जिलोङ, अष्ट्रेलिया । अष्ट्रेलियाको जिलोङमा आयोजित देशकै सबैभन्दा ठ्लो मानिने पाको फेस्टा साँस्कृतिक महोत्सवमा नेपाली संस्कृतिको प्रदर्शन गरिएको छ ।
अष्ट्रेलियामा नेपाली संस्कृतिको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले जिलोङ नेपालीज एशोसियशनको पहलमा नेपाली संस्कृति झल्किने प्रदर्शनहरु गरिएको हो । बहुभाषिक र बहु–सांस्कृतिक देशको रुपमा परिचित अष्ट्रेलियाको जिलोङमा सबैभन्दा ठूलो महोत्सबको रुपमा मानिने पाको फेस्टामा नेपालका प्रख्यात कला संस्कृति प्रदर्शन गरिएको थियो ।
फेस्टाको मूल आयोजक डाभर्सिटाटले आफूसंग आबद्ध भएका जातीय संस्था र संगठनहरुको सहभागितामा एक लाखभन्दा बढी सहभागीहरुलाई आ–आफ्नो सांस्कृतिक चाल–चलन, रीति–रिवाज, खान–पान आदिको निरन्तरता र प्रचार प्रसारलाई प्रोत्साहन गर्दै नाच–गान, कार्यशाला गोष्ठी, प्रदर्शन जस्ता बिबिध कार्यक्रम सहित १९८३ बाट शुरु गरिएको महोत्सबको ३३ औं बार्षिकी भब्यताका साथ मनाएको छ ।
फेस्टामा जिलोङ नेपालीज एशोसियशनले २०१३ देखि नेपाली संस्कृति प्रदर्शन तथा प्रवद्र्धन गर्दै आइरहेको छ । महोत्सबमा वरिपरिका शहरबाट नेपालीहरु आएर सहभागी हुँदै यो बर्ष पनि कार्यक्रममा नेपाली समुदायले सहभागिता जनाएर नेपालको प्रबर्द्धन गर्ने काम गरेका छन् ।
सहभागीहरुले नेपाली झल्काउने किसिमका पहिरन, नेपाली झन्डा, ब्यानर, मार्फत परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउने गरी प्रदर्शन गरेका थिए ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यका मुख्य मन्त्री डानियल आन्ड्रयू (Premier of Victoria Daniel Andrews) ले नेपाली समुदायसंग भेट गरी संस्थाका अध्यक्ष रामकुमार श्रेष्ठसंगको कुराकानीका क्रममा अष्ट्रेलियाकै ठुलो मानिने यस बहु सांस्कृतिक महोत्सबमा नेपाली समुदायको यस किसिमको सक्रिय सहभागितामा खुशी ब्यक्त गर्दै धन्यवाद दिनुभएको थियो ।
गत बर्षको पाको फेस्टामा सक्रिय रुपमा भाग लिने मोस नेपाल अष्ट्रेलिया २०१२ दीपाश्री शाह, मिस्टर नेपाल अष्ट्रेलिया २०१४ अनुपम ध्वज किरण, जोन योन्जन, मधेसी कम्युनिटी इन भिक्टोरिया, परिभाषा श्रेष्ठलाई र लुम्बिनी–कपिलवस्तु दिवस अभियानका लागि बिद्यार्थी दूतका रुपमा नियुक्त गरिनु भएकी आर्य पोखरेललाई अष्ट्रेलियाका पूर्व मन्त्री रिचार्ड मार्ल्स (Richard Marles) भिक्टोरिया राज्यका लागि जिलोग हेर्ने सांसद क्रिस्टिन कोउजिन्स (Christine Couzens) र ग्रेतर जिलोङका काउन्सिलर एड्डी कोन्टेल्ज (Eddy Kontelj) ले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।
‘गैरी खेतको सिरै हान्यो’ गीतको बोलमा निशा राजभण्डारीले र चिया बारीमा गीतको बोलमा नेपाली बोल्न नजान्ने स–साना ग्रेस शेर्पा मापलेसन र स्कारलेट शेर्पा मापलेसन (Grace Sherpa Mapleson, Scarlett Sherpa Mapleson) ले नाच प्रस्तुत गरेका थिए ।
पाको फेस्टा अष्ट्रेलियाको भिक्टोरिया राज्यको प्रमुख बहु-सांस्कृतिक महोत्सबको रुपमा लिने गरिन्छ । गत पाँच बर्षदेखि यो कार्यक्रममा सहभागीहरुको संख्या एक लाखभन्दा बढी हुने गरेको छ भने यस महोत्सबले उक्त एक दिनमा नै करीब पच्चीस लाख अष्ट्रेलिया डलरको योगदान स्थानीय बजारमा दिने अनुमान गरिएको छ । कार्यक्रममा पूर्व सांसद केशब नेपालको पनि सहभागिता थियो ।
















प्रतिक्रिया