विजय थापा
डिसी, अमेरिका । क्यानाडाका लागि नव नियुक्त राजदुत कालीप्रसाद पोखरेलले क्यानाडाका गभर्नर जनरल डेविड जोन्सटन समक्ष ओहदाको प्रमाणपत्र बुझाउनु भएको छ ।
क्यानाडाको ओटावा स्थित गभर्नर जनरलको निवासमा आयोजित विशेष समारोहमा नेपालका राजदुत तथा पूर्णाधिकारी रुपमा उक्त ओहदाको प्रमाणपत्र बुझाईएको ओटावा नेपाली राजदुतावासले जनाएको छ ।
ओहदाको प्रमाण पत्र बुझाउदै राजदुत पोखरेलले नेपालका राष्ट्रपति डा. रामवरण यादव तथा प्रधानमन्त्री सुशील कोइरालाले पठाउनु भएको शुभकामना सन्देश पेश गर्नुभयो । राजदुत पोखरेलको पत्र बुझ्दै गर्भनर डेविड जोन्सटनले सफलताको शुभकामना सहित धन्यवाद ज्ञापन गर्नुभयो ।
विशेष समारोहपछि राजदुत पोखरेल तथा क्यानाडाका गभर्नर जनरलबीच छुट्टै छलफल भएको थियो । छलफलमा दुई देशबीच रहेको कुटनैतिक सम्बन्धको बारेमा कुराकानी भएको दुतावासले जनाएको छ ।
दुई देशले अझ राम्रो सम्बन्ध बनाउन सकिने बिषयमा छलफल भएको विज्ञप्ति मार्फत जनाइएको छ ।
क्यानाडाका गभर्नर जनरल जोन्सटनले राजदुत पोखरेलले दायित्व निर्वाह गर्ने कुरामा विश्वास रहेको चर्चा गर्दै नेपाल र क्यानाडाबीच विशेष गरि ब्यापार तथा जनताबिच सम्बन्ध निर्माण गर्न पोखरेलले अहम भूमिका गर्नुहुनेछ भन्नुभयो ।
राजदुत पोखरेलले नेपाल र क्यानाडा बिच १९६५ देखि नै कुटनैतिक सम्बन्ध स्थापना भए पछि एक आपसमा भएको समझदारी र सहयोगको तह प्रति हर्ष व्यक्त गर्नुभयो । राजदुत पोखरेलले दुई पक्षीय सम्बन्ध प्रगाढ बनाउन तथा मजबुत बनाउन उच्चस्तरीय कुटनैतिकहरुको भ्रमण वृद्धि गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
राजदुत पोखरेलले यहि बर्ष नेपाल र क्यानाडाबीच कुटनैतिक सम्बन्ध स्थापना भएको ५० बर्ष भएको अवसरमा दुतावासले विभिन्न कार्यक्रमबाट उत्सव मनाउने बताउनुभयो । चार दशकदेखि क्यानाडाले नेपाललाई सामाजिक तथा आर्थिक बिकासमा सहयोग पुर्याउदै आएकोमा क्यानाडा सरकारलाई राजदुत पोखरेलले धन्यवाद समेत दिनुभएको थियो ।
राजदुत पोखरेलले क्यानाडा सरकारले नेपालका निजिक्षेत्रसंग काम गर्न चाहेको र विशेष उर्जा तथा नेपालको आधारभूत विकास ,व्यापार, पर्यटक र अन्य क्षेत्रमा काम गर्न चाहेको जानकारी दिनुभयो ।
समारोहमा क्यानाडाकी प्रमुख प्रोटोकल एन्जेला बोगडन, क्रिस्चिन म्याकलिन टार, प्रमुख कार्यकारी तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । राजदुत कालीप्रसाद पोखरेल श्रीमती, छोरी, छोरा, आफन्त तथा साथीभाईहरुलाई उपस्थित हुनु भएको थियो ।

















प्रतिक्रिया