काठमाडौं, ६ फागुन । नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरका लागि दौडधुप तीव्र भएको छ । राष्ट्र बैंक मातहतका कर्मचारीहरु त दौडमा छन् नै, बैंकर्स संघका सदस्यहरु पनि गभर्नर बन्ने दौडधुपमा छन् ।
बहालवाला गभर्नर युवराज खतिवडाको पदावधि सकिन अब एक महिनामात्रै बाँकी छ । यस अवधिमा नयाँ नियुक्ति गर्नुपर्ने प्रावधानअनुसार बिहीबारसम्म नाम घोषणा गर्नुपर्ने भएपनि आजसम्म नयाँ गर्भनर को हुने भन्ने विषयको टुङ्गो लाग्न सकेको छैन् ।
गर्भनरका लागि कर्मचारीले दौडधुप गरेपनि सरकारबाट नयाँ गभर्नर नियुक्तिको सुरसारै थालिएको छैन । हालका गभर्नर युवराज खतिवडाको पदावधि चैत ७ गते सकिँदैछ । तर, सरकारले अहिलेसम्म पनि नयाँ नियुक्तिका लागि नाम सिफारिस गर्न समिति समेत गठन गरेको छैन।
मन्त्रिपरिषद बैठकले अर्थमन्त्रीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने नियमावली छ । जसले तीन जनाको नाम सिफारिस गर्ने र त्यसैमध्येबाट नियुक्ति गर्ने कानुनी प्रावधान छ । तर, सरकारबाट त्यस्तो कुनै पहल भएको छैन् ।
सरकारको मुख्य आर्थिक सल्लाहकारका रूपमा अर्थतन्त्र सबल राख्न प्रमुख भूमिका निर्वाह गर्नुपर्ने गभर्नर पदका लागि समिति गठन नहुँदा अन्तिम तीन प्रतिस्पर्धी को हुन ? र ती मध्ये कसलाई गर्भनर बनाउने विषयको टुंगो लागिसकेको छैन।
अहिले पूर्व अर्थसचिवद्वय रामेश्वर खनाल र युवराज भुषाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्मा तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल मुख्य चार उम्मेदवार प्रतिस्पर्धाका लागि तीव्र दौडधुपमा लागिरहेका छन् । चारै उम्मेदवार कांग्रेस पार्टी सम्बद्ध हुन् ।
यसैगरी, मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, सिटिजन्स बैंकका प्रमुख कार्यकारी राजनसिंह भण्डारी, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष रेवतबहादुर कार्की, डेपुटी गभर्नरद्वय महाप्रसाद लामिछाने र गोपाल काफ्ले, पूर्व मुख्यसचिव विमल कोइराला पनि चर्चामा छन् । यसअघि गर्भनर पदका लागि १३ जनाले उम्मेदवारी दिने मनसाय बनाएका थिए ।
















प्रतिक्रिया