पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसका दिन दिएको शुभकामना सन्देशमा ०६३ वैशाख ११ गते सात दलसँग भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेका छन् । तर, सात दलसँग पूर्वराजा ज्ञानेन्द्रले के–के सहमति गरेका थिए भन्ने कुरा वक्तव्यमा खुलाइएको छैन । ०६३ साल वैशाख ११ गते आन्दोलनरत सात दलसँग वार्ता गरेपछि तत्कालीन राजा ज्ञानेन्द्रले विघटित प्रतिनिधिसभाको पुनस्र्थापना गरेका थिए । त्यसपछि बसेको प्रतिनिधिसभाको बैठकले ०६५ साल जेठ १५ गते अन्तरिम संविधान जारी गर्दै राजतन्त्रको अन्त्य र गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्र घोषणा भइसकेपछि नारायणहिटीमा पत्रकार सम्मेलन गरेर ‘जनताको निर्णय’ भन्दै नागार्जुन बसाई सरेका उनले अहिले आएर सहमतिको कुरा किन निकाले भन्ने कुरा राजनीतिक वृत्तमा छलफल र चर्चाको विषय बनेको छ ।
०६२/०६३ को आन्दोलन, नयाँदिल्लीमा भएको १२ बुँदे सहमति आदिलाई फर्केर हेर्ने हो भने ००७ साल, ०४६ साल र ०६५ सालमा भएको राजनीतिक परिवर्तन राजा र दलहरुबीचको सहमतिबाटै भएको देखिन्छ । तर, ०६५ सालमा सात दल र तत्कालीन राजा ज्ञानेन्द्रबीच पक्कै पनि राजतन्त्र फाल्ने कुरामा सहमति भएको थिएन होला । किनभने ०६३ साल वैशाख ११ गते प्रतिनिधिसभा पुनस्र्थापना भइसकेपछि गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीको शपथ पनि पूर्वराजा ज्ञानेन्द्रले नै खुवाएका थिए । त्यसपछि कोइरालाले कहिले ‘बेबि किङ’ त कहिले ‘कल्चरल किङ’ भनेर भन्दै आएका थिए । त्यति मात्र होइन, माओवादी नेता डा. बाबुराम भट्टराईले समेत सांस्कृतिक राजाको चर्चा गरेका थिए । नेपालमा भएको यति ठूलो राजनीतिक परिवर्तनमा पूर्वराजा ज्ञानेन्द्रको अहम् भूमिका हुँदाहुँदै पनि संविधानसभाको पहिलो बैठकबाटै नेपालबाट राजतन्त्र कसरी अन्त्य भयो ? यस प्रश्नको जवाफ पूर्वराजा ज्ञानेन्द्रसँग पनि छैन ।
दोस्रो पटक निर्मलनिवासमा भेट्दा मैले पूर्वराजा ज्ञानेन्द्रसँग जिज्ञासा राखेको थिएँ– सरकार, तपाईं र सात दलबीच सहमति नभएको भए, नेपालमा यति ठूलो राजनीतिक परिवर्तन सम्भव थिएन, देश दोहोरो भीडन्तमा जाने थियो, रक्तपातपूर्ण स्थिति आउन सक्थ्यो । तर, तपाईंले त्यो बाटो त्यागेर सहमतिको बाटो रोज्नु भयो । सात दलसँग तपाईंको सहमतिले नेपालमा गणतन्त्र स्थापना त भयो । तर, तपाईंले आफ्नो ‘स्पेश’ नै नराखी किन सहमति गर्नुभयो ? पूर्वराजा ज्ञानेन्द्रले जवाफ दिए– धोका भयो ? मैले सोधे– कसले धोका दियो ? उनले भने– गिरिजाले । फेरि मैले कोट्याए– माधव नेपालसँग सम्पर्क भएन ? उनले भने अहँ भएन । त्यसपछि फेरि मैले सोधे– गिरिजाले कसरी धोका दिए त ? उनले भने– संविधनसभाबाट गणतन्त्र घोषणा हुनु दश/बाह्र दिन अगाडिसम्म गिरिजाप्रसाद कोइराला मेरो नियमित सम्पर्कमा थिए । उनले पशुपतिभक्त महर्जनमार्फत् कुरा मकहाँ पुर्याउँथे । जब उनले म सँग सम्पर्क टुटाउन खोजे, त्यसपछि मैले पशुपतिभक्तलाई गिरिजासँग भेट्न भने । पशुपतिले पनि धेरै प्रयास गरे । तर, गिरिजाले भेट्न मानेनन् । संविधानसभाको पहिलो बैठकबाटै राजतन्त्र अन्त्य गर्न विदेशीहरुले गिरिजालाई ठूलै दबाब दिएका थिए । त्यो कुराको सुइँका पाएरै पूर्वराजा ज्ञानेन्द्रले आफ्ना प्रमुख सचिव पशुपतिभक्तलाई बालुवाटार पठाएका थिए । तर, अन्तिम समयमा गिरिजाप्रसाद कोइरालासँग पूर्वराजा ज्ञानेन्द्रको के सहमति भएको थियो भन्नेबारे उनले कुरा खोल्न चाहेनन् ।
मैले फेरि कोट्याएँ– सरकार, करन सिंहसँग त केही सहमति भएको थियो होला नि ? उनले गम्भीर हुँदै भने– ‘अहँ त्यस्तो केही सहमति भएको थिएन । उनी भारतीय प्रधानमन्त्री मनमोहन सिंहका दूत भएर मलाई भेट्न आएका थिए । उनले नेपालमा शान्ति, स्थिरता र लोकतन्त्रका कुरा राखे । मैले त्यो कुरामा सहमति जनाए । बालुवाटारमा पाकिस्तानका पत्रकारहरुसँग गिरिजाप्रसाद कोइरालाले ‘बेबिकिङ’को कुरा गरेको तथ्यलाई केलाउने हो भने, ज्ञानेन्द्र र गिरिजाको बीच मौखिक सहमति भएको निष्कर्ष निकाल्न सकिन्छ । तर, पछि गिरिजा आफैं राष्ट्रपति बन्ने लोभमा फसेको कारण उनले राजसंस्था नै सिध्याए । नेपालमा गणतन्त्र स्थापना भएको पनि आठ वर्ष बितिसकेको छ । संविधानसभाको निर्वाचन पनि दुई पटक सम्पन्न भइसकेको छ । तर, संविधान कहिले बन्छ भन्ने कुराको टुंगो अहिलेसम्म छैन ।
हिजो राजा फाल्न एकजुट भएका सात राजनीतिक दलमध्ये माओवादी र मधेसवादी दल एकातिर, कांग्रेस, एमाले अर्कोतिर फर्किएको अवस्था छ । संविधानसभामा कुनै एक दलको पनि दुईतिहाइ बहुमत छैन । सहमतिबाट संविधान जारी गर्न संविधानसभामा उपस्थित सबै ठूला दलबीच सहमतिको खाँचो पर्छ । त्यसो नभई बहुमतीय प्रक्रियाबाट संविधान जारी गरिने हो भने, फेरि पनि माओवादी, मधेसवादी बाहिर पर्छन् । हिजो द्वन्द्वरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि कांग्रेस–एमालेले संविधानसभा स्वीकारेका हुन् । शान्ति प्रक्रिया हुँदै संविधानसभाभित्र प्रवेश गरेको माओवादी फेरि त्यो प्रक्रियाबाट बाहिरिने हो भने देशमा स्थायी शान्ति स्थापित हुन सक्दैन । किनभने माअोवादी र मधेसवादीले राज्यको पुनर्संरचनामा जातीय मुद्दा घुसाइसकेका छन् । हिजो १२ वर्ष गणतन्त्र स्थापना गर्ने नाममा सुरु भएको ‘जनयुद्ध’ मा १६ हजारको ज्यान गयो भने भोलि देशमा सल्किने जातीय युद्धले कतिको ज्यान जाने हो ठेगान छैन । यस्तो अन्यौलपूर्ण अवस्थामा आएको पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यले नागरिक बन्ने स्वयं ज्ञानेन्द्रको चाहनामा तातोपानी खन्याउने त छैन ? किनभने, नारायणहिटी छाडेर हिंड्दा उनले देश नछाड्ने बरु देशभित्रै नागरिक भएर बस्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।














प्रतिक्रिया