३० आश्विन २०८३, शुक्रबार

दुर्घटनाग्रस्त जहाज हटाउन भारतबाट उपकरण ल्याइयो, बिमानस्थल खुल्न अझै सात घण्टा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Turkish-Airlines3

काठमाडौँ, २१ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त टर्किस एयरवेजको जहाजलाई हटाउन भारतबाट उपकरण ल्याइएको छ । भारतको नयाँदिल्लीबाट भारतीय वायु सेनाले एयरक्राफ्ट रिमुभल किट (जहाज हटाउने उपकरण) लिएर दिउँसो एक बजे काठमाडौँ आइपुगेको हो ।

भारतीय वायु सेनाको जहाजमा १२ जना प्राविधिकहरु पनि आएका छन् । जहाज हटाउने उपकरणलाई कम्तीमा सात घण्टासम्म लाग्न सक्ने त्रिभुवन बिमानस्थलले जनाएको छ ।

‘नेपाल र भारत सरकारबीचको कुराकानीपछि हिजो एयरक्राफ्ट रिमुभल किट मुम्बईबाट दिल्लीमा ल्याइएको थियो ।’, त्रिभुवन बिमानस्थलका अपरेशन डाइरेक्टर देवचन्द्रलाल कर्णले भन्नुभयो,’ एयरक्राफ्ट रिमुभल किट इन्डियन एयरवेजको हो । नेपालसम्म ल्याइदिने काम मात्र भारतीय वायुसेनाले गर्न लागेको हो । भारतीय सेनासँग पाँच हजार फिटमा ल्याण्ड गर्न सक्ने जहाज भएकाले उसको सहायता लिइएको हो ।’

निर्देशक कर्णका अनुसार, बिमानस्थलमा दुर्घटनाग्रस्त जहाजलाई कसरी हटाउने भनेर आन्तरिक तयारी समेत गरिएको थियो । त्यसका लागि सेना, प्रहरी र प्राविधिकहरु बिहानैदेखि खटिएका थिए ।

टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ विमान अवतरण गर्ने क्रममा बुधबार बिहान धावन मार्गको पश्चिमपट्टि किनारमा अड्किएर धावन मार्ग अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ। विमानस्थलबाट हुने आन्तरिक उडान भने नियमितरुपमा सुचारु भइरहेको छ ।

यसअघि बुधबार पत्रकार सम्मेलन गरी विमानस्थलले भारतबाट इन्डियन एयर फोर्स आज बिहान ८ बजे आइपुग्ने र धावन मार्गमा अड्किएको विमान हटाएर सुरक्षित स्थानमा लगी अपराह्न ४ बजेपछि अन्तर्राष्ट्रिय उडान सुचारु हुने जनाएको थियो । त्रिभुवन बिमानस्थल बन्द भएपछि विभिन्न देशबाट नेपाल आउँदै गरेका हजारौँ यात्रु अलपत्र परेका छन् । काठमाडौमा बिमानस्थलमा यात्रुको ठूलो भीड छ । त्रिभुवन बिमानस्थलमा दैनिक ३५ वटा अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । दैनिक १२ हजार भन्दा बढी यात्रु ओहोरदोहार गर्ने बिमानस्थल बन्द हुँदा विदेशमा समेत नेपालको छवि धुमिलिएको छ ।