३० आश्विन २०८३, शुक्रबार

मलेसियामा मृत्युदण्ड पाएका हरिबहादुरको बिलौना- ‘छोरीको अनुहार हेर्ने अन्तिम इच्छा छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संजीब दाहाल

मलेसिया, २० फागुन । नेपालमा बेरोजगार भएपछि गरिब १३ वर्षअघि बसुन्चेत-१ नुवाकोटका हरिबहादुर घले बैदेशिक रोजगारीका लागि मलेसिया आएका थिए । त्यसबेला भर्खरै बिहे गरेका उनको आर्थिक हैसियत अति कमजोर थियो। विहेसंगै दिन प्रतिदिन पारिवारिक जिम्मेवारी समेत थपियो। गाउँको मजदूरीबाट आउने पैसा थोरै भएकाले घर व्यवहार चलाउन झन् झन् कष्टकर बन्दै गयो । त्यही बेला श्रीमती पनि गर्भवती भइन्। उनलाई खर्च धान्न धौ धौ हुन थाल्यो। त्यसपछि परिवार र भावी सन्ततिको सुन्दर सपना साँचेर उनी कमाउन मलेसिया आउने निचोडमा पुगे । अनि हानिए मलेसिया। नेपालमा उनकी श्रीमतीले छोरी जन्मिइन्।

अहिले छोरी ११ वर्षकी भईसकेकी छिन्। छोरी र श्रीमती दिनदिनै उनको प्रतिक्षामा तड्पीरहेका छन् । तर, हरिबहादुर चाहिँ मृत्युदण्डको पर्खाइमा मलेसियाको जेलमा कष्टकर दैनिकी बिताइरहेका छन्।

हरिबहादुरलाई मृत्युदण्ड किन ?

हरिबहादुर सन् २००३ मा नेपालबाट होटलमा काम लागि आएका थिए । होटलमा मेहेनतका साथ काम गर्थे। उनको कमाई ठीकै थियो।

एक दिन होटेलमा काम गर्ने सिलसिलामा हामी पनि नेपाली भन्दै गणेश गुरुङ र साजन गुरुङले परिचय गरे । सँधै भेटघाट बढेसँगै देस्ती समेत बढ्दै गयो । उनीहरुले विश्वास भन्दै उनलाई कहिलेकाँही केही सामान राख्न दिन्थे। उनले जतनसाथ राखिदिन्थे र सामान फिर्ता लिँदा केही पैसा दिन्थे। साथी सरह गरेको विश्वासप्रति उनी खुसी हुन्थे र पैसा पाउँदा झनै मख्ख पर्थे।

कुरा सन् २००३ मे ३० को हो । उनलाई गणेश गुरुङले सदाझैँ एउटा ब्याग राख्न दिएर हिँडे। ब्याग थन्काइदिएर उनी आफ्नो काममा व्यस्त भए । ब्याग राख्न दिएको केहीबेरमा मलेसियन प्रहरी होटलमा आइपुग्यो। होटलमा भटाभट खोजतलासी थालियो । उनलाई गुरुङले राख्न दिएको ब्यागमा प्रहरीले खोनतलास गर्न थाल्यो । प्रहरीले ब्याग भित्रबाट ८ सय ७५
८ ग्राम हेरोइन भेट्यो। जब प्रहरीले उनको ब्यागबाट हेरोइन निकाले, हरिबहादुर छाँगाबाट खसेझैँ भए।

उनलाई प्रहरीले पक्राउ गर्यो। र, लागुऔषधको मुद्दा चलायो। क्लालाम्पुरस्थित नेपाली दूतावासका अनुसार शुरुमा तल्लो अदालत हाइकोर्टले सन् २००९ नोभेम्बर २६ मा उनलाई मृत्युदण्डको फैसला सुनायो। सो फैसलाविरुद्ध नेपाली दूतावासले पुनरावेदन गर्यो । सन् २०११ को जनवरी २५ दोस्रो तहको अदालतले पुनरावेदन खारेज गर्दै हाईकोर्टकै फैसलालाई सदर गर्यो । दूतावासले हरिबहादुरको ज्यान जोगाउन दोस्रो तहको अदालतको फैसलाविरुद्ध सर्वोच्चको ढोका ढकढक्यायो। तर सन् २०१२ को सेप्टेम्बर २५ मा अन्तिम फैसला गर्दै सर्वोच्चले पनि हरिबहादुरलाई मृत्युदण्ड हुने निर्णय नै सदर गर्यो।

सर्वोच्चको फैसलापछि हरिबहादुरको ज्यान जोगाउन मलेसियामा सबै कानुनी बाटाहरु लगभग बन्द भएका छन्। हरिबहादुर अहिले यहाँको काजाङ जेलको मृत्युण्डको पर्खाइमा दिन बिताइरहेका छन्। उनलाई मृत्युदण्ड दिइने मिति तय भइसकेको छैन। पार्डन बोर्डले सो मिति जुराउनेछ। मलेसियाका राजा अब्दुल हालिम प्रमुख रहेको पार्डन बोर्ड यहाँका अदालतका निर्णय
कायान्वयन गर्ने अन्तिम निकाय हो। हरिबहादुरको ज्यान जोगाउने सबै कानुनी बाटा बन्द भए पनि नेपाली दुतावासले अझै कुटनीतिक पहल गरिरहेको छ। यो घटनालाई नजिकबाट नियाली रहेका मलेसियाका लागि नेपाली राजदूत डा निरन्जन सिंह बस्नेतका अनुसार दूतावासको आग्रहमा तत्कालीन प्रधानमन्त्री बावुराम भट्टराईले यहाँका प्रधानमन्त्रीलाई हरिबहादुरलाई मृत्युदण्ड नदिन आग्रह गर्दै पत्र लेखेका थिए।

मृत्युदण्डको प्रक्रिया यहाँ अघि बढ्न थालेपछि दूतावासले उनको ज्यान जोगाउने अन्तिम अस्त्रका रुपमा राष्ट्रपति डाक्टर रामवरण यादव आग्रह गरेको छ। राष्ट्रपतिले पनि दूतावासको आग्रह् अनुसार सन् २०१४ को १४ जुलाईमा यहाँका राजा अब्दुल हालिमलाई मृत्युदण्ड नदिन आग्रह गर्दै पत्र लेखेका छन्। राष्ट्रपतिको पत्रलाई यहाँको पार्डन बोर्डले पेन्डिङमा राखेको छ। अब हरिबहादुरलाई मृत्युदण्डबाट रोक्न सक्ने एक मात्र निकाय यही पार्डन बोर्ड मात्रै हो।

मृत्यु पर्खेर जेल बसेका हरिबहादुरलाई आजभोलि दिन र रात एकै लाग्न थालेको छ। उनको अवस्था बुझ्न समय समयमा जेल गइरहने गरेका छन् । भेट्न जानेहरुलाई हरिबहादुर भन्छन्, ‘मेरो मृत्यु त निश्चित छ होला है।’

हरिबहादुरले आफूले गल्ती गरेर नभई अर्काको सामान राखेकै भरमा मृत्युदण्डको सजाय सुनाइएको गुनासो गर्छन्। उनी नेपालबाट यहाँ आउँदा गर्भमा रहेकी छोरी अहिले ११ बर्ष भैसकेकी छिन्। उनलाई मर्नुअघि एक पटक छोरीको मुख हेर्न चाहन्छन्। ‘मर्नु अघि छोरीको मुख देख्न पाए हुन्थ्यो। छोरीकै मुखै नदेखी मर्छु कि!-  उनी भन्छन्। उनलाई मृत्युदण्डको फैसला सुनाइएपछि श्रीमतीले नेपालमा दोस्रो बिहे गरिन्। बावु मलेसियाको जेलमा र आमा अर्कैसँग हिँडेपछि ती बालिकाको बिचल्ली छ। माफी पाएर नेपाल फर्किएमा छोरी पढाउने र वृद्ध आमाबुवाको हेरचाह गर्ने उनको धोको छ।

राष्ट्रपतिले फेरि पहल गरे आफू बाँच्छु कि भन्ने आशा उनमा छ। अब यहाँका राजाले राष्ट्रपति रामवरण यादवको आग्रहलाई स्वीकार गरी दयालु नबने उनले मृत्यु स्वीकार्नुको विकल्प छैन।