२८ आश्विन २०८३, बुधबार

समाज, प्रवृति र पात्र

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradeep-bhattarai

नेपाली समाज यतिबेला केही नकारात्मक कनोटेसनले अभिसप्त छ । यस क्रममा स्याडिस्ट क्यारेक्टर अर्थात् आफू पनि खुशी नहुने र अरुलाई पनि खुशी भएको देख्न नसक्ने चरित्र मात्र हैन बरो प्रसेप्सन अर्थात् अर्काको धारणा पैचों लिएर आफ्नो बनाउनेहरुको जगजगी पनि बढेको छ ।

त्यसताका म एभिन्युज टेलिभिजिनको एडिटर इन चिफ थिएँ । भाइ दीपक राज गिरी उनको लोकप्रिय टेलिश्रृंखला तीतो सत्यमार्फत् नेपाली सञ्चारकर्मी खासगरी टेलिभिजनकर्मीले तलव नपाएर लगभग सामाजिक बहिस्करणमा परिरहेको सन्देश सम्प्रेषण गरिरहेका थिए । एकातिर महिनौदेखि तलव नपाउनु अर्कोतिर आफैं कथाको पात्र बनेर थप सामाजिक अपमान भोग्नुपर्ने स्थिति । साँच्चै भन्ने हो भने उनको त्यो श्रृंखलाको उदेश्य भलै हसाउँने थियो होला, तर त्यो प्रस्तुति न प्राकृतिक न्यायको सिद्धान्तमा आधारित थियो, न सामाजिक न्यायमा । त्यसैले त्यतिबेला हाम्रो पीडाको व्यापार गरेको भनेर दीपकसँग चित्त पनि दुखेको थियो । पत्रकार आचारसंहितामा पनि पीडितलाई थप पीडा दिन नपाइने उल्लेख छ । दीपकले त्यो आचारसंहिताको पनि मज्जासँगै धज्जी उडाइरहेका थिए । तर के गर्ने ? त्यो हामे धरातलीय यथार्थ उनको लागि तीतो सत्य थियो । अनि, भाइरल सिर्जना गर्दै टीआरपी उकाल्ने भरपर्दो भर्यांग पनि ।

एक दिन ससुराली जानुपर्ने भयो । कुरैकुरामा ससुरा बुबाले प्रश्न तेस्र्याइहाल्नु भयो, ज्वाइँ साहेव, त्यो तीतो सत्यले जे देखाइरहेको छ, त्यो साँच्चो हो कि हँस्यौली मात्रै गरेको हो ?

के जवाफ दिने भनेर टोलाइरहेको थियो । उहाँले अर्को प्रश्न पनि थप्न भ्याइहाल्नु भयो, अनि ज्वाइँसाहेबको पनि त्यस्तै हो कि ?

अरुले सोधेको भए जवाफ नदिए पनि हुने थियो । तर, आफ्नै ससुरा बुबाले सोधेको प्रश्नको उत्तर नदिन पनि मिलेन । अरुलाई त झुठो जवाफ दिँदा पनि हुने, आफ्नै सुसुराबुबालाई ढाँट्न पनि मिलेन । कस्तो फसाद् ? भन्नै पर्यो भनेर सोझै जवाफ दिएँ, हो, बुबा तीतो सत्यले देखाएको साँचो हो । मेरै कुरा गर्ने हो भने पनि तलव नपाएको पाँच महिना भयो ।

उहाँले थप्नुभयो, अनि घर कसरी चलाउँछन् त पत्रकारहरुले ?

धेरै अविवाहित छन्, उनीहरुको न घर छ, न व्यवहार । जीवन चलाउने हो, बाबुआमाले नै चलाइ दिएकै छन् । केहीले पत्रकारिताको बल प्रयोग गरेर श्रीमतीलाई राम्रै ठाउँमा जागिर लगाइसके । केहीलाई त्यहाँ बसेर पत्रकारिता मात्र गरिदिए बापत पार्टीले महिनावारी पठाइदिन्छ । कतिपयको मिडिया तथाकथित कन्सल्टेन्सी चलेको छ, ठाउँ ठाउँबाट खाम आउँछ । कतिको पुस्तेनी सम्पति छ, त्यसैले चल्छ । केहीलाई के गर्छस् ? भन्ने प्रश्नको उत्तर मात्र चाहिएको छ, त्यसैले पनि चल्छ । केही साँच्चै पत्रकारिताबाटै जीवन चलाउनुपर्ने छ, उनीहरुको भने विजोग छ ।

उनीहरुले पढेको पत्रकारिता हो, जानेको पत्रकारिता हो, जीवनको ऊर्जाशील समय बिताएको पनि पत्रकारिता हो । जाने कहाँ जाने ३० दिनको महिना मान्ने मिडिया औला भाँच्दा चार पुर्याउन सकिदैन । अरु गरौं जानेको केही छैन । केही व्यासाय गरौं, पैसो छैन । त्यसैले पत्रकारिता उनीहरुका लागि नखाउँ भने दिनभरिको सिकार खाउ भने कान्छा बाबुको अनुहार जस्तै हो ।
यति लामो उत्तर सुनेपछि ससुरा बुबाले भन्नु भयो, यस्तो पनि जागिर खाने त ज्वाइँसाहव ? बर्बादै भैहाल्यो नि ।

दिन वित्दै गए । एक दिन दिक्क लागेर राजीनामा दिएँ । विहानदेखि रातीसम्म काम गर्यो न मालिक खुशी, न सहकर्मी खुशी, न घर परिवार नै । त्योभन्दा पनि ठूलो पीडा पाँच महिनादेखि तलव नपाएका सहकर्मीहरुलाई कुन नैतिकताले काम लगाउने भन्ने भयो । आफ्नो अभाव र पीडा त छँदैछ । त्यसमाथि पनि नैतिक धरातल नै नभएपछि के को जागीर खाने । केही नै नसोची राजीनामा दिए । राजीनामा दिएपछि गनेको त्यो जागीरको रोल नम्बर ५५ रहेछ ।

केही समयपछि फेरि ससुराली गएँ । सुसुराली पुग्ने वित्तिकै ससुरा बुबाले एभिन्युज टीभी ट्युन गर्नुभयो । केही समयपछि कुरै कुरामा सोध्नुभयो, जागीर त चलेकै छ होला नि ?

मैले भने, बुबा मैले त राजीनामा दिएँ । मेरो उत्तर सुन्ने वित्तिकै उहाँको अनुहार निचोरियो । अनि भन्न थाल्नुभयो, राजीनामा नै त नदिएको भए हुन्थ्यो । अब के गर्ने ? हामीले ज्वाइँसाहव कहाँ काम गर्ने भन्दा के उत्तर दिने ? यतिबेलासम्म उहाँले एभिन्युज टीभीको ठाउँमा अर्कै कुनै च्यानल फेरिसक्नु भएको थियो ।

मैले भने, अनि हजुरले नै त्यस्तो तलव नदिने जागीर के खानु, छोड्नु भन्नु भएको हैन र ?

उहाँले थप्नुभयो, तैपनि । वर्ष दिनमै भए पनि तलव दिन्थ्यो होला नि । केही दिनपछि त ससुराली टोलमै मैले जागीर छोडेको मूलखबर भैसकेको थियो । कम्तीमा त्यतिबेला आजजस्तो फेसबुक चल्तीमा थिएन र मात्र, नत्र भाइरल नै हुन्थ्यो ।
हाम्रो समाज यस्तो छ । यो गर्यो, त्यो किन गरेको प्रश्न तेस्र्याउँछ, त्यो गर्यो, यो किन गरेको भनेर प्रश्न ठड्याउँछ । यहाँ केही गरे पनि कसैको चित्त बुझाउन सकिदैन । राम्रो हैन, हाम्रो सोचको द्वैधचरित्र समाजको दर्पण हो यो ।

……….

एभिन्युज टिभी छोडेपछि के गर्ने ?, मेरा सामु अजंगको प्रश्न तेर्सिएको थियो । मिडियामा त जागीर खान घाटीसम्मै आएको थियो । ५० लाग्न लागेको, पहाडी बाहुन, पुरुष त्यो पनि अलि बढी पढेको, त्यसका लागि के नै पो काम पाइन्थ्यो र ? यसरी द्विविधामा रहेकै बेला मेरा पुराना मित्र सुरज सुब्बाको अचानक फोन आयो । उनले एकसरो सञ्चो बिसञ्चोको खबर सोधेपछि मुख खोलेरै भने, सर फिल्म लेखी दिनुस् न ।

मैले भने, सुरज मैले त चलचित्र लेखेकै छैन । मबाट यो काम होला र ? उनले भने, कस्ता कस्ताले लेख्छन् सर यहाँ ? हजुरले नसक्ने भन्ने पनि हुन्छ र ? मैले फेरि भने, प्रश्न कस्ता कस्ताको हैन नि, सुरज । हामी नै अनाडीले चलचित्र लेख्छन् भनेर आलोचना गर्ने । फेरि आफै अनाडी भएर चलचित्र लेख्दा त जगतको हाँसो बन्ला नि । उनले मलाई सम्झाए । त्यसो हैन सर, हिजोआज चलचित्र समीक्षक नै लेखनमा आएका छन् । लेखनमा समीक्षकहरुको सकारात्मक हस्तक्षेप चाहिएको छ यतिबेला ।

बात लामै भयो । उनले नलेखाइ नछोड्ने भनेपछि म पनि लेख्न सहमत भए । उनले लाखमाथि दाम पनि दिने बताए । पाँच महिनाको तलव नपाएर जागीर छोडेको अवस्था, पैसो पनि चाहिएको बेला थियो त्यो, प्रस्ताव टार्न सकिन ।

यसरी अलि अलि रहरले अलि अलि कहरले आइलागेको वन वे मेरो लागि अवसर र चुनौति दुबै लिएर सामुन्ने उभियो । चलचित्र लेखियो, बन्यो र अहिले मुलुकभर प्रदर्शन भैरहेको छ । नेपाली आँखाबाट हेर्दा यस चलचित्रलाई त्यति धेरै धारे हात लगाइ हाल्नुपर्ने छैन ।

मुलुकभर वन वे र सुन्तलीको भाले भिडन्त भैरहेकै बेला राजधानीको कुमारी हलमा चलचित्र सुन्तली हेर्न सपरिवार गएको थिएँ । शो हुन केही समय बाँकी रहेकाले प्रतीक्षा कक्षमा कफी पिउँदै थिएँ । सँगैको मेचमा बसेका तीन जना पनि कफी गफमा व्यस्त थिए । संजोग नै भन्नुपर्ला, त्यति नै बेला उनीहरुले वन वे माथि कुरा गर्न थाले ।

पहिलोले सुरु गर्यो, वन वे त्यो डाक्टर प्रदीप भट्टराई भन्ने चलचित्र समीक्षकले लेखेको रे । कति फोहोरी शव्द लेखको छ रे त्यसले त ।

अर्कोले थप्यो, साले कुकुर त्यस्तो पनि लेखक हुन्छ ? त्यसलाई त भेटाएँ भने गालैगालामा हान्ने हो ।
महिलाले भनिन्, तपाईहरुले हेर्नुभयो ?

दुबैले भने, के हेर्नु त्यस्तो ? हेर्ने पर्दैन नि, त्यसै थाहा भैहाल्छ नि ।

महिलाले थपिन्, हेर्दै नहेरी अर्काको कुरा सुनेर भन्नु हुँदैन । फेरि चलचित्र पनि डनको कथामा छ रे । बदमास चरित्रहरु छन् रे । उनीहरुले त बोलिहाल्छन् नि त्यस्तो शव्द । पुरेतको मुखबाट, नायकको मुखबाट त त्यस्ता शव्द निस्केका हैनन् होला । जे भए पनि पीएचडी गरेको मान्छे हो । यत्रो वर्ष पत्रकारिता गरेको मान्छे, केही न केही नसोची त लेखेन होला । तपाईहरु उसलाई चिन्नुहुन्छ ?

दुबैले थपे, किन नचिन्नु ? त्यसलाई ।

मेरी श्रीमती उनीहरुको कुरा सुनेर हाँस्न थालिन् । र, सोधिन्, खै चिन्नु भएन त ?

यतिकैमा म उठेर उनीहरुको छेउमा गएर सबैलाई नमस्कार गर्दै विनम्रतापूर्वक भनें, हजूर यहाँहरुको अपराधी मैं हुँ । माफ पाउँ, कहीं कतै गल्ती भयो भने । तर, एकपटक चलचित्र हेर्नुहोस् र जति गाली गर्न मन लागे पनि गर्नुहोस् । हैन, भने कहिले नभेटेको, नचिनेको मान्छेलाई यति तथानाम गाली गरेर के फाइदा भयो यहाँहरुलाई ?

तिनैजना हेरेको हेरै भए । शो सुरु हुन लागेकाले मैले उनीहरुसँग विदा माग्दै भने, हजुरहरुको भलो होस् ।

हाम्रो समाजमा यस्ता धेरै पात्र भेटिन्छन् । जो बरो प्रस्पेप्सन लिएर बाँचेका छन् ।