२८ आश्विन २०८३, बुधबार

भ्यालेन्टाइन डे’को विपक्षमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sudip-Ghimire

– सुदीप घिमिरे

कसैलाई राम्रो देख्नु आकर्षण हो । राम्रो फुल फुलेको हामी देख्छौँ अनि भन्छौँ– अहाँ कस्तो राम्रो । भित्र मनैवाट टिपेर लिउँ जस्तो लाग्छ । तर टिपेपछि भने त्यसप्रति आउने लगाव भने हराएर जान्छ अनि अर्को फुलमा नजर लाग्छ । त्यसैले कोही युवती वा युवकलाई देख्दैमा मन पराउनु त आकर्षण मात्र हो । त्यो क्षणिक आवेग हो । आकर्षणमा मायाको कुनै पनि गुन्जायज हुँदैन् ।

अनायशै मनमा शव्द आयो ‘प्रेम’ । मौसम पनि प्रेमकै । अर्थात फेवुअरी १४ । यसको गन्थन जति गरे पनि घुम्दै फेरि सुरुमै पुगिन्छ । यसका बिषयहरु अजम्वरी छन् । त्यसैले हरेक मानवको उमेर समूहका यसको प्रभाव छ । सजिलै ‘लभ’ भनी प्रयोगमा ल्याइएको छ । वान, टु क्लासमा पढ्न सुरु गरेका बालकबालिकादेखि बिद्यालयमा पढ्ने केटा केटीले ‘लभ’ गर्छु, भन्छन् । युवायुवतीमा लभ पहिलो चाहना हुन्छ । विपरित लिङप्रतिको आकर्षण उमेरको विशेषता नै हो । लभ भन्ने वित्तिकै युवायुवतीसंग जोडेर हेर्ने गरिन्छ ।

बास्तवमा माया भनेको कुनै व्यक्ति अथवा बस्तुप्रति मनै देखि चाहनाको अनुभव गर्नु वा त्यसप्रति लगावको महसुस गर्नुनै माया (लभ) हो । यो ग्रिक शव्द हो । यसलाई अर्को शव्दमा भन्दा एक व्यक्तिको अर्को प्रतिको आकर्षण हो । बिभिन्न व्यक्तिहरुको तर्क छ कि पशुहरुले मायाको अनुभव गर्दछन् । त्यसैले प्रेमको सार कुनै आकर्षण मात्रै होइन । प्रेम, मानिस मानिस मात्र नभएर मानिस र चराचुरुङ्गीदेखि सवै प्रकारका जन्तु जनावर बीचमा देखिन्छ । तपाईं वाख्राका पाठालाई माया गर्नहुन्छ, तपाईको प्रिय होला । तपाई घरमा पालिएको सुगा, मैना वा कुनै चरालाई सुन्दर देख्नुहुन्छ । मजुर किन नाच्छ ? भाले मजुर पोथीलाई आकर्षित गर्नको लागि । यस्ता अरु धेरै उदाहरणहरु छन् ।

दिमाग भित्र हुने रसायनिक प्रतिकृयासँग मायाको सम्बन्ध हुन्छ । त्यही रसायनले गर्दा मायाको अनुभव उत्पन्न हुन्छ । धेरै जसो मनोबिद्हरुले आधारभुत आवश्यकताको परिपूर्ति जस्तैः खाना, बास, स्वास्थ्य, शिक्षा, सुरक्षा भएपछि मात्र मायाको भावना जागृत हुन्छ, भनेका छन । यदि व्यक्तिमा गास, बास कपास, स्वाथ्य, शिक्षा, सुरक्षाका कुराहरु पुरा भएका छैनन् भने माया पाउन र दिने सम्भावना कम हुन्छ । त्यसैले माया भनेको एक व्यक्ति र अर्को व्यक्तिबीचको व्यक्तिगत सम्बन्ध हो । यसको आफ्नै उद्घेश्य, सिद्धान्त र तरिका हुन्छन् । त्यही फरकशैली र व्यवहारका कारण अन्य देशको तुलनामा नेपालमा माया गर्ने शैली र इतिहास आफ्नै खाले छ ।

विगत २०/२५ बर्ष हाम्रो देशमा केटाकेटीहरु बोल्नु, सँगै घुम्न जाने चलन थिएन् । प्रायः ठूला भनाउँदा (पञ्चका छोराहरु) हरु मात्र घुम्ने र लुकिछिपी माया गर्थे । सामान्य ब्यक्तिको लागि कसैलाई माया गर्नु भनेको अपराध जस्तै थियो । बेइज्जतीकोरुपमा लिइन्थ्यो । सानै उमेरमा विवाह हुने तर विवाह भएपछि माइतमै बस्नुपर्नेे प्रचलन थियो । अरु ब्यक्तिहरुको अगाडि श्रीमान–श्रीमतीको समेत बोलचाल हुदैनन्थ्यो । एकै कोठामा सुत्ने त कल्पना समेत गर्न सक्ने अवस्था थिएन । तर पनि लुकिछिपी माया साट्ने कमी भने थिएन् । खासगरी बिवाह पुजाआजामा, मेला, हाटमा बढी रमझम हुन्थ्यो । पुजाआजा प्रायः साँझमा हुन्थ्यो । पुजामा जाने, हाटमा जाने कारण भएमा घरवाट निस्कन छुट दिन्थे । यौवन अवस्थाका केटा केटीहरु पुजामा सहभागी भएर गाउँ भन्दा टाढा कसैले नदेख्ने ठाउँमा गएर माया साट्ने गर्दथे । प्युठानका ७५ बर्षीय बृद्ध गिरिराज प्रोखरेल जवानी स्मरण गदै भन्छन् : ‘भेटनका लागि कुनै स्थान पहिलेनै तोकिएको हुन्थ्यो, त्यस स्थानमा पुगेको संकेत दिलाउन स्याउला भाँचेर ढुङ्गाले किच्ने गर्थ्यौ।’

उनले भने, ‘त्यसबाहेक सांकेतिकरुपमा सिठ्ठी बजाउने र उपस्थितिको संकेत दिने चलन हुन्थ्यो । यस्ता संकेतहरु प्रायः अरुले बुझ्दैनथे । मायासँगै सामाजिक डर धेरै, त्यसैले यस्तो गर्न वाध्य थियौँ ।’

हाम्रो देशमा २०४६ सालको जनआन्दोलन, तत्कालिन नेकपा माओवादीले चलाएको जनयुद्घ, २०५७/५८ को १९ दिने आन्दोलनले युवायुवतीहरुमा प्रेम गर्नलाई थप बातावरण नै श्रृजना गराइदियो । कार्यक्रममा लागेपछि स्वतन्त्र भए । केटाकेटीसँग बस्ने, खान पाइन्छ भन्ने सुनेर देखेर मनोबैज्ञानिक दबाबका कारण अधिकांश त्यसतर्फ लागेको पाइन्छ । पार्टी भित्र माया प्रेमका कारण जनवादी विवाह भए । हाम्रो देशका ठूला बढा भनाउँदाहरुकै उदाहरणहरु लिन सकिन्छ । परिपक्व उमेरमा गरिएको निर्णयले माया दिगो समयसम्म रहला तर अपरिपक्व अवस्थामा गरिएको प्रेमले दीर्घकालिन रुपसम्म रहिरहन्छ भन्न सकिँदैन् । यीनै सामाजिक दवावका कारण अहिलेको अवस्थामा कक्षा ७/८ देखिनै प्रेम सुरु हुन थालेको छ । आफ्नो आमाबुवालाई मेरो ‘गर्ल फेण्ड’ र मेरो ‘ब्याइफ्रेण्ड’ भनेर चिनाउन थालेका छन् । केटाको केटीसाथी, केटीको केटासाथी छैन भने उनीहरुमा मेरो साथी छैन भनेर मनोबैज्ञानिक दबाबमा पर्ने गरेका छन् । साथीहरुको अगाडि आफ्नो इज्जत राख्नकै लागि भए पनि प्रेम गर्न बाध्यछन् अधिकांश विद्यार्थी । पढ्ने समयमा मायामा भुल्न थालेपछि भने प्रगति कसरी होला ? साथी मात्रै वनाए त हुन्थ्यो तर उनीहरु एक अर्कोलाई गुमाउन परेमा आफ्नो ज्यान समेत खतरामा पार्ने समेत गरेका छन् । विगत ७÷८ बर्ष अगाडि माया प्रेम एकजनासँग गर्नुपर्छ भन्ने बिश्वास पाइन्थ्यो अहिले अधिकांश केटाका दुई÷तीन जना केटीहरु ‘लभका चक्कर’मा हुन्छन् । केटीहरुको पनि त्यस्तै । जो केटी देखे पनि राम्रो लाग्ने अनि माया गर्ने मन लाग्ने अधिकाशं युवाहरु हुन्छ । केटीहरुमा पनि केटा देख्ने बित्तिकै मन पराउने हुन्छ । केटाहरु प्रेमलाई हल्कारुपमा लिइरहेका हुन्छ । प्रेम गर्ने तर क्षणिक मनोरजनका लागि । कमै व्यक्तिले मात्र गम्भीररुपमा लिने गरेका हुन्छ । त्यसैले त प्रेम भएको केही दिनमै डिभोर्स हुन्छ अनि अर्कोसँग फेरी माया बसिहाल्छ । तपाईँ आफै भन्नुहोस् एक जना केटाले ३/४ जनासंग प्रेम गर्छ भने त्यसलाई के भन्ने ? उसको विवाह गर्ने उद्देश्य भने हुँदैन तर केटीहरुले भने प्रायः भविष्य बारे धैरै कदम अगाडिसोचिसकेका हुन्छन् । त्यसकारण होला, युवतीहरु कसैलाई छिटो विश्वास गदैनन् ।

त्यसैले तपाईंको त्यो माया होकी र आकर्षण हो, पत्ता लगाउनु जरुरी छ । कसैलाई राम्रो देख्नु आकर्षण हो । राम्रो फुल फुलेको हामी देख्छौँ अनि भन्छौँ– अहाँ कस्तो राम्रो । भित्र मनैवाट टिपेर लिउँ जस्तो लाग्छ । तर टिपेपछि भने त्यसप्रति आउने लगाव भने हराएर जान्छ अनि अर्को फुलमा नजर लाग्छ । त्यसैले कोही युवती वा युवकलाई देख्दैमा मन पराउनु त आकर्षण मात्र हो । त्यो क्षणिक आवेग हो । आकर्षणमा मायाको कुनै पनि गुन्जायज हुँदैन्, मात्र शारीरिक सन्तुष्टि वा आँखाको माया हो । तर जसले कसैलाई माया गरिरहेको हुन्छ भने त्यसमा शारीरिक सम्बन्ध र शारीरिक प्रतिकृया गौण बन्छ । मायाको अनुभूति फरकै हुन्छ, आमाले छोरा, छोरीलाई गर्ने माया । यस्तो मायाले व्यक्तित्व र शारीरिक विकासमा सहयोग गर्छ । एकले अर्कोलाई आदर सत्कार, एकले अर्कोको ध्यान दिएर कुरा सुन्ने, भावनाहरु आदानप्रदान गर्नु, जीवन र भविष्यप्रतिको योजनासंगै बसेर बनाउनु सबै माया गर्ने र लिने अवस्थाहरु हुन । चुम्बन गर्दैमा, नियमित कसैले फोन गर्दैमा त्यसले माया गरेको हो भनेर बुझ्नु गलत हुन सक्छ । माया व्यक्तिको व्यक्तित्व विकासमा सहयोग गर्छ, उसको प्रेरणाले आत्मवल दिन्छ, जीवनमा केही गर्नको सहयोग मिल्छ भने त्योनै माया हो । त्यसमा खुसीसँगै आउन सक्छ । खुसी रहन सक्नु र साथीलाई सिकाउनु सफल माया हो । त्यसैले प्रगाण मायाले समाज वनाउँछ । माया नपाएमा व्यक्तिमा मनोबैज्ञानिक समस्याहरु आउन सक्छन् । त्यसैले माया भन्ने कुरा युवायुवतीले मात्रै गर्ने हो भन्ने कुरा गलत हो । युवायुवतीहरु कसैसँग माया गरिरहनु भएको छ भने त्यसको लक्ष्य, उद्घेश्य अनि मायामा असफल हुँदा आउन सक्ने व्यक्तिगत क्षतिको मुल्यांकन गरेर मात्र माया गरौं ।

तसर्थ, मलाई लाग्छ माया गर्नका लागि भ्यालेन्टाइन डे नै कुर्न पर्दैन । भ्यालेन्टाइन डेका दिनमात्रै माया दर्शाउनेहरु ढोंगी हुन् । माया विना त मानिस रित्तो हुन्छ । हरेक दिन, हरपल मानिसमा मायाको जरुरत हुन्छ ।

लामो समय सक्रिय पत्रकारितामा रहेका घिमिरे अहिले मनोविद् हुन्