न्युयोर्क, अमेरिका । अमेरिकी लेखिका तथा नाट्यकर्मी हिदर हार्पमले आफ्नो प्रस्तुतीबाट अमेरिकाका न्युयोर्कवासीको मन जितेकी छिन् ।
न्युयोर्कवासी नेपाली महिलाहरुले फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय नारी दिवस २०१५ को अवसर पारेर आयोजना गरेको मेक इट ह्यापन #MakeItHappen नामक कार्यक्रममा नाट्यकर्मी हार्पमको एकल प्रस्तुतीलाई सबै दर्शकले उनलाई मन पराएका थिए ।
हार्पमको प्रस्तुतीमा अमेरिकी महिलाहरुको दैनिक जीवनीका अप्ठ्यारालाई आकर्षक ढंगले प्रस्तुत गरिएको थियो ।
न्युयोर्कको चियान फेडेरसनमा आयोजित कार्यक्रममा प्रस्तुती अगाडी हिदरले यसरी नेपाली समुदायसंग अन्तराष्ट्रिय नारी दिवस मनाउन पाउंदा खुशी लागेको बताएकी थिइन् ।
त्यस्तै, कार्यक्रममा अमेरिकी म्युजिसियन तारा लिन्हर्द, प्रसिद्ध सारङ्गीवादक श्याम नेपाली, न्हुंछे डंगोल, राज कपुर, विमल बुढाथोकी लगायतको सांगितिक प्रस्तुतीलाई पनि दर्शकले रुचाएका थिए ।
न्युयोर्क जस्तो विविधताले भरिपुर्ण सहरमा विविध देशका कलाकारहरु एकै मंञ्चमा आएर प्रस्तुुती गराउनु निकै नै ठुलो अवसर भएको आयोजक कमिटीका प्रमुख सदस्यद्वय अनुज थापा र दिपिका श्रेष्ठले आफ्नो उद्घोषणका क्रममा बताएका थिए ।
प्रमुख अतिथिको भाषण, सभापतिको आसन ग्रहण जस्ता परम्परागत ढर्रा छोडेर फरक ढंगले सञ्चालित कार्यक्रमको उद्घाटन, टिमका सांस्कृतिक विभागका संयोजकको जिम्मेवारी संहाल्नुभएकी गायिका सिर्जना लामाले गर्नुभएको थियो ।
त्यस्तै, कार्यक्रमका संयोजकहरु कुन्ती थापा र सुनिता शर्मा उपाध्यायले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर संसारभरिका नारीहरु आफ्नो हक र अधिकारका लागि संगठित भएर हरेक क्षेत्रमा अगाडी लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा नेपाली चलचित्रकी सदाबहार नायिका भनेर चिनिने कृष्टि मैनालीले नारी शिक्षित भए संसारै शिक्षित हुने घारणा व्यक्त गर्नुभएको थियो । त्यस्तै, महिला उधमी युली लाेंले नारी र पुरुष मिलेर अगाडी बढे संसार सुन्दर हुने विचार प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा गायक यम बराल, विमल डांगी, कृष्टि मैनालीकी सुपुत्री रिया मैनाली, कलाकारहरु सञ्जु सुवेदी, गिनिज रेकर्डधारी रोहित तिमल्सिना, सञ्चारकर्मी रितु राम्दाम, गायिकाहरु दिपा थापा ढुंगेल, विजय सिंखडा लगायतको प्रस्तुती रहेको थियो ।
कार्यक्रममा युवा समाजसेवी झरना शेर्पाले आफ्नो परोपकारी वेबसाइट www.jharanasherpa.org लञ्च गरेकी थिइन् ।
मौसमको प्रतिकुलताका बाबजुद पनि दर्शकको उत्साहजनक सहभागिता रहेको कार्यक्रमबाट उठेको सहयोग रकम ललितपुरको टंगलस्थित सुस्तमनस्थित कल्याण विद्यालयलाई दिइनेछ । कार्यक्रमका हरेक प्रस्तुतीहरु महिला सशक्तिकरणमा केन्द्रीत थियो ।


















प्रतिक्रिया