घनश्याम भुसाल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण बिष्ट, रवीन्द्र अधिकारी, चन्द्र भण्डारी, रामकुमारी झांक्री, बर्षमान पुन, गगन थापा, टोपबहादुर रायमाझी, बिश्वप्रकाश शर्मा, ठाकुर गैरे, राजेन्द्र राई, अन्य माओबादीका युवाहरू, मधेशबासी युवाहरू र राप्रपाका युवाहरू शिक्षित र बुद्धिजीवी युबा समूहहरू मिलेर देशमा एउटा नयाँ शक्ति सृजना गर्नुहोस र देश परिबर्तनको नयाँ जग बसाल्नुहोस । तपाईंहरूबाट देशले केही मागिरहेको छ ।
अब देशको माटोले तपाईंहरुको पसिनाको बलिदान खोजेको छ । एक-एक थोपा देश र देशका जनताको लागी समर्पण गर्नुहोस र नयाँ इतिहास कोर्नुहोस । देश बनाउन र परिबर्तन गर्न युवाबर्गहरू जाग्नै पर्दछ।
समयानुसार सबै सर्वत्र परिबर्तन हुँदै जानु पर्दछ । परिबर्तन हुनु भनेको समयको माग र आबश्यकता हो । सदैब एउटै पुस्ताका हालीमुहाली चल्नु भनेको त्यो देशको लागी कदापी राम्रो होइन र हुने छैन । सदियौँदेखि पुराना पुस्ताहरूबाट चल्दै आएको कुसंस्कार जस्ले गाऊँ समाज जिल्लादेखि सिँगै देश जकडेको छ, त्यो प्रथालाई जरैबाट उखेलेर फ्याँक्नका लागि अब युबाहरू जाग्नैपर्ने समय आएको छ । देश बनाउन र सम्पूर्ण चलनचल्तीलाई परिबर्तन गर्नका लागी पुराना बोटलाई उखेलेर नयाँ बिरूवा लगाउनै पर्दछ र त्यो समय आएको छ । पुराना बोटहरूमा अब पातहरू झरेर केबल हाँगा मात्रै भए, जस्ले देश र जनतालाई आबश्यकतानुसार र समय सुहाउँदो स्वच्छ हावा र पूर्ण बातावरण दिन सक्दैनन् र सकेनन् । पुराना पुस्ताहरू गाऊँबस्ती, समाज र देशको लागि काम भन्दा पनि आफ्नो अस्तित्व बचाउन र दम्भ जोगाउने मनसायले नयाँ पुस्ताहरूलाई दबाउने र माथि उठ्न नदिने अनि नयाँ पुस्ताहरूको जायज समय सुहाउँदो माग र काम कार्बाही पनि कसरी तुहाउने अनि आफ्नो बर्चश्व कायमै राखी रहने भन्ने कार्यमा कृयाशिल छन । नआफूले गर्न सक्छन्, न त नयाँ युबालाई काम गर्न दिने बाताबरण बनाउन सक्दछन् । अब पुराना पुस्ताहरूले नयाँ युबाहरूलाई मार्गदर्शन दिने र केवल अभिभाबकको रूपमा सीमित रहनुको बिकल्प छैन ।
साँच्चै भन्नुपर्दा अब सम्पूर्ण अग्रज माननीय सबै श्री सुशील कोइराला, केपी ओली, झलनाथ खनाल, माधबकुमार नेपाल, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, महन्त ठाकुर, बिजयकुमार गच्छदार र यस्तै-यस्तै लगायत अन्य सम्पूर्ण तपसिलमा उल्लेखित आदरणीय ब्यक्तिहरूबाट अब देशमा ठूलै आमुल परिबर्तन होला, देशमा ठूलो बिकास होला र देश समुन्नत र सम्पन्न होला भनेर कल्पना नगरे पनि हुन्छ जस्तो लाग्छ मलाई । उहाँहरूले देशको एक मात्र सर्वोच्च अदालतको आदेश पालना गर्नु गराउनु हुँदैन भने अरू बाँकी के को अपेक्षा गर्न सकिन्छ र ?
तसर्थ अब उठौँ युवा, जागौँ युवा। पुराना पाकेका बोटहरूलाइ जरै देखि उखेलेर पुराना कुसंस्कारमा जकेडिएका बयोबृद्ध नेताज्यूहरूलाई ससम्मान बिदाइ गरी नयाँ बिरूवालाई प्रोत्साहन दिने र अधिकार लिने गरी उठौँ युवा, जुटौ युवा । देशमा नयाँ परिबर्तनको लागि तपाई, म, हामी, हामी सबै एकजुट भएर जुटौँ अब । उठौँ अब र नयाँ नेपाल समुन्नत नेपाल बनाऔं ।
पुराना पुस्तालाई ससम्मान बिदाइ गरी देशमा आमुल परिबर्तन गर्नुछ भने पार्टी र आदर्श ठूलो होइन, तपाईंहरुको देश बनाउने उद्देश्य, बिचार र सोच ठूलो हुनुपर्दछ । तपाईंहरू चाहे जुन पार्टी र संघ संगठनमा आस्था राख्नुहुन्छ, त्यसलाई चटक्कै बिर्सिएर अहिले प्राप्त चर्चा, परिचर्चा र जनताले बिश्वास गरेका तपाईंहरू एकजुट र एउटै समूहबाट एउटै मञ्चबाट आवाज बुलन्द गरी देशलाई धर्मसंकटबाट बचाउनुहोस । हाम्रो देश समुन्नत देश र बिकशित देश बनाउनुहोस । तपाईंहरूलाई जनताले बिश्वास गरेका छन् । तपाई युवाहरूमा केही नयाँ गर्न सक्ने हिम्मत र आत्मबल छ । अब देशको माटोले तपाईहरुको पसिनाको बलिदान खोजेको छ । एक एक थोपा देश र देश बिकासको लागि समर्पण गर्नुहोस, त्याग गर्नुहोस र नयाँ इतिहास कोर्नुहोस ।
जस्तैः घनश्याम भुसाल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण बिष्ट, रवीन्द्र अधिकारी, गगन थापा, चन्द्र भण्डारी, रामकुमारी झांक्री, बर्षमान पुन, टोपबहादुर रायमाझी, बिश्वप्रकाश शर्मा, ठाकुर गैरे, राजेन्द्र राई, अन्य माओबादीका युवाहरू, मधेशबासी युवाहरू र राप्रपा का युवाहरू शिक्षित र बुद्धिजीवी युबा समूह लगायत तपाईंहरू नयाँ पुस्ताका सबै मिलेर देशमा एउटा नयाँ शक्ति सृजना गर्नुहोस र देश परिबर्तनको नयाँ जग बसाल्नुहोस । तपाईंहरूबाट देशले केही मागिरहेको छ । भारतको केजरीवालले जसरी जनताको मन जिते त्यसरी नै तपाईंहरूले पनि देशमा आमुल परिबर्तन चाहने सम्पूर्ण जनताहरूको अबश्य पनि मन जित्न सक्नु हुनेछ । अनि हात र साथ दुबै पाउनुहुनेछ । तब मात्रै युबाद्वारा देशको आमुल परिबर्तन गर्ने चाहना र सपना पूरा हुनेछ । अबश्य साकार हुनेछ ।
आफ्नो मातृभूमि छोडेर बिदेशिएका युबाहरूलाई आफ्नै देशमा श्रम गरेर गास, बास, कपास र उनका छोराछोरीले राम्रो शिक्षादिक्षा प्राप्त गर्न सक्ने बातावरण हाम्रो आफ्नै देशमा सिर्जना गरी देउ । ताकी बिदेशी भूमिमा गएर युबाहरूले श्रम बेच्न नपरोस् । पराईको शहरलाई सुन्दर र हरियाली बनाउन भन्दा आँटो र ढिडो खाएर आफ्नै देशमा पसिना बगाउँदै आफ्नै देशलाई सुन्दर र हरियाली बनाउन पाऊन । आफ्नै देशको मुहार आफ्नै हातले फेर्न पाऊन । सायद त्यो भन्दा खुसी मान्छेको जीवनमा के नै हुन सक्छ र ?
त्यसैले तपशिलमा उल्लेखित युबा नेताज्युहरुले बेलैमा सोच्ने हो कि ? देश बनाउन सबै सँगै जुट्ने हो कि ?
यथास्थिति जँजिरको संस्कार नछुटे
बन्दैन हाम्रो देश अब युबाहरू नजुटे ।
जय युबा । जय देश ।। जय नेपाल ।।।
लोक गीतका सर्जक दर्लामी अहिले अमेरिकामा छन् ।














प्रतिक्रिया