जुम्ला, २३ फागुन । आर्थिक वर्ष २०७१/७२ का लागि रु तीन अर्ब ४० करोड बजेट प्रस्ताव गर्दै जुम्लाको २२औँ जिल्ला परिषद् विधिवत् रुपबाट सम्पन्न भएको छ ।
‘प्राङ्गारिक कृषि, वातावरण, ऊर्जा र रोजगारीमा अभिवृद्धि, शिक्षा, स्वास्थ्य, संस्कृति र समतासहितको जुम्लाको सम्बृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त परिषद्मा स्थानीय विकास अधिकारी ईश्वरकुमार गिरीले आव २०७२/७३ को वार्षिक नीति, बजेट तथा कार्यक्रमअन्तर्गत जिविस, विषयगत कार्यालयहरु र गैसससहित गरेर रु तीन अर्ब ४० करोड ८१ लाख ३८ हजार कुल बजेट प्रस्ताव गरिएको वक्तव्य राख्नुभयो ।
उक्त परिषद्मा जुम्लाका सभासद् क्रमशः ललितजङ्ग शाही, बलबहादुर महत, गोमा कुँवर र डिल्लीप्रसाद काफ्लेले कर्णाली तथा जुम्ला जिल्लाको समग्र विकास लागि हालसम्मै चारजना सभासद्ले सैद्धान्तिक विचारलाई थाती राख्दै ऐक्यबद्ध भएर अघि बढेको र पारित भएका योजनाहरुमा केन्द्रमा गर्नुपर्ने पहलकदमीका लागि आफूहरु लागि पर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
त्यसैगरी उक्त परिषद्बाट जिल्लामा रहेको ऊर्जा सङ्कटलाई समाधान गर्न ठूला विद्युत् आयोजनाका लागि सम्भाव्यता अध्ययन कार्यक्रमलाई आवश्यक पहल गरिनुका साथै राष्ट्रिय विद्युत् प्रसारणलाई जुम्लासम्म विस्तार गर्न सम्बन्धित निकायमा आवश्यक पहल गर्ने, जुम्लालाई हिमाली नमुना सहरमा विकास गर्दै लैजाने, सञ्चार क्षेत्रको सुदृढीकरण गर्ने, स्वाथ्य, शिक्षा, यातायातका साथै प्राङ्गारिक जुम्लाको संस्थागत विकास गर्नेलगायतका ५६ नीतिहरु लिइएको छ ।
















प्रतिक्रिया