काठमाडौं, ६ फागुन । परराष्ट्र मन्त्रालयले आफ्नो पुनःसंरचना र सुधारका लागि निजी क्षेत्रका विज्ञहरूको सहयोग लिने भएको छ ।
मन्त्रालय, मातहत विभाग र नियोगहरूको संस्थागत सुधारका कार्यक्षेत्रगत सर्तहरू (टीओआर) तयार गर्न विज्ञ भर्ती गर्न लागिएको हो ।
त्यससम्बन्धी प्रस्तावलाई गत साता मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो ।
लगत्तै मन्त्रालयले सार्वजनिक सूचनामार्फत विज्ञ माग गरेको कान्तिपुर दैनिकले छापेको छ ।
निजी क्षेत्रबाट छानिने विज्ञले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्दै अघि बढ्ने परराष्ट्रले जनाएको छ ।
सुधारका लागि हतार भइसकेकाले थोरै समय राखेर विज्ञ माग गरिएको तर थोरै आवेदन परेमा समयावधि थप गर्न सकिने परराष्ट्र प्रवक्ता ताराप्रसाद पोखरेलले बताए ।
गत बुधबार मन्त्रालयको वेबसाइटमा राखिएको सूचनामा भनिएको छ, ‘मन्त्रालय, विभाग तथा नियोगहरूको संस्थागत क्षमता विकास, वैदेशिक भत्ताको पुनरावलोकनको विषयमा अध्ययन र प्रतिवेदन, नियोगको भवन तथा अन्य सम्पत्ति व्यवस्थापन विषयमा अध्ययन प्रतिवेदन र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सुधारको विषयमा प्रतिवेदन आवश्यक छ ।’
योग्यता पुगेका विज्ञहरूले आइतबार फागुन ३० सम्म आफ्नो सूची दर्ता गराउनुपर्नेछ ।















प्रतिक्रिया