बनेपा, २२ फागुन । काभ्रेपलाञ्चोक जिल्लामा मिर्गौला बेच्न बाध्य भएकामध्ये केहीलाई शारीरिक समस्या आउन थालेको छ ।
आफूहरुलाई शरीरको अङ्ग सुन्निने, दिसापिसाबमा रगत आउने, शल्यक्रिया गरिएको घाउ दुख्ने, थकानको महसुस हुनेलगायत लक्षण देखिएको पीडितले बताएका छन् ।
होक्से गाविसका ४७ वर्षीय मोहन सापकोटा झन्डै एक महिना लामो अस्पताल बसाइपछि घर फर्कनुभएको छ । उहाँ अहिले मिर्गौला बेचेर पश्चात्ताप गर्दै शरीरमा आएको थप समस्याले पारिवारिक जीवन कष्टकर भएको बताउनुहुन्छ । “पहिले पैसाको प्रलोभनमा परेर मिर्गौला बेचियो, अहिले थप समस्या झेलिरहेको छु ”उहाँले भन्नुभयो । सापकोटा शल्यक्रियाको घाउको पीडा बढी भएको र शरीरको अङ्ग सुन्निएको गहभरि आँसु लिँदै सुनाउनुहुन्छ ।
उहाँसँग मिल्दोजुल्दो समस्या होक्सेकै कान्छामान लामाको पनि छ । “मेरो शरीरको अङ्ग सुन्निएको छ” भारतमा मिर्गौला बेचेर फर्किनुभएका लामाले भन्नुभयो । उहाँले औषधि, उपचार गर्न पैसा नहुँदा घाउ चर्केर पीडा भइरहेकोसमेत बताउनुभयो ।
जनअधिकार संरक्षण मञ्च पिपिआर काभ्रेपलाञ्चोकका संयोजक कृष्णप्यारी नकर्मी बिरामी परेर पनि पीडितहरु खुल्न नचाहेको उल्लेख गर्दै पीडितको घाउका कारणले अन्य शारीरिक समस्या आएको हुन सक्ने अनुमान गर्नुहुन्छ । “घाउ चर्किन्छ अनि समस्या आउन सक्छ र एकै चोेटि थकान महसुस हुन्छ भन्छन् पीडितहरु” उहाँले भन्नुभयो ।
संयोजक नकर्मीले जिल्लामा मिर्गौलाकै कारण बिरामी परेको भन्ने तथ्याङ्क नभएको जानकारी दिँदै मिर्गौैला बेच्न बाध्य भएकाको विभिन्न समस्या भने आइरहेको बताउनुभयो ।
धुलिखेल अस्पतालका मिर्गौलासम्बन्धी जानकार चिकित्सक विजय प्रजापतिले शरीरमा रहने दुई मिर्गौलामध्ये एउटाको अभाव हुन नदिन मिर्गौैलालाई भार नपर्ने काम व्यक्तिले गर्नुपर्ने उल्लेख गर्दै एउटा मिर्गौला मात्रै शरीरमा हुँदा जोखिम हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो–“एउटा मिर्गौलाका अभावमा पनि जीवन चलाउन सम्भव हुन्छ, घाउको दुखाइ कम गर्न रक्तशुद्धीकरण वा औषधोपचार गर्नुपर्छ । ” डा प्रजापतिले मिर्गौलाका कारणले नै अन्य असर देखिएर व्यक्ति बिरामी नहुने बताउनुभयो ।
केही वर्षअघि ‘बैंक अफ किड्नी’ भनेर देशविदेशमा प्रचारमा ल्याइएको काभ्रेपलाञ्चोकमा २० वर्षअघिदेखि मिर्गौला बेचबिखन भएको पाइएको छ । सुरुमा होक्से र ज्याम्दी गाविसका करिब १०८ जनाले मात्रै मिर्गौला बेचेको अनुमानित तथ्याङ्क छ र त्यसबाट अहिले जिल्लाको १० गाविस प्रभावित भएको अनुमान छ ।
मिर्गौला बेच्ने क्रम नरोकिएपछि जिल्लास्थित पिपिआरले मिर्गौला बेच्नेको तथ्याङ्क सङ्कलन तथा उनीहरुको अवस्थाबारे अनुगमन गरिरहेको छ । प्रारम्भिक अनुगमनमा काभे्रका ३०० जनाले मिर्गौला बेचेको पाइएको छ । पिपिआरको हालसम्मको अनुगमनमा होक्सेमा ११२ , पाँचखालमा १०२ र ज्याम्दीका ५६ जनाले आफ्नो एउटा मिर्गौला बेचेको तथ्याङ्कमा देखिएको छ । तीमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या तेब्बर छ ।














प्रतिक्रिया