१ कार्तिक २०८३, आइतबार

नेपाल हिन्दु राष्ट्र हुनेछ, भाजपाका नेताहरूले हिन्दु राष्ट्र नेपालका पक्षमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RENU_DEVI_BJPकाठमाडौं, ५ फागुन । संघीयता र धर्मनिरपेक्षताबारे नेपालमा बहस भइरहेका बेला भारतीय जनता पार्टीका वरिष्ठ नेताहरूले हिन्दु राष्ट्र नेपालका पक्षमा र संघीयताविरुद्ध खुलेरै बोलेका छन्।

महाशिवरात्रीमा पशुपति दर्शनका लागि आएको भारतको सत्तारूढ दलका राष्ट्रिय उपाध्यक्ष रेणुदेवी र अन्य प्रभावशाली नेताहरूको टोलीले राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा नेपालमा इसाइकरण बढेको भन्दै विरोधसमेत गरेको छ।

भाजपाकी राष्ट्रिय उपाध्यक्ष रेणुदेवीले नेपाल पुनस् हिन्दु राष्ट्र हुने विश्वास व्यक्त गर्दै अंग्रेजले भारतलाई टुक्राटुक्रा पारेझैं नेपाललाई टुक्राटुक्रा नपार्न सुझाव दिइन्।

यसै वर्ष जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको नेपाल-भारत सहयोग मञ्चद्वारा आयोजित कार्यक्रममा नेपाली सिमाना बिहारमा जन्मेहुर्केकी उनले भनिन्, ‘नेपालमा पुनस् हिन्दु राष्ट्र स्थापनाका लागि अगाडि बढ्नुपर्छ।  नेपाललाई टुक्राटुक्रा पार्ने होइन। अंग्रेजले भारतलाई टुक्र्याएजसरी नेपाललाई टुक्र्याउने कोसिस हुँदैछ। तपाईंहरू टुट्ने होइन, जुट्नुस्। जहाँ हिन्दु हुन्छ, त्यहाँ विकास हुन्छ। एकजुट भएमा विकास हुन्छ। हामीलाई स्वच्छ नेपाल, गौरवशाली नेपाल र हिन्दु राष्ट्र नेपाल चाहिन्छ।’

पश्चिमा संस्कृतिको नक्कल नगर्न आग्रह गर्दै उनले हिन्दु राष्ट्रले सम्मान र गौरव दिने बताइन्। ‘मम र ड्याड होइन, माता, पिता, दाजुभाइ, दिदीबहिनी हो’, उनले भनिन्, ‘नेपाल पहिले पनि हिन्दु थियो, अब पनि हिन्दु राष्ट्र नै हुनेछ।’

नेपाल र भारत सम्बन्धमा राम, जानकी, सीता, पशुपतिनाथ र बुद्धको नाम उच्चारण गर्दै रेणुदेवीले नेपाल-भारत सम्बन्ध जीवनभर रहने बताएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

बुद्धले भारतमा ज्ञान प्राप्त गरेको, नेपाली नागरिक भारतका मन्दिरमा पुजारी रहेको स्मरण गराउँदै उनले भनिन्, ‘विश्वमा कुनै राष्ट्र हिन्दु थियो भने नेपाल थियो। हामी केटाकेटी हुँदा नै नेपाल हिन्दु राष्ट्र रहेकोमा गर्व लाग्थ्यो।’

उत्तरी छिमेकी चीनभन्दा दक्षिणी छिमेकी भारत नेपालका लागि मैत्रीपूर्ण रहेको सन्देश पनि उनले प्रवाह गरिन्। ‘चीनको लगाव कूटनीतिक हुन्छ। नेपाल र भारतका बीचमा रोटीबेटीको सम्बन्ध छ’, उनले भनिन्।

नेपालको प्रगति र शान्तिमा भारतले सधैं चिन्ता गर्दै आएको उल्लेख गर्दै उनले २००७ सालमा नेपालका राजा त्रिभुवन एक रात बिहारमा बिताएर दिल्ली पुगेको र तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले चिन्ता व्यक्त गरेको प्रसंग पनि उठाइन्।

भाजपाका वरिष्ठ नेता विजय जोलीले भने आफूलाई कूटनीतिक रूपमा प्रस्तुत गर्दै आफ्नो भाषण अवधिमा दुईपटक भने, ‘म हिन्दु हुँ।  मलाई हिन्दु भएकोमा गर्व छ। तर नेपालमा कस्तो धर्म हुने भन्ने नेपाली जनताले तय गर्छन्। नेपालको राजनीतिमा दख्खल दिने पक्षमा भारत छैन। नेपालमा कस्तो व्यवस्था हुने, त्यो नेपाली जनता र नेपालका राजनीतिक दलले तय गर्छन्।’

नेपालमा संविधान निर्माण नभएको प्रति चिन्ता व्यक्त गर्दै जोलीले आफूलाई तटस्थ देखाउने प्रयत्न गरे। ‘नेपालमा संविधान नबन्दा हाम्रा लागि पनि चिन्ता छ। आमसहमतिको बनाउने कि बहुमतको बनाउने कि, सद्भावको संविधान बनाउने कि संघर्षको संविधान बनाउने, कुन पद्धतिको संविधान बनाउनेरु नेपाली जनता र नेपालका राजनीतिक दलका नेताले तय गर्ने हो’, जोलीले भने, ‘भाइभाइको नाताले हामी सल्लाह दिने अधिकार राख्छौं।’

बिहारका विधायक सुशीलकुमार जैसवालले हिन्दु राष्ट्र स्थापनाका लागि सडकसंघर्ष गर्नसमेत अपिल गरे। ‘त्यो संघर्षले राजनीतिक दललाई दबाब सिर्जना गर्नेछ। भोटका लागि उनीहरू त्यसलाई स्वीकार्न बाध्य हुनेछन्’, उनले भने।

अर्का विधायक सन्दीप श्रीवास्तवले भारतको झारखण्डमा बढेको इसाइकरणलाई भाजपा र राष्ट्रिय स्वयंसेवकको अभियानले हिन्दुकरण गराउँदै लगेको स्मरण गराउँदै भने, ‘नेपाललाई पनि हिन्दु राष्ट्र बनाइराख्न तपाईंहरू लागिरहनुस्।’

बिहारबाट १३ वर्ष अघि टुक्रिएर बनेको झारखण्ड प्रान्तका विधायक शिवशंकर ओराओनले तिरुपति, पशुपति र कैलाशपतिलाई सनातन हिन्दु धर्मसंस्कृति र परम्पराको स्रोत उल्लेख गर्दै भने, ‘हामी फरक देशका भए पनि हाम्रो मुटु एउटै हो।  हामी एकअर्काबाट अलग हुने क ल्पना पनि गर्न सक्दैनौं। विश्वमा एकमात्र हिन्दु राष्ट्र प्रतिस्थापन गर्नुस् र हाम्रो गौरव कायम राख्नुस्। झारखण्डका साढे तीन करोड जनता तपाईंका पक्षमा छन्।’

हिमालयदेखि हिन्दमहासागरसम्म हिन्दु धर्म र संस्कृति रहने विश्वास उनले व्यक्त गरे। ‘आगामी दिनमा भारत र नेपाल यस्ता देश हुनेछन्, जहाँ विश्व गुरुदेवले आसन गर्नेछन्’, उनले भने, ‘आगामी दिनमा भारत र नेपाल मिलेर सनातन परम्परा, धर्म र रीतिरिवाज पुनस् सुदृढ गर्न सकौं।’

शिवरात्रीमा सहभागी हुन आएका भारतीय साधु र सन्तहरू मञ्चको अघिल्लो लहरमा बसेर भाजपा नेताहरूको भाषण सुनिरहेका थिए।

भारतीय नेताहरूद्वारा हिन्दु राष्ट्र नेपालका पूर्वप्रधानमन्त्रीका रूपमा सम्बोधन पाएका लोकेन्द्रबहादुर चन्दले धर्मनिरपेक्षता हटाएर धर्मसापेक्ष बनाउन आफूले नेपालमा वकालत गर्दै आएको जानकारी गराए।

‘नेपालको पहिचान हिन्दु राष्ट्रका रूपमा हुनुपर्छ’, उनले भने, ‘इसाईको भ्याटिकन सिटी, मुसलमानको मक्कामदिनाजसरी नै हिन्दुहरूको पवित्र स्थलका रूपमा नेपाल रहनुपर्छ।’

पूर्वमन्त्री प्रकाशचन्द्र लोहनीले राष्ट्रिय अखण्डता र स्वतन्त्रतामा चुनौती दिने कुनै पनि तत्त्वलाई कुनै पनि किसिमको सहयोग नगर्न भारतीय नेताहरूको ध्यानाकर्षण गराए।