काठमाडौँ, २२ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमान हटाउने काम जारी रहेको छ ।
भारतबाट उपकरणसहित आएको विज्ञ टोलीले आज अपराह्न १२ बजेसम्म काम सक्ने अनुमान गरिएको छ । त्यसपछि लागि परिक्षण सुरु हुनेछ । परीक्षणपछि मात्रै पूर्ण रुपमा उडान सुरु हुने विमानस्थलका प्रबन्धक पूर्णप्रसाद चुडालले जानकारी दिनुभयो ।
चुडालका अनुसार जमिनमा धसिएको चक्कामा ब्राल्डर (बेलुन) राखेर उठाउने काम भइरहेको छ, अब चक्कालाई गति दिएर तान्ने काम मात्र बाँकीे छ । उहाँका अनुसार साझ पाँचबजेपछि मात्रै अन्तराष्ट्रिय उडान सूचारु हनेछ ।
विमानस्थलको धावन मार्गको किनारमा दुर्घटनामा परेको सो एयरलाइन्सको विमान हटाउन भारतीय वायु सेनाको विमान विज्ञ टोली उपकरणसहित बिहीबार अपराह्न काठमाडौँ आइपुगेको थियो । विमान पन्छाउने उपकरण नहुँदा बुधबार बिहान ८ बजेदेखि प्रस्थान र अवतरण गर्दै आएका अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको छ ।
टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ विमान अवतरण गर्ने क्रममा बुधबार बिहान धावन मार्गको पश्चिमपट्टि किनारमा अड्किएर धावन मार्ग अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय उडान रद्द गरिएको थियो । विमानस्थलबाट हुने आन्तरिक उडान भने नियमित रूपमा सञ्चालन भइरहेको छ ।
सो विमान दुर्घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग सञ्चालन हुन नसक्दा विश्वको विभिन्न गन्तव्यमा जान लागेका हजारौँ यात्रु मर्कामा परेका छन् ।
















प्रतिक्रिया