काठमाडौँ, ४ फागुन । नेपाल राष्ट्र बैंकले चालु आवको छ महिनाको मौद्रिक नीतिको कार्यान्वयन र आर्थिक चुनौतीलाई ध्यानमा राखी बाँकी अवधिको कार्यदिशालाई थप प्रभावकारी बनाउने भएको छ ।
बैंकद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा गत साउनमा जारी गरिएको मौद्रिक नीतिले तय गरेको आर्थिक वृद्धिदरको लक्ष्य भेट्टाउन कठिन भए पनि नीतिमा ठूलो परिवर्तन गर्नुपर्ने अवस्था भने नरहेको जनाइएको छ ।
बैंकका गभर्नर डा युवराज खतिवडाले कृषि क्षेत्रको योगदानमा आउने कमीका कारण आर्थिक वृद्धिदरमा चुनौती थपिएको बताउँदै चालु आवको आर्थिक वृद्धिदर छ प्रतिशत हुने भनिए पनि पाँच प्रतिशतको हाराहारीमा रहने अनुमान गर्नुभयो ।
गभर्नर डा खतिवडाले समष्टिगत परिसूचकको अवस्था सन्तोषप्रद रहेको बताउँदै वित्तीय सेवालाई सर्वसुलभ, पारदर्शी एवम् गुणस्तरीय बनाउनका लागि तय गरिएका नीतिको कार्यान्वयनलाई प्रभावकारी अनुगमन गरिने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटले मूल्य स्थायित्व कायम गरी व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । बैंकका अनुसार समीक्षा अवधिमा कुल निर्यात ३.९ घटेको छ भने कुल आयात १३.३ प्रतिशतले बढी १६ प्रतिशतले व्यापार घाटा बढे पनि रु ३४ अर्ब २६ करोडको शोधनान्तर बचत छ ।
त्यसैगरी विप्रेषण आप्रवाह गत आवमा ३४.४ प्रतिशतले वृद्धि भएकामा यस अवधिमा ३.९ प्रतिशतले मात्र वृद्धि भई रु दुई खर्ब ७५ अर्ब ९६ करोड पुगेको छ । मौद्रिक नीतिले गत वर्षकै हाराहारीमा विप्रेषण आप्रवाह हुने लक्ष्य राखेको थियो ।
गभर्नर डा खतिवडाले विनिमय दरमा आएको कमी र लामो समयपछि रकम पठाउने गरेकाले विप्रेषणमा केही कमी आए पनि लक्ष्य भेट्टाउन सकिने जिकिर गर्नुभयो । त्यसैगरी विदेशी विनिमय सञ्चिति ५.९ प्रतिशतले वृद्धि भई रु सात खर्ब चार अर्ब ४४ करोड पुगेको र यसले ११.४ महिनाको वस्तु आयात र ९.८ महिनाको वस्तु तथा सेवा धान्न सक्ने बैंकको जिकिर छ ।
आवकोे छ महिनासम्म बैंक तथा वित्तीय संस्थाका कर्जा तथा लगानी ९.५ र निजी क्षेत्रको कर्जा ११.५ प्रतिशतले बढेको बैंकले जनाएको छ । गभर्नर डा खतिवडाले स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून रहेकाले समीक्षा अवधिमा रु ७२ अर्ब १६ करोड बचत रहेको र गत वर्षको मौज्दातसमेत गरी बैंकसँग रु ९५ अर्ब ६६ करोड मौज्दात रहेको जानकारी दिनुभयो ।
गभर्नर खतिवडाले मौद्रिक नीतिको सफल कार्यान्वयनबाट कृषि तथा जलविद्युत्लगायत उत्पादनशील क्षेत्रमा लगानी विस्तार तथा वित्तीय पहुँच तथा साक्षरतामा अभिवृद्धि भई समावेशी आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा बैंकर्स एसोसिएनका अध्यक्ष उपेन्द्र पौडेलले विभिन्न देशबाट आउने विप्रेषणलाई बैंकिङ प्रणालीबाट ल्याउनका लागि पहल गर्नुपर्नेमा जोड दिँदै मौद्रिक नीतिमा ठूलो परिवर्तन नभएकाले वित्तीय क्षेत्र सबल हुने विश्वास व्यक्त गर्नुभयो ।
















प्रतिक्रिया