काठमाडौं, ६ फागुन । कांग्रेस पदाधिकारी बैठकले पार्टीको १३ औं महाधिवेशन भदौ १ देखि ५ सम्म राजधानीमा गर्ने प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पदाधिकारी बैठकले केन्द्रदेखि गाउँ तहसम्मको अधिवेशनको मितिको प्रस्ताव गरेको छ ।
पदाधिकारी बैठकले प्रस्ताव गरेको मितिलाई बुधबारदेखि सुरु हुने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्नेछ ।
पार्टी प्रवक्ता दिलेन्द्र बडुका अनुसार वडा, गाउँ र नगरसमितिको अधिवेशन आगामी साउन २ मा हुनेछ ।
२ सय ४० निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन ९ र जिल्लाको साउन १६ मा हुने प्रस्ताव गरिएको छ । ‘पदाधिकारी बैठकले प्रस्ताव गरेको मितिमा केही संशोधन हुन पनि सक्छ, नहुन पनि सक्छ’ उनले भने ।
कांग्रेसको १३ औं अधिवेशन ढिलोमा असोज पहिलो साताभित्र गरी सक्नुपर्ने कानुनी बाध्यता छ ।
यसअघि १२ औं महाधिवेशन असोज १ देखि ५ सम्म राजधानीमा भएको थियो ।
केन्द्रीय कार्यसमितिको कार्यकाल चार वर्षको भए पनि असाधारण स्थिति जनाएर एक वर्षमात्र थप्न पाइने व्यवस्था विधानमा छ ।
एक वर्षको म्याद कांग्रेसले ६ महिनाअघि थप गरिसकेको छ । थप गरेको म्याद असोज पहिलो साता सकिंदैछ ।
बडुका अनुसार पदाधिकारी बैठकले फागुन मसान्तभित्र सबै जिल्लाले शुल्क सहित क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाई सक्नुपर्ने निर्देशन मातहतका जिल्लालाई दिने निर्णय गरेको कान्तिपुर दैनिकले छापेको छ ।
फागुन मसान्तभित्र विवरण दिन नसक्ने जिल्लालाई महाधिवेशनमा भाग नगराइने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ ।
क्रियाशील सदस्यको नवीकरण र नयाँ वितरणमा केन्द्रले गरेको परिपत्र र विधानले गरेको व्यवस्थाको प्रक्रिया पुरा गर्नुपर्ने र प्रकृया नपुर्याएकालाई मान्यता नदिइने बैठकले निर्णय गरेको छ ।
क्रियाशील सदस्यताको विवाद मिलाउन बुधबारको केन्द्रीय कार्यसमितिले छानविन समिति बनाउने भएको छ ।
छानबिन समितिलाई चैत मसान्तसम्मको म्याद दिइनेछ ।
केन्द्रीय समितिको बैठकमा संविधान निर्माण र दलहरूबीच औपचारिक तथा अनौपचारिक तहमा भइरहेको वार्ताको पछिल्लो अवस्थाको बारेमा छलफल हुनेछ ।















प्रतिक्रिया