काठमाडौं, ३ फागुन । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भक्तपुरमा लगानी गरेको बजेट न्युन भएको सरोकारवालाहरुले बताएका छन् ।
विभिन्न १० सहकारी मार्फत युवालाई प्रदान गरिएको युवा स्वरोजगार लगानीले सरकारले तोकेको किस्ता तिर्न मात्र ठिक भएको उनीहरुको गुनासो छ ।
महामञ्जुश्री नगरकोट नगरपालिका- ११ का नारायण लामिछानेले कोषबाट २ लाख रुपैया सहुलियत ऋण लिइ चियापसल सञ्चालन गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
‘तर, कोषले लगानी गरेको बजेटले पसल व्यवस्थापन गर्न पनि पुगेन’, उनले भने, ‘सरकारले युवाको व्यसायलाई उकास्ने हो भने बजेट थप्नुपर्छ ।’
कोषकै ऋणबाट स्टेशनी पसल खोलेकी सुमित्रा लामिछानेको प्रतिक्रिया पनि उस्तै छ । ‘थोरै लगानीबाट थालेको व्यवसायले परिवारको जिविकोपार्जनमा पनि समस्या छ,’ उनी भन्छिन, ‘रकमले पसलको व्यवस्थापन गर्दै ठिक भयो, सामग्री किन्न समेत पुगेन ।’
यहाँका सहकारीहरू मार्फत १ सय ८८ युवाले स्वरोजगार व्यवसाय थालेको कोष अन्र्तगतको जिल्ला सदस्य सचिव सुप्रिम श्रेष्ठले बताए ।
तीन किस्तामा उपलब्ध गराएको करिब ५ करोड बजेटले युवामा उत्साह प्रदान गरेपनि उपलब्धी हासिल गर्न नसकेको प्रमूख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले बताए ।
ठाकुरसहितको पदाधिकारीहरुले विहीबार कोष लगानी प्रतिफलको अनुगमन गरेको थियो ।
कोषको लगानीमा संचालित व्यवसायहरुबाट आफूहरु सन्तुष्ट भएको बताउदै लगानी बढाउन युवाहरुले पदाधिकाहरुसंग आग्रह गरेका थिए ।















प्रतिक्रिया