सय ७ वटा विभिन्न प्रकृतिका सहकारी रहेका छन् । क्षेत्र नम्बर २ मा सबैभन्दा बढी पैयुपाटा गाविसमा १४ तथा सबैभन्दा कम सल्यान, सुखौरा, धुल्लुबाँस्कोट र अर्जेवामा एक एक वटा सहकारी संस्थाहरु रहेका छन् ।

क्षेत्र नम्बर ३ को रणसिंहकिटेनी गाविसमा अहिलेसम्म एउटा पनि सहकारी संस्था दर्ता हुन सकेको छैन । सो क्षेत्रमा रहेका ८१ वटा सहकारी संस्था मध्ये सबैभन्दा बढी बुर्तिबाङ गाविसमा १८ वटा र सबैभन्दा कम खुंखानी र बोहोरागाउँ गाविसमा एक एक वटा सहकारी संस्था रहेका छन् ।

बागलुङ नगरपालिका पछि दोस्रो व्यापारिक क्षेत्र बुर्तिबाङमा सहकारी संस्था बढी दर्ता भएका छन् । बिहु, पैयुपाटा, हटिया, हरिचौर, नारायणस्थान, दगातुन्डाडा, कुश्मीसेरा गाविसमा १०÷१० वटा भन्दा बढी सहकारी संस्थाहरु रहेका छन् ।

बागलुङ जिल्लामा दर्ता भएका मध्ये १५ वटा सहकारीहरु खारेजीमा र ३ वटा सहकारीहरु अन्य सहकारीहरुमा एकीकरण भएको डिभिजन सहकारी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

तित्याङ गाविसमा रहेको कल्याणकारी बचत तथा ऋण सहकारी संस्था र विहु गाविसमा रहेको दहपानी महिला आयआर्जन बचत तथा ऋण सहकारी संस्था बानपा–३ मा रहेको सिवाइसी वचत तथा ऋण सहकारी संस्थामा एकीकरण भएका छन् । यस्तै सिगाना गाविसमा रहेको हाम्रो बहुउद्देश्यीय सहकारी र बानपा–३ को नवरत्न बचत तथा ऋण सहकारी एकीकरण भई नवरत्न बहुउद्देश्यीय सहकारी संस्था नामाकरण भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

बागलुङका सहकारीहरुले वार्षिक ५ अर्ब भन्दा बढीको कारोबार गर्ने गरेको राष्ट्रिय सहकारी बैंकका केन्द्रीय सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका निवर्तमान अध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो ।

उहाँले बागलुङका सबै सहकारीहरुको वित्तिय, सेवा लगायत सदस्य संख्या, शेयर रकम र कुल कारोबारको यथार्थ जानकारीका लागि डिभिजन सहकारी कार्यालय, जिल्लास्थित सहकारी संघहरु र राष्ट्रिय सहकारी बैंक बागलुङ शाखासंग समन्वय गरी सहकारीहरुको प्रोफाइल प्रकाशन गर्न लागिएको जानकारी समेत दिनु भएको छ ।

सहकारीहरुले समाजको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको भएपनि सही तथ्यांक नभएकाले अन्य निकायले हेर्ने दृष्टिकोणमा सुधार हुन नसकेको उहाँको भनाइ छ । प्रोफाइल प्रकाशनका लागि सबै सहकारीहरुसंग वित्तिय अवस्था, सेवा लगायत अन्य जानकारी माग गरिएको उहाले बताउनुभयो ।