
कर्मचारीहरुसँग सभ्य बोली र व्यवहार छैन । दिक्क लाग्दो कार्यकक्ष, धुलो फोहोर भरिएर, रंग खुइलिएका, चाबी उखेलिएका दराजहरु कठै ! फायलहरु भुइँमा असरल्ल । एउटा डेस्कटप कम्प्युटर धुलाम्मे भएर निकै लज्जित मुद्रामा थियो । हतकडी लगाएर लस्करै ल्याएका कैदीहरुको सुरक्षा, गोपनियताको त कुरै नगरौं, भर्याङका सिँढीमा, रेलिङमा जेलिएर बसेका छन् ।
एउटा संस्था दर्ता गर्नु थियो । आफूले पनि कार्यालय छाड्नुपर्ने हुँदा बल्लबल्ल समय मिलाएर संस्थाका पदाधिकारीहरुसँगै हामी जिल्ला प्रशासन कार्यालय पहिलो प्रहरमै पुग्यौं । यसै पनि टोल तथा बस्तीमा आइपरेका सामाजिक समस्या, विकास, निर्माण, सामाजिक विषयहरुका काम गर्नु नै थियो, स–साना उपभोक्ता समूहमार्फत गरिरहेका पनि थियौं । तर पनि सामाजिक आनीबानी र व्यवहार भएका धेरै टोलबासीहरुका बीचमा सबै एकै समूहमा आवद्ध भई सामाजिक कामहरु गरौं र हाम्रो कामलाई राज्यप्रशासन मार्फत पनि संस्थागत गरौं भन्ने लाग्यो र संस्थाको स्वरुप दिने निधो भएको थियो ।
कामको त के कुरा भयो र ? एउटा गैरसरकारी संस्था त्यो पनि समुदायस्तरबाट दर्ताको लागि प्रयत्न गरेको । संस्थामा कुनै गन्यमान्य, राष्ट्रिय व्यक्तित्व तथा ठूलाठालुहरुको उपस्थिति छैन । समुदायका सामान्य मानिसहरुले समुदायमा हिजोअस्ती पनि गरिरहेकै काम भोलिका दिनमा संस्थागत, विधिवत हुनेगरी कानूनी हैसियतमा रहनेगरी मञ्जुर भएर संस्था दर्ताको प्रक्रिया गरेका थियौं र पुगेका थियौं, बिहान १०ः१५ बजे । संस्था दर्ता शाखामा त्यतिबेला जम्मा १ जना कर्मचारी भेटियो । अर्को कर्मचारीले मात्रै फायल हेर्नुहुने रहेछ । त्यही भएर कर्मचारीहरुको पखाईमा बस्यौं केही समय । १५ मिनेटपछि एकजना कर्मचारी आइपुग्नुभयो । हामी सबैभन्दा पहिले पुगेका थियौं । सेवाग्राहीको आगमन निकै भइसकेको थियो । कर्मचारी जम्मा २ जना । त्यही माथि चिनेजानेका जस्तो सम्बन्ध राख्दै आउनेको काम र अलिक ठूलो स्वरले बोल्नसक्नेको काममा लागे जस्तो गर्न थाले कर्मचारी । बिस्तारै अलङटलङ गर्दै आफ्नै कार्यकक्षमा दराजमा कोचाकोच, भुईँमा अलपत्र फायलहरुलाई छुन समेत सिकसिको लाग्दै खोजेको झैं गर्दै थिए ती कर्मचारी । किनकी दुइजना मानिसहरु २०६४ सालको रेकर्ड (सुने बमोजिम उहाँहरुको कुनै संस्थाको विधान) खोजिदिन भन्दै आग्रह गर्दै थिए । तर खोजेको जस्तो गरियो, खोजिएन, दराजतिर छुँदै छोइएन कर्मचारीले । यसो जिउ र आँखासम्म तन्काए र भने – अहँ भेटिन्न, छैन, २०६४ सालको रहेछ, कहाँ पाउनु । अचम्म ! जहाँ दर्ता, नवीकरण र संस्थागत प्रक्रिया हुन्छ, त्यहाँ कुनै अभिलेख छैन, भेटिन्न । स्वयं दर्ता गर्नुहुने कर्मचारीले नै भन्नुभयो । ओहो ! हामी यत्रो समय र परिश्रम खर्चेर आएका छौं, यसको कुनै लेखाजोखा हुँदैन भने किन दर्ता गर्नुपर्ने होला ? मन उकुसमुकुस भयो । राजधानीको जिल्ला प्रशासनमा अभिलेख भेटिन्न, छैन निर्धक्क भन्ने गरिन्छ जम्मा करिब ६ वर्ष अगाडि मात्रै दर्ता भएको संस्थाको ।
दिक्क लाग्दो कार्यकक्ष, धुलो फोहोर भरिएर, रंग खुइलिएका, चाबी उखेलिएका दराजहरु कठै ! फायलहरु भुइँमा असरल्ल । एउटा डेस्कटप कम्प्युटर धुलाम्मे भएर निकै लज्जित मुद्रामा थियो । एकदम सकसक लाग्यो त्यो कम्प्युटरको धुलो पुछेर चलाई हेर्न त कहिले ती कर्मचारीहरुको अलङटलङ आलस्यता देखेर आफैले फटाफट काम गर्न । होइन कति गाह्रो काममा लाग्न बाफरे । बल्ल बल्ल निहुरिएको देखियो एक जना कर्मचारी, अब फायलहरु उठाउनुहुन्छ होला भन्ठानेको त जारबाट पानी सार्न पो रहेछ । बिस्तारै पानी सारेर बिस्तारै पानी पिएपछि झ्यालतर्फ फर्केर सेवाग्राहीतर्फ पीठ फर्काउनुभयो ती कर्मचारीले । बिस्तारैअघि शुरुमै आएर बसिरहेका कर्मचारीले काम अ¥हाउनुभयो बल्ल यसो यसो गर भनेर ।
ओहो ! कस्तो सुस्तता ! सरकारी कार्यालयहरु सबै यस्तै त हुन् नी, पछाडि कसैले भने । भनेको स्याबास भन्न मनलाग्यो । कमसेकम कसैले भनेर भएपनि मेरो मनको छटपटीलाई समर्थन भएको थियो । ‘यो फाराम ४ प्रति फोटोकपी गरेर ल्याउनु’ बल्ल बोलीफुर्यो , तर कसलाई भनेका होलान् भन्ने लाग्यो, चुपै लागेर बस्यौं, त्यति नै बेला त्यस्तै फाराम भरिएको फायल हाम्रो फायलसँगै टेबलमा देखेपछि सोध्यौं । बल्ल थाहा भो, हामीलाई नै भनिएको रहेछ । त्यो टिप्पणी फाराम थियो जिल्ला प्रशासन प्रमुखलाई सम्बोधन गरी कर्मचारीले भर्ने र सदर गर्ने । फोटोकपी एउटा चाहिएको रहेछ, ३ वटा कर्मचारीले आफ्नो टेबलको घर्रामा राखे । रिस र दुःख एकैचोटी लाग्यो । शुरुका कर्मचारीले काम शुरु गरे बल्ल । कार्यकक्षमा तेस्रो कर्मचारीको पनि प्रवेश भयो बल्ल । पौने एघार बज्यो घडीमा । टिप्पणी फाराम भरियो, अर्को कोठामा जानु भने बमोजिम गयौं, फायल पेश गर्यौं । अरू कोही कर्मचारी र सेवाग्राही थिएनन् । प्रशासकीय अधिकृत हुनुहुँदोरहेछ ।
उहाँले फायल दिनेबित्तिकै भन्नुभयो – जानुस्, एक घण्टा लाग्छ, यहाँ नबस्नुस् । एकघण्टा लाग्छ र भन्ने प्रश्न खस्न नपाउँदै उहाँले भन्नुभयो– ‘अझै वढी लाग्नसक्छ, यत्रो पन्ना पढ्नुपर्छ जानुस्’ ।
बाहिर कहाँ बस्ने ? के मा बस्ने ? बस्ने बेञ्च एउटा थियो त्यो पनि बाटैमा भएको रेलिङमा । एकछिन बस्न मात्रै खोजेको शौचालयको चरम दुर्गन्ध र मानिसहरुको बाक्लो ओहोरदोहोर देखेर बस्नै सकिएन ।
अधिकृतज्यूको कक्षमा खाली सोफाहरु हाँसिरहेका थिए, हामीलाई बाहिर धपाईएको थियो । भवन बाहिर निस्क्यौं, कहीँ, कतै बस्ने ठाउँको व्यवस्था थिएन । फुङ्ग, फुस्रो भुईं, जताततै सेवाग्राही मानिसको ताँती, र यताउता भौंतारिरहेका परिस्थिति मात्र । एकछिन चिया (बसिबियाँलो चिया) खाँदै बस्न प¥यो भनेर भवनको एक छेउमा ठाउँ देखेर बस्न गयौं, मतदाता नामावली संकलनको लागि स्थान रहेछ । त्यो सँगै रहेको पल्लोपट्टी एउटा पसलसँगै खाली बेञ्चहरु देखेर बस्यौं र चियाको लागि भन्यौं । तर पसलमा रहेका एकजना सज्जन महिलाले रुखो गरी भन्नुभयो– ‘चिया खाने भए यहाँ होइन, पल्लोपट्टी जानुस् । यहाँ चिया पाइंदैंन ।’ भनाईसँग चिया पाइंदैंन मात्र होइन बस्न पनि पाइंदैंन भन्ने तात्पर्य प्रष्टै थियो । त्यसपछि पल्लोपट्टी गयौं, पल्लोपट्टी पसलमा बाक्लै मानिसहरु थिए, चिया, पानी, नास्ता खाइरहेका । शायद हामी जस्तै कतै त कतैका फाँटबाट यसैगरी धपाईएका त होलान् नी। त्यही भएर यहाँ बस्ने परिस्थिति खडा भएका । यसो ढोकाबाट हेर्नेबित्तिकै रङ्गीचङ्गी खानेकुराहरु खुल्लै थिए ।बस्नलाई ठाउँ नै थिएन । मानिसहरु हातहातै खाइरहेका थिए त्यो हप्प खाजा पसलमा । त्यसपछि हामीले भवनको प्राङ्गण पनि छाड्यौं, एक घण्टा गुजार्नु थियो र जिल्ला प्रशासन बाहिरै नजिकै कतै चिया पसलको खोजीमा गयौं ।
करिब सबा घण्टा बिताएर हामीले फायल बुझाएको कार्यकक्षमा गयौं । हाम्रो फायल हेरिएको पनि थिएन । पुगेको केही क्षणपछि उहाँ आफैले फायल हेर्नुभयो र भन्नुभयो: ‘यत्रो उद्देश्य किन राखिएको हो ?, राष्ट्रले गर्ने सबै काम गर्ने हो ?’ हामीले भन्यौं – अब काम गर्न प्रयत्न गर्ने न हो, तपाईहरुलाई ठीक लागेन भने काटिदिनुस् । फायल पल्टाइयो, हेरियो अनेकानेक भन्नुभयो, फेरि फर्काएर लैजानुस्, ढाँचामा ल्याउनुस् भन्नुभयो । हामी यसबखत यही एउटै कामले तेस्रोपटक आएका थियौं ।
हामीले भन्यौ: यत्रोपटक आएको बेलामा के हेर्नुभयो ? शुरुमै सबै कुरा भनिदिएको भए यो तेस्रोपटक पनि फेरि फर्कनुपर्ने थिएन । पहिलोपटक जाँदा अर्को हप्ता आउनुस् मात्र भनियो, दोस्रोपटक जाँदा बिधानमा यी यी विषय थपघट गर्नु भनेर फर्काइयो र तेस्रोपटक जाँदा भने बमोजिम सच्याएर गएका थियौं, त्यसकारण हामीलाई आज नफर्काउनुस् भन्यौं ।
त्यसपछि फायल पुग्यो, सहायक प्रमुख जिल्ला अधिकारीको कक्षकोठामा । कोठा शून्य थियो । सहायक प्रमुखज्यू समक्ष फायल पेश गर्यौं । उहाँले फायल लिनुभयो र रूखो बचनका साथ बाहिर बस्नुस् समय लाग्छ भन्नुभयो । त्यहाँ टेबलमा काम केही थिएन, कोठामा अरु कोही थिएन । कोठामा टन्न थियो सोफासेटहरु ।
हामीमध्येका संस्थाका अध्यक्षज्यूले भन्नुभयो, धेरै समय लाग्दैन होला हजुर, यतै बस्न हुन्न र ? ओहो घमण्ड र सनक छुट्यो उहाँको – “हुन्न, हुन्न, हुन्न । बाहिर बाहिर । बाहिरै बस्नुस् ।” बाफ रे ! सरकारी अधिकारीको रवाफ । फनन्न रिस उठ्यो हामीलाई । एकैछिन त प्रमुख जिल्ला अधिकारीलाई आज बिहानदेखि हामीले देखे भोगेको एकदिन भरिको कथा सुनाउन जाऊँ झैं भयो, अर्को मनले फेरि यस्ता कुराको के प्रभाव पर्ला र, फेरि हामीलाई पनि काम फत्ते गरेर कहिले जिल्ला प्रशासनको यो निस्सासिँदो वातावरणबाट मुक्त होउँ भइरहेको थियो । हामीले थाम्यौं र समय पर्खेर बस्यौं । त्यतिञ्जेल उनको कोठामा कार्यालयका अन्य कर्मचारीहरु ओहोरदोहोर गरे, कोही त्यहीँ सोफामा बसेर गफ गर्दै थिए । धन्न शुरुमा जस्तो घण्टौं बस्नुपरेन । तर पनि १५/२० मिनेट हामी झ्यालमा आड लर्गार उभिएरै पर्खियौं । बस्ने त ठाउँ भए पो ।
भित्रैबाट आवाज सुनियो उहाँको– ‘ए जाऊ त तिनीहरुलाई बोलाऊ ।’ जंगली सामन्ती शासकले भारदारहरुलाई अर्हाए सरह आफ्ना कुनै कर्मचारीलाई अर्हाउँदै थियो । प्रशासनको सहायक प्रमुख जस्तो व्यक्तिबाट निस्केको त्यो अभिव्यक्तिले निकै लज्जित महसुस भयो । अध्यक्षज्यू र उपाध्यक्षज्यू भन्दै हुनुहुन्थ्यो – “बाहिर जिल्लातिर त सेवाग्राहीलाई सेवा मात्रै होइन आतिथ्यता पनि निकै न्यानो हुन्छ बहिनी । काठमाडौमा यस्तो स्याल, कुकुर जस्ता ठाने हामी सेवाग्राहीलाई । के ठानेका छन् यिनले, हामी जस्तै जनताको राजश्व पचाउन र सेवा दिन बसेका होइनन् ? के उहाँहरुबाहेक यहाँ सेवा लिन आउने व्यक्तिहरु सुझबुझपूर्ण हुँदैनन् भन्ने सोचेका ? जाऊँ हिँड्नुस् सिडिओलाई भेटौं र भनौं, बरु हाम्रो काम केही ढिला भए होस् ।”
फेरि हामीले समीक्षा गर्यौं– हाकिमहरु त यस्ता भेटिन्छन्, अनि मुखिया, खरदार, सुब्बाहरुले जनताप्रति गर्ने व्यवहार कहाँ सभ्य हुन्छ ? सिक्ने यिनैबाट त हो नि । बल्ल कामको टुङ्गो लाग्यो तर प्रमाणपत्र किन्न पठाए । जिल्ला प्रशासन कार्यालयले संस्था दर्ता भएको भनेर दिने प्रमाणपत्र पनि तल खरिद गर्नै पठाए । फाँटका कर्मचारीले ठूलो ढड्डा माइन्युटमा हाम्रो फायलको विवरणहरु लेखिसकेपछि हामीलाई नै दिइयो, पल्लो कोठामा दस्तखतको लागि । एउटा तर्क न हो, लाग्यो – ‘यो ढड्डा दुषित मनसायले गायब बनाइदिए के हुन्छ ? सयौं संस्थाहरुको विवरण र स्थापनाको स्वीकृति भएको यो ढड्डा किन मलाई दिइयो ? यो त मेरो हातमा छ, मैले यो फिर्ता नगर्दा पनि त हुन्छ नि । हाकिमबाट पनि स्वीकृत भैसक्यो ।’ हो नि यस्ता माइन्युट, ढड्डा र फायलहरु कार्यालयका विश्वसनिय कर्मचारीहरुले एकबाट अर्कोतिर ल्याऊ लैजाउ गर्नुपर्ने होइन र ? कुत्सित भावनाले जे पनि त गर्नसक्छ, ऊसै त अभिलेख पाइन्न छैन भनिन्छ, यो होसियारीको हेक्का किन भएन जिल्ला प्रशासनका कर्मचारी र अधिकारीहरुलाई ? होइन भने सेवाग्राहीहरुप्रति विश्वासको आड यति बलियो लागेको हो भने यतिविध्न दुःख किन दिएको ? प्रशासन समक्ष राज्यको कानूनलाई स्वीकार्दै अगाडि वढ्न मञ्जुर भएर आएकाहरुमाथि किन दरिद्रपनको प्रदर्शन ??
शौच लाग्यो, सोध्यौं भवनभित्र होइन रहेछ शौचालय । भवन बाहिर पछाडिपट्टि । त्यो पनि पालो पर्खेर अनि पैसा तिरेर मात्रै । सेवाग्राहीको त्यत्रो भीड लाग्ने ठाउँमा पनि महिला र पुरुष गरी जम्मा एउटा/एउटा मात्र शौचालय !
ओहो कुन् कुन् कुराको बयान लेख्ने ? हतकडी लगाएर लस्करै ल्याएका कैदीहरुको सुरक्षा, गोपनियताको त कुरै नगरौं, भर्याङका सिँढीमा, रेलिङमा जेलिएर बसेका छन् । राहदानी, नागरिकता वितरण तथा राजश्व बुझाउने फाँटमा घाम, पानीको ओत छैन । धुलो खाएरै पंक्तिबद्ध छन् मानिसहरु । पार्किङ छैन । पिउने पानी छैन । शौच गर्ने पर्याप्त शौचालय छैन । कार्यालयले व्यवस्था गर्नुपर्ने फाराम, प्रमाणपत्र, कागजात कार्यालयले दिन सक्दैन । अभिलेख व्यवस्थित छैन । कर्मचारीहरुसँग सभ्य बोली र व्यवहार छैन ।
बाफ रे ! एकदिनको यो कथा भनिरहँदा हामी १०ः१५ बजे यही कामको लागि तेस्रोपटक पुगेको दिन कार्यालयबाट निस्कँदा २ बजिसकेको थियो । धन्न खाजा खाने समय भयो भनेर अर्को एक घण्टा ‘काम बन्द’ को पर्खाई भोग्नु परेन । जय हाम्रो जिल्ला प्रशासन !
लेखिका एमाले काठमाडौँकी युवा नेतृ हुन् ।













प्रतिक्रिया