११ कार्तिक २०८३, बुधबार

वार्तामा नआए एमाओवादी मोर्चालाई धेरै समय पर्खने छैनौं : प्रधानमन्त्री कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले वार्ताद्वारा नै संविधान निर्माणलगायत मुलुकका सामु रहेका सबै राजनीतिक समस्याको समाधान हुने बताउनुभएको छ ।

प्रधानमन्त्री कोइरालाले नेपालगन्जको अन्तराल समूहले राजधानीमा आयोजना गरेको बिपीको ऐतिहासिक फोटो प्रदर्शनी यात्राको प्रधानमन्त्री निवास बालुवाटारमा शुभारम्भ गर्दै संविधानका लागि सबै दल सहमतिमा आउनुपर्ने बताउनुभएको हो ।

एमाओवादी मोर्चा वार्तामा नआए धेरै समय नकुर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो-‘जनतालाई संविधान दिने दायित्व पूरा गर्न हामी कुनै कसर बाँकी राख्ने छैनौं, यदी एमाओवादी वार्तामा नआए हामी दायित्वबाट पन्छिने छैनौं ।’

‘वार्तामा बसौँ, छलफल गरौँ,’ प्रधानमन्त्री कोइरालाले संविधान निर्माणबारे अत्यन्त विश्वासका साथ भन्नुभयो, ‘छलफलद्वारा नै समस्याको निदान र समाधान निस्कन्छ ।’

सो अवसरमा प्रधानमन्त्री कोइरालाले राजनीतिक दलहरुका बीचमा वार्ता भइरहेको पनि बताउनुभयो । प्रधानमन्त्री कोइरालाले भन्नुभयो, ‘हामी मुलुकमा संविधान दिने तयारीमा छौँ । संविधान निर्माणसँगै हामी मुुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्रको संस्थागत विकास र आर्थिक विकासमा लागेका छौँ ।’

कार्यक्रममा प्रधानमन्त्री कोइरालाले जननायक बिपी कोइरालाले प्रतिपादित गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नीति सर्वकालीक रहेको पनि उल्लेख गर्नुभयो । उहाँले जननायक बिपीको सङ्घर्षमय जीवन नेपाली काँग्रेसका कार्यकर्तासहित समस्त राजनीतिकर्मीका लागि पनि प्रेरणादायी रहेको बताउनुभयो ।

उहाँले भारतीय स्वतन्त्रता सङ्ग्राममा भाग लिएर भारतमा समेत जेलनेल भोग्नुभएका जननायक बिपी कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापना र विकासको नेतृत्व गर्दा जेलनेल र प्रवासको सजाय भोग्नुपरेको घटना पनि स्मरण गर्नुभएको थियो ।

प्रधानमन्त्री कोइरालाले नेपाली काँग्रेसले उहाँको दूरदर्शी नीति र कार्यक्रमलाई नै अबलम्वन गर्दै आएको पनि बताउनुभयो । “हामी सफल भएका छौँ । प्रजातन्त्रका मूल्यमान्यता र आदर्शका लागि बलिदान दिएका छौं”, कोइरालाले भन्नुभयो, “नेपाली काँग्रेसका नेता कार्यकर्ताले सहादत दिएका छन् । त्यसैले हाम्रो टाउको कहिल्यै निहुरिएको छैन ।”