भनिन्छ, बलिउडमा जसले चलचित्र शोले हेरेको छैन, उसले हिन्दी चलचित्र नै हेरेको छैन । अनि, हलिउडमा जसले चलचित्र टाइटानिक हेरेको छैन, उसले कुनै अंग्रेजी चलचित्र नै हेरेको छैन । कारण फरक होला तर नेपालमा पनि अब भन्न सकिन्छ जसले भीमदत्त हेरेको छैन, उसले नेपाली चलचित्र नै हेरेको छैन । किनकि, बायोपिक चलचित्र भीमदत्त अब कुनै आयाराम गयाराम नेपाली चलचित्र रहेन ।
कुनै समय भनिन्थ्यो, चलचित्र बनाउनभन्दा पनि चलाउन गाह्रो । समय क्रमसँगै चलाउन त केही सजिलो भएको छ तर चल्न भने गाहे मात्र हैन महागाहे हुँदैछ । केही समययता नेपाली चलचित्र जुन गतिमा चल्न छोडेका छन्, त्यो हेर्दा सामान्य अचम्म मानेर मात्र पुग्ने अवस्था छैन, महाअचम्म नै मान्नुपर्ने स्थिति सिर्जना हुँदैछ । किन यस्तो भयो होला ? भन्ने प्रश्नको सहज उत्तर भेटिदैन, त्यसका लागि गम्भीर जाँच पड्ताल हुन आवश्यक छ ।
अहिले त हुँदा हुँदा स्थिति नै यस्तो सिर्जना भएको छ कि यहाँ कुन चलचित्र कति चल्यो भन्ने कुरा गर्नै बेकार छ, जेरी केही चल्यो, तथास्तुले आधा पैसा उठायो कि ? त्यसमा पनि आशंंका छ । प्रतीक्षा गरिएका सम्वोधन, सुन्तली, वन वे, अझै पनि जस्ता चलचित्रको जुन हालत भयो, त्यसले नेपाली चलचित्रमा निराशा मात्र छैन, हतासा र कुण्ठा पनि जन्माइ दिएको छ ।
सत्तरीे दशकको अन्तिमतिर पाकिस्तानी र बंगाली चलचित्र उद्योग जुन किसिमले धराशायी भएको थियो, अहिले नेपाली चलचित्र उद्योग त्यही विन्दुबाट गुज्रदैछ । त्यहाँ पनि त्यो कालखण्डमा अचाक्ली संख्यामा चलचित्र बनेका थिए । चलचित्रमा दुई तीन समानान्तर गुटको निर्माण भएको थियो । आफ्नो चलचित्र सफल बनाउने रणनीति बनाउनेभन्दा पनि अर्को गुटको चलचित्र कसरी असफल पार्ने भनेर नकरात्मक प्रचारबाजीका जुक्ति सुझाउनमै गुटहरुको अधिकांश समय बित्थ्यो । त्यस क्रममा हदैसम्मका अमर्यादित हत्कन्डाहरु पनि अपनाइन्थे । चलचित्रको प्रदर्शन जुधाउने, चलचित्र हकरहरुलाई खाजापानीको व्यवस्था गरेर अर्को पक्षको चलचित्र खतम भयो भनेर चोक, गल्ली र चियापसलमा हल्ला मच्चाउन लगाउने, आफ्ना पक्षका पत्रकार प्रयोग गरेर अर्को पक्षका चलचित्रलाई ब्लाकआउट गर्ने, हुण्डी व्यवस्था गरेर नकारात्मक प्रचार गराउने लगायतका क्रियाकलाप उनीहरुका लागि सामान्य मानिन्थे ।
नेपाली चलचित्रको पछिल्लो स्थिति हेर्ने हो भने त्यही स्थितिको प्रतिलिपि उतार भने पनि हुने स्थिति छ । अझ गहिरिएर हेर्ने हो भने यहाँ पाकिस्तान र बंगलादेशको तत्कालिन समस्याभन्दा पनि अझ गम्भीर प्रकृतिका समस्या छन् । त्यसमा विश्वभूमण्डलीयकरण र प्रविधिको प्रजातान्त्रिकरणबाट सिर्जना भएका समस्याहरुको पनि लामै सूची थपिएका छन् । अझ, भर्चुअल वल्र्डको जबर्जस्त उपस्थितिले यो समस्यालाई थप पेचिलो बनाएको छ ।
धेरैलाई लागेको हुनसक्छ, यो एकाएक कुनै खास चलचित्रका लागि नै सिर्जना भएको परिस्थिति हो । तर, त्यस्तो हैन, यो परिस्थिति एकाएक आइलागेकै हैन, केही वर्षयता चलचित्र क्षेत्रमा रोपिएको घृणाको विषवृक्ष बढेर अहिलेको जटिल परिस्थिति सिर्जना भएको हो । अनुमान के गरिएको थियो भने यो स्थिति आउन कम्तीमा पनि अरु चार पाँच वर्ष लाग्ला, तर त्यस्तो भएन यो सोचेभन्दा छिटो र अझ भयानक रुपमा आइपुग्यो । यसलाई पछिल्लोपटक औसतको नियमले पनि सघायो । अर्थात् यस मेसोमा आएका चलचित्रहरु सुख्खाको एकै घानमा परे । निर्माताहरु डुबे, स्टारडम पानी पानी भयो, हलमा छिट्छिटो चलचित्र फेरिए । सञ्चारकर्मीहरुलाई नयाँ नयाँ शीर्षकका समाचार मिले । धन्धुकारीहरुलाई चिया गफका लागि विषय मिल्यो । एक किसिमले भन्ने हो भने नेपाली चलचित्रको खराव ब्यावसायिक चित्र प्रस्तुत भयो ।
यस्तै धमिलो बजारे चित्र देखापरेको बेला शुक्रबारे रिलिजमा आइपुगेको छ, चलचित्र भीमदत्त । सुदूरपश्चिम कार्यथलो बनाएका महान स्वतन्त्र सेनानी एवं किसान नेता भीमदत्तमाथि बनेको चलचित्र भीमदत्त बायोपिक जनराँको चलचित्र हो । केही कथानक थपेर सोसल डमा जनराँमा प्रस्तुत गरिएको छ यो । २१ औं शताव्दीको पहिलो दशक र सातौ दशकबीचको सन्दर्भलाई कथावाचन गर्न फ्लास र ट्रान्स शैली अपनाइएको छ । यसमा इटालियन न्युओरियालिज्मको प्रभाव पनि प्रष्टसँग अनुभूत गर्न सकिन्छ । यी सबैका बाबजुद पनि चलचित्र भीमदत्त मूलधार नै पछ्याएर बनाइएको चलचित्र हो । यसमा मनको रञ्जनका लागि सस्तो हैन, स्वस्थ मनोरञ्जन पनि छ । डकुडा्मा र पूर्णतः वायोपिक चलचित्र हुनबाट जोगाएर बीचको बाटोमा हिडाउँदा चलचित्रलाई यस्तो क्यान्भाष मिलेको हो ।
यति भएर पनि बुझ्नुपर्ने सत्य के हो भने चलचित्र भीमदत्त पैसाकै लागि बनाइएको शुद्ध ब्यावसायिक चलचित्र हैन । यो सुदूर पश्चिममा सीमित पारिएका क्रान्ति पुरुष भीमदत्तको योगदान र महत्तालाई राष्ट्यि आकार दिन बनाइएको श्रव्यदृश्य दस्तावेज पनि हो । यसलाई चलचित्रको पर्दामार्फत् धेरैभन्दा धेरै मानिसमा पुर्याउन सके एकातिर किसान नेता भीमदत्तको महत्ता आम मानिसमा पुग्ने थियो भने अर्कोतिर त्यसले ब्यावसायिक सफलता पनि हात लगाउने थियो । अनि, यो सफलताले केही समययता ओरालो लागेको नेपाली चलचित्रको बजारलाई ग्राफको उकालोतिर डाहोर्याउन पनि सहयोग पुर्याउने थियो ।
चलचित्र भीमदत्त जुन क्यान्भाष र जनरामा बनेको छ, त्यो कोणबाट हेर्दा खासै खोट लगाउने ठाउँ देखिदैन । कथानकको कुरा गर्दा, अध्ययन, अनुसन्धान नै नगरेर केन्द्रीकृत राज्यप्रणालीले सीमान्तकृत पारिएका भीमदत्त अझै पनि सुदुरपश्चिमका लागि एक दन्त्यकथाका पात्रजस्तै लाग्छन् । यसरी हेर्दा उनीमाथि अझै पनि धेरै तहमा पर्दा लागेको स्थिति हो । चलचित्र भीमदत्त निर्माण गर्दा लेखक मणि थापाको नेतृत्वमा गरिएको अनुसन्धानले उनीमाथि लागेका कतिपय त्यस्ता पर्दा खोलेर उनलाई चलचित्रमा संगृहित गर्ने काम भएको छ । र, सबैभन्दा सुखद् पक्ष, उनको जीवनीमा बनेको चलचित्र विवादभन्दा माथि छ । सुदूर पश्चिमका आमजनताले यसलाई निर्विवाद रुपमा स्वीकारेका छन् । यो नै चलचित्रको सुखद् सफलता हो ।
दोस्रो वायोपिक चलचित्रमा आउने अर्को मूल समस्या भनेको चरित्रको हो । चलचित्र भीमदत्तको केन्द्रीय पात्र भमिदत्तका रुपमा कलाकार नवल खड्का प्रस्तुत छन् । भीमदत्त या उनको तस्वीर नै नदेखेकाले त उनमा नवल खड्का मात्रै देख्न सक्छन् तर जसले भीमदत्त या उनको तस्वीरलाई पनि देखेका छन्, उनीहरुले भने उनमा भीमदत्त मात्र देख्छन् । सुदूर पश्चिमका जनताले उनमा भीमदत्त मात्र देखे । फलतः उनको कास्टिंग विवादमा परेन । उनलाई त्यही रुपमा देखाउन उनको भेषभूषाले पनि सघाएको छ । भेषभूषाकै कारण उनकी श्रीमतीको चरित्रमा देखाइएकी हट पोट्ृलकी नायिका सुमिना घिमिरेलाई पनि चरित्रकै रुपमा सामाजिक स्वीकृति मिलेको छ । चलचित्रमा सबैभन्दा गजबको चरित्रमा जमेका छन्, विष्टकाजी अर्थात् अभिनेता रमेश बुढाथोकी । उनको स्थानीय भाषाको थेगो त चरित्रको प्राण नै सावित भएको छ । यसरी हेर्दा चलचित्रको कास्टिंग सिनर्जिक लाग्छ । चलचित्रलाई जीवन्त बनाउन यो पक्ष पनि सहयोगी बनेको छ ।
प्रविधिको कोणबाट हेर्दा चलचित्रलाई अब्बल भन्न नसकिएला । तर, २१औ शताव्दीको पहिलो दशकमा प्रचलनमा रहेको प्रविधिलाई आधार मान्दा यसमा पनि खोट देखाउने ठाउँ हुदैन । द्वन्द दृश्यमा भने सिनेमा लिवर्टी या सेलेक्टिव रियालिटीको गतिलै किसिमले उपयोग गरेको पाइन्छ । चलचित्रमा प्रयोग भएको सांगीतिक पक्षले कथानकलाई बढाउन नै सहयोग गरेको छ । गीतांगे चरित्र नहुँदा केन्द्रीय पात्रले नाच्ने गाउँने कुरालाई वायोपिक जनराँमा अलि असुहाउदिलो मानिए पनि यसलाई चलचित्रशास्त्रमा सिनेमा लिवर्टी या सेलेक्टिव रियालिटीले छुट दिन्छ । निर्देशकले सोसल डमा जनराँमा चलचित्रलाई लगेर पनि त्यसको थप छुट अभ्यास गरेका छन् । निर्देशक हिमग्याप लामा (टासी) कुशल कोरियोग्राफर पनि हुन् भन्ने कुरा उनले प्रयोग गरेको आञ्चलिक कोरियोग्राफीले पुष्टि गर्छ ।
समग्रमा जबर्जस्ती ओझेलमा पारिएका भीमदत्तमाथि बायोपिक कम सोसल जनराँमा निर्माण गरिएको चलचित्र भमिदत्तले फूलको गुच्छामा ढुंगा राखेर सामाजिक विकृतिमाथि प्रहार गरेको छ । सिधै ढुंगा राख्दा छलिने सम्भावना देखेर निर्देशक टासीले गुच्छामा ढुंगा राख्ने बढो सुन्दर रणनीति अपनाएका छन् । यसो गर्दा चलचित्र इन्फोटेन्मेन्ट र यडुटेन्मेन्ट जनराँमा अनूदित भएर स्वस्थ चलचित्र बन्न सकेको छ ।
चलचित्र भीमदत्तले नेपाली इतिहासका एक क्रान्ति पुरुषको जीवनी चलचित्रको पर्दामा देखाउँछ । यो दूर्लभ अवसरका लागि पनि चलचित्र भीमदत्त हेर्नुपर्ने हुन्छ । यस्ता चलचित्र इतिहासमा साह्रै थोरै बन्छन् । तिनै थोरै बन्ने चलचित्रको नेपाली पंक्तिमा रहेको चलचित्र भएकाले पनि चलचित्र भीमदत्त हेर्नुपर्छ । सभ्य समाजमा एउटा प्रश्न गरिन्छ, तिमीले कुन कुन चलचित्र हेरेका छौं ?, नेपाल पनि एक सभ्य मुलुक भएकाले यहाँ यो प्रश्न जायज हुन्छ । यसरी सोध्दा, कसैले चलचित्र भीमदत्त हेरेको छैन भन्नु पर्यो भने त्यो उसका लागि गौरवको विषय हैन, ग्लानीको विषय बन्ने छ ।
बलिउडमा एउटा भनाइ छ, जसले चलचित्र शोले हेरेको छैन, उसले कुनै हिन्दी चलचित्र नै हेरेको छैन । यस्तै हलिउडमा पनि भन्ने गरिन्छ, जसले चलचित्र टाइटानिक हेरेको छ्रैन, उसले कुनै अंग्रेजी चलचित्र नै हेरेको छैन । यदि यही नै सत्य हो भने कारण फरक होला तर एउटा कुरा भन्ने निसन्देह भन्न सकिन्छ, जसले चलचित्र भीमदत्त हेरेको छैन, उसले नेपाली चलचित्र नै हेरेको छैन । यही सन्दर्भलाई जोडेर नेपाली चलचित्र पत्रकार या समीक्षकका लागि पनि यसो भन्न नसकिने हैन, जसले चलचित्र भीमदत्तका बारेमा लेखेको छैन, ऊ नेपाली चलचित्र पत्रकार या समीक्षक नै हुन सक्दैन । किनकि, चलचित्र भीमदत्त अब कुनै आयाराम गयाराम चलचित्र रहेन । आगे उनीहरु नै जानुन् ।















प्रतिक्रिया