नारीलाई लक्षित गरी वर्षको एक दिन अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । आज यस वर्षको त्यही एक दिन हो, अन्तर्राष्ट्रिय नारी दिवस । ३ सय ६५ दिनमध्ये १ दिन मात्रै नारीका लागि विशेष दिन हो ? सृष्टिका बराबर दावेदार मानिने नारी र पुरुषमा नारी दिवस नै मनाउनुपर्ने अवस्थाको सिर्जना किन भयो ? विशेष मानिएको आजको दिन यो प्रश्नको उत्तर खोज्नु जरुरी छ । वर्षको एक दिन नारी दिवस मनाउँदैमा नारीको हक, अधिकार र स्वतन्त्रता सुरक्षित हुन्छ ? के एक दिन मात्रै नारीलाई स्वतन्त्रता चाहिएको हो ? अथवा, नारीलाई अझ बढी दमन गर्ने पुरुषवादी सोचको परिणाम हो, नारी दिवस ?
अन्तर्राष्ट्रिय नारी दिवस न्यूयोर्कका महिलाले गरेका संघर्षको स्मृतिमा मनाइएको हो । सन् १९०७ को मार्च ८ का दिन महिलालाई उचित ज्याला र १० घन्टा कामको माग गर्दै संघर्ष सुरु गरे । सन् १९०८ मार्च ८ कै दिन श्रमिक महिलाले मताधिकार पाउनुपर्ने माग अघि सारे । सोही दिनको सम्झनामा सन् १९१० देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो । न्यूयोर्कमा भएको संघर्षलाई स्मरण गर्दै हरेक वर्ष अन्र्तराष्ट्रिय नारी दिवस मनाउने गरिएपनि नेपालका सन्दर्भमा त्यसले कुनै लाभ दिइरहेको देखिँदैन । औपचारिकताका लागि मात्रै विभिन्न सरकारी÷गैरसरकारी महिलावादी संघ÷संगठनले निश्चित बजेटमा १–२ घण्टे कार्यक्रम गरेर मात्रै महिला दिवसले सार्थकता पाउँदैन ।
आज विश्वले १०५औ अन्र्तराष्ट्रिय नारी दिवस भव्यताका साथ मनाइरहेको छ । आज फेरि एकपटक महिलालाई विभिन्न सभा सम्मेलनमा दया पात्रको रुपमा सम्बोधन गरेर हास्यपात्र बनाइँदै छ । त्यस्ता सम्मेलनमा नारीको वकालतका निम्ति लाखौं डलर खर्चिने छन् । धेरैले भाषण गर्ने र महिला सेवा गरेको जस्तो देखाउने अवसर पाउने छन् । बर्षभरि अनेक पीडाबाट प्रताडित महिला पनि आज स्वतन्त्रताका भाषण सुन्न पाउने छन् । तर, यो सबै वर्षमा एकदिन मात्रै किन ? नारी स्वतन्त्रता हरेक दिन हुनुपर्ने होइन र ? विदेशी डलरमा खेलिरहेका महिला अधिकारकर्मी आजका दिन खुबै तात्ने छन् । चर्काचर्का भाषण गर्दै नारीको ३३ प्रतिशत अधिकारको माग हुनेछ । तर, भोलिबाट नारी स्वतन्त्र र अधिकारलाई सबैले बिर्सने छन् । व्यवहारतः लागू नहुने स्वतन्त्रताका नाममा आज एक दिन नौंटंकी किन ? उपलब्धिहीन नारी दिवसको औचित्य के ? नारी दिवसबिना नारीले आफ्नो अस्तित्व कायम राख्न नसक्ने नै हो ? यी र यस्तै अनुउत्तरित प्रश्नहरुकौ जवाफ खोज्ने समय आएको छ । नारी दिवसलाई भब्यता र सालिनताका साथ सम्पन्न गर्दै पाँचतारे होटेलमा प्रतिबेदन र कार्यदिशा तयार गरिरहँदा यता कति महिला शोषण सहन बाध्य भैरहेका होलान् भन्ने तर्फ चाँहि कस्को ध्यान जाने ? हरेक आपराधिक गतिविधिको शिकार यतिबेला नारीलाई मात्र बनाइएको छ । महिलाका लागि कानुन समेत मितब्ययी नभएको देशका हामी नारी भएको कानुनको पनि उपभोग गर्न बाट बन्चित छौँ । राज्यको हरेक तप्का अनि तहमा नारीको पनि समान सहभागिता हुनुपर्ने हो तर यस्को ठीक विपरीत बडो मुश्किलले दानमा पाएको ३३ प्रतिशत सहभागिताको अवसरबाट पनि अयोग्य या फेरी असक्षमताको प्रमाण जुटाएर हिजो पनि पछाडि पारिँदै थिए महिला । र, आज पनि पछाडि पारिएका छन् । पाँच वर्षकी बालिका देखी लिएर ६० बर्षकी बृद्धा नै किन नहोस् हिजोका दिनमा जस्तै आज पनि बलत्कारको सिकार बनिरहेका छन् । ति न हिजो सुरक्षित थिए न आज छन् न त भोलीका दिनमा नै सुरक्षित हुनेछन् भनेर निर्धक्क हुन सक्ने स्थिति छ । महिला हिजो पनि बोक्सीको आरोपमा प्रताडित थिए, आज पनि त्यही स्थिति कायमै छ । महिलाले आफ्नो आत्मसम्मानका लागि बोल्दा तेजाब प्रहार गरिदिनुपर्छ भन्ने हिंस्रक मानसिकता हिजोका दिनमा जस्तै आज पनि महान पुरुषहरुको नशा–नशामा दौडिरहेको छ । महिला हिंसा, लैङ्गिक बिभेद, छाउपडी प्रथा जस्तै महिलालाई पछाडी पारिने अझ धेरै परम्परा जसलाई हामी धार्मिक अनि बिविध उपमा दिएर प्रशय दिइरहेका छौ । महिलाहरुको दैनिकी जो परापूर्वकाल देखि चल्दै आइरहेको छ र अहिलेसम्म पनि चलिरहेको छ के यसलाई परिर्वतन गर्न सक्छ, एक दिन मनाइने नारी दिवसले प्रश्न यो पनि हो ?
महिला नेतृत्वको बहस जोडदारका साथ चल्ने छ आज र तालीहरुको गड्गडाहाटसँगै बिस्तारैै सेलाएर जाने छ । समाजमा उदाहरणीय व्यक्तित्वका रुपमा आफ्नो सम्मान बनाएका पुरुष जो बाहिर महिला अधिकारका चर्का भाषण गर्छन् । आजको दिन केबल तिनीहरुका लागि हो भन्न रुचाउँछु म । किनकी आज सबैभन्दा बढी महिलाप्रति चासो तिनीहरुलाई हुनेछ । आफू महिलाबादी भएको सबै प्रमाण जुटाउनेछ र तिनीहरु नै सम्मानित हुनेछन् महिलाका लागि अतुलनीय काम गरेको गरेको भन्दै । तर, महिलाका लागि सहयोगी अनि दयालु महाशयका अर्धाङ्गिनी किन देखिदैनन् सार्वजनिक समारोहमा अनि महिलाहरुका हरेक हिंसाविरुद्ध आवाज किन उठाउँदैनन् ? यसतर्फ पनि सबैको ध्यान जान जरुरी छ । कतै प्रत्यक्ष त कतै अप्रत्यक्ष पाराले हरेक क्षेत्रमा महिलाहरुको प्रयोग भइरहेको छ । त्यसमध्ये राजनिति महिलाहरु सबैभन्दा बढी प्रयोग हुने क्षेत्रमा पर्दछ । महिलाहरुलाई ढाल बनाएर त्यसको श्रेय आफूहरु लिन माहिर हाम्रा राजनितिज्ञहरु आफ्नो स्वार्थ सकिएपछि दुधबाट झिंगा निकालेर फाले जस्तै गरि सजिलै महिलालाई असक्षम घोषण गरी आफ्नो बाटोबाट हटाइदिन्छन् तर पनि हामी मौन छौँ, आखिर किन ? नेपालका कति महिलालाई नारी दिवस मनाइन्छ र यो मार्च ८ मा पर्दछ भन्ने समेत थाहा छैन । अनि थोरै जतिलाई मात्र मनाइन्छ भन्ने थाहा छ तर कहिले भन्ने थाहा छैन । दुबै थाहा भएकालाई जो छन् उनीहरुलाई नारी दिवसप्रति चासो नै छैन । किनकी उनीहरुलाई थाहा छ वर्षमा एक दिन मात्र अधिकारका लागि कराउनु भनेको आफ्नै समयको बर्बादी हो । यी सबै कुरालाई बेवास्ता गरेर जो लागि परेका छन्, ती अल्पमतमा रहेका छन् । अनि तिनीहरु निजी स्वार्थले प्रेरित छन् भनेर जो कोहीले सजिलै आकंलन गर्न सक्छन् । जुन वर्गका लागि लक्षित गरी नारी दिवस मनाइँदैछ त्यही बर्ग नै यसप्रति अनविज्ञ छ भने के अर्थ यो दिवस मनाइरहनुको ?
सृष्टिको प्रारम्भकालदेखि एक रथका दुई पांग्रा मानिँदै आएका नारी र पुरुषमध्ये नारीलाई दिवसमा मात्र सीमित राखिएको जस्तो आभाष भइरहेको छ । पितृ सत्तात्मक समाजले नारी र पुरुषबीचको विभेदलाई अझ बढी बढावा दिएको छ । विभेदको अन्त्य गर्न भन्दै विदेशी सहयोगका थुप्रै संघ–संस्थाले विभिन्न कार्यक्रम चलाइरहेका छन् । तर, विदेशी डलरको आडमा नेपाली नारीको अस्मिता किमार्थ चोखो हुन सक्दैन । गरिब, विकासोन्मुख अथवा विकसित देश नै किन नहोस्, हरेक देशका नारीको अवस्था नाजुक नै छ । नारीले खुला रुपमा आफ्नो दक्षता, क्षमता र रुचि अनुसारको काम गर्न सहज छैन । प्रथमतः नारीले गर्न खोजेको काममा घरपरिवार र समाजले अवरोध खडा गर्छन् । त्यसका बाबजुद पनि संघर्षको मैदानमा गइहाले पनि यात्रा सहज छैन ।
नारीका क्षेत्रमा केही महिना अगाडि महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइयो । अभियान चलिरहँदा नै महिलामाथि थुप्रै किसिमका हिंसा भएका घटना सार्वजनिक भए । जुन श्रृंखला अहिले पनि कायमै छ । विदेशी डलर र सरकारी बजेट रित्याएर औपचारिकता निभाउने बाहेक महिलाका नाममा हुने कार्यक्रमले प्रभावकारिता देखाउन सकेका छैनन् । सधैंजस्तै यसपाली पनि विभिन्न निकायबाट औपचारिक रुपमा तामझामका साथ विभिन्न कार्यक्रम गरिएलान् । तर, समाजमा रहेको विभिन्न प्रश्नहरुको स्थायी निवारण हुने छैन । किनभने नेपाली समाजको कठोर वास्तविकता त्यहा महिलाको स्थिति कहाँ छ ? उसका व्यक्तिगत, पारिवारिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक सवालहरु कहाँ छन् ? उसको मानसिक–शारीरिक सवालहरु कहाँ छन् ? महिलालाई पुरुष जातिले गर्ने व्यवहारमा समानता सबै भेदरहित बन्न नसकेकै कारण नेपाली समाज र यहाको सभ्यतामाथि जान नसकेको हो । त्यसैले आउँदा दिनमा महिला र पुरुषको भूमिका बराबर भयो भने यहाँको सभ्यताले माथि उठ्ने मौका चाडै पाउँछ । नारी दिवसको नारा वा अभियानलाई प्लेकार्ड, पोस्टर, ब्यानर, पम्प्लेटमा सीमित गर्दै नाराबाजी र जुलुसमा रमाउने नेपाली समाजमा फेरि एक पटक पुरानै शैलीको पुनरावृत्ति मात्र नहोस् बरु नाराको मूल्य र भावनाको व्यक्ति, समाज र राज्यबाट व्यवहारिक कार्यान्वयनमा पहल गरियोस्, यही कामना ।














प्रतिक्रिया