२८ आश्विन २०८३, बुधबार

एघारजना हात्तीपाइले रोगबाट प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hattipaileम्याग्दी, १८ फागुन । म्याग्दी जिल्लाका विभिन्न गाविसमा गरिएको सर्वेक्षणमा ११ जनालाई हात्तीपाइले रोगको जीवाणु देखिएको तथ्याङ्क सार्वजनिक भएको छ ।

हात्तीपाइले रोग निवारण अभियान २०७१ अन्तर्गत म्याग्दीमा सञ्चालन गरिने अभियानका बारेमा जानकारी गराउन आइतबार गरिएको कार्यक्रममा खुट्टा सुन्निएका बेगखोला दुई, हिस्तान एक, हाइड्रोसिल मल्कवाङ एक, घार तीन, रत्नेचौर एक, पुलाचौर दुई र हात–स्तनमा एक गरी एघार जनामा हात्तीपाइलेको जीवाणु देखिएको जिल्ला अस्पताल म्याग्दीकी निमित्त प्रमुख चिकित्सक हेमा जोशीले बताउनुभयो ।

पत्रकारसँग गरिएको अन्तरक्रिया कार्यक्रममा कुल जनसङ्ख्याको करिब २.३३ प्रतिशत जनसङ्ख्या प्रभावित भएको सार्वजनिक गरिएको थियो ।

जनस्वास्थ्यका अनुसार एक प्रतिशतभन्दा बढीमा जीवाणु देखिएमा जिल्लालाई जोखिम जिल्लाका रुपमा लिइन्छ । कुल जनसङ्ख्या एक लाख १२ हजार ४३९ जनसङ्ख्यामध्ये २ वर्षमुनिका बालबालिका, गर्भवती, गम्भीर बिरामी र ज्येष्ठ नागरिकबाहेकलाई करिब एक लाख जनसङ्ख्यालाई औषधि खुवाउने लक्ष्य रहेको छ ।

अभियानअन्तर्गत बेनी नगरपालिका र ३५ गाविसमा औषधि खुवाउन ८३४ स्वयम्सेविका र १५० स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

विगत ६ वर्षदेखि नियमित खुवाउँदै आइरहेको औषधिबारे गलत भ्रम फैलिएकाले केही वर्ष सामान्य समस्या देखिए पनि पछिल्ला वर्षमा भने लक्ष्यअनुसार नै खुवाइएको छ ।

आगामी फागुन २३, २४ र २५ गते औषधि खुवाउँदैछ ।

अन्तरक्रिया कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसी, मेडिकल कोअर्डिनेटर डा घिरेन्द्र मल्ल, पत्रकार महासङ्घका अध्यक्ष सुरत केसी, नागरिक समाज म्याग्दीका संयोजक सुर्दशनकुमार श्रेष्ठलगायत उपस्थिति थियो ।