२९ आश्विन २०८३, बिहिबार

मेलम्चीबाट ५० लाख उपभोक्ताले खानेपानी पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

melamchi– पूर्णप्रसाद मिश्र

काठमाडौँ, १ फागुन । मेलम्ची खानेपानी आयोजनाले राजधानीका ५० लाख उपभोक्तालाई खोनपानी उपलब्ध गराउने भएको छ । हाल तिव्र रुपमा आयोजनाले दुई महिनादेखि छिटो गतिका साथ काम अगाडि बढाइरहेको छ ।

आयोजनाले अबको केही महिनाभित्रै राजधानीमा पानी पुर्‍याउने गरी निर्माण कार्य तिव्र बनाएको छ । मेम्चीले राजधानीमा १७ करोड लिटर पानी थप्दैछ ।
गत असोज–कात्तिकमा १४–२५ मि प्रतिदिन सुरुङ खनिएकामा कात्तिक-मङ्सिरमा २०/३ मि, मङ्सिर-पुसमा २३/९ मि र पुस-माघमा २४ मिका दरले खनिएको छ । यो गति माघ-फागुनमा अझ बढ्ने मेलम्ची खानेपानी विकास समितिको विश्वास छ । “दुई महिनादेखि कामको गति बढेकाले पूर्वनिर्धारित समयको आसपासमै पानी काठमाडौँमा आउने आशा पलाएको छ”, समितिका इन्जिनियर माधव नेपालले भन्नुभयो ।

आयोजनाको सुरुङ निर्माणको शिलान्यास २०६६ साउन १९ गते सुन्दरीजलमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गर्नुभएको थियो । आयोजनाको अन्तिम विन्दुमा सुरुङको शिलान्यास गरिएको भन्दै आयोजनाको मुहान रहेको सिन्धुपाल्चोकवासीले छ महिनासम्म जिल्लाका कुनै पनि स्थानमा काम अघि बढाउन दिएका थिएनन् ।

सुरुङको शिलान्यास भएको तीन महिनासम्म ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे १५ ब्युरो ग्रुप कर्पोरेसन एन्ड चाइना सिएमआइआइसी इन्जिनियरिङ कर्पोरेसन जेभीले सुन्दरीजलमै सुरुङ निर्माणको काम सुरु गर्न सकेन । ठेकेदार कम्पनीले सुरुङ निर्माणको कामका लागि आवश्यक पर्ने उपकरण ल्याउन नसकेर काममा ढिलाइ भएको इन्जिनियर नेपाल बताउनुहुन्छ ।

चिनियाँ ठेकेदार कम्पनीसित रु चार अर्ब २८ करोड ८८ लाख २२ हजार ५६२ मा सम्झौता भएकामा काम गर्ने वातावरण भएन भनी विसं २०६९ असोज ९ मा ठेक्का सम्झौता तोडिएको थियो । त्यस समयसम्म चिनियाँ कम्पनीले छ हजार ४४४ मि सुरुङ खनेको थियो । कम्पनीले २०६६ साउन १९ मा सुरुङ खन्न सुरु गरी २०७० भदौ १७ मा सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।

कम उपकरण ल्याई तोकिएको समयमा काम नसिध्याउने देखिएपछि सम्झौताअनुसार समयमै काम सक् ठेकेदार कम्पनीलाई पत्राचार गर्दा ठेक्का तोडी हिँडेको समितिका कार्यकारी निर्देशक इन्जिनियर घनश्याम भट्टराईले जानकारी दिनुभयो । “चाइनिज ठेकेदार कम्पनीलाई अग्रीम रुपमा ६६ लाख २५ हजार अमेरिकी डलर र १४ लाख १२ हजार युरो दिइसकेका थियौँ”, कार्यकारी निर्देशक भट्टराईले भन्नुभयो ।

चिनियाँ कम्पनीले एकपक्षीय रुपमा सम्झौता तोडेर हिँडेपछि अर्को ठेकेदार कम्पनीका लागि पुनः टेन्डरलगायत प्रक्रियामा प्रवेश गर्दा बढी समय लागेको उहाँले बताउनुभयो । कम्पनीलाई सुरुङ मार्ग निर्माणका लागि २०६५ सालमा ठेक्का दिइए पनि सम्झौतामा उल्लेख भएअनुसार काम गर्न नसक्दा ठेक्का तोडी गत वर्ष असार ३१ मा इटालेली कम्पनी कोपरेटिभ मुरातोरी सेमेन्टिस्टी डी राभेन्नासित ठेक्का सम्झौता गरिएको थियो ।

सिएमसीले २०७० असोज १५ मा परीक्षण प्रारम्भ गरी गत वर्ष पुस १७ बाट सुरुङ निर्माणको काम सुरु ग¥यो । कम्पनीले आगामी २०७३ असोज १४ मा सुरुङको काम सक्नुपर्ने गरी सम्झौता गरिएको समितिका कार्यकारी निर्देशक भट्टराईले जानकारी दिनुभयो । रु सात अर्ब ७२ करोडमा सिएमसी कम्पनीलाई ठेक्का दिइएको हो ।

समितिका इन्जिनियर सुदन खरेलका अनुसार एक, दुई र तीन नंको चट्टान हुँदा छिटो काम हुने र चार नंभन्दा माथिका कमजोर चट्टान आएमा बिमसमेत बनाएर अगाडि बढ्नुपर्ने हुन्छ । सुरुङ मार्गका केही ठाउँमा कुटाले पनि खोस्रन सक्ने चट्टान आएकाले काम ढिला भइरहेको सुरुङ निर्माणको काम हेरिरहनुभएका इन्जिनियर खरेलले बताउनुभयो ।

सात स्थानबाट सुरुङ खन्न सुरु गरिएकामा हाल सुन्दरीजलबाट सबैभन्दा बढी तीन हजार ६५१ मि खनिएको छ । यसका साथै सिन्धुबाट सुन्दरीजल र ग्याल्थुमतिर, ग्याल्थुमबाट सिन्धु र अम्बाथानतिर, अम्बाथानबाट ग्याल्थुमतिर गरी सात ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ । सातै स्थानबाट गरी यही माघ २४ सम्म ११ हजार ३९३ मि सुरुङ खन्ने काम सम्पन्न भएको छ ।

पटक पटक तोकिएको काम समयमा सिध्याउन नसकी पानी काठमाडौँमा आउँछ आउँदैन भन्ने अन्योलमा रहेको आयोजना पूर्वनिर्धारित समयमै नसकिए पनि त्यसको दुईदेखि चार महिनाभित्रमा सकिने विश्वास छ ।

हाल काठमाडौँ उपत्यकामा ३५ करोड लि पानीको आवश्यक्ता रहेकामा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले १२ करोड लिमात्र उपलब्ध गराउन सकेको प्रवक्ता मिलनकुमार शाक्य बताउनुहुन्छ । उपत्यकामा रहेका ५० लाख मानिसका लागि सुरुमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लि पानी ल्याइनेछ । मेलम्ची खोलाको पानी ल्याइसकेपछि नौ किमी टाढा याङ्ग्री खोलाबाट दैनिक १७ करोड लि पानी उपत्यकामा ल्याइनेछ । याङ्ग्रीको पानी ल्याइसकेपछि एक किमी टाढा लार्के खोलाबाट दैनिक १७ करोड लि पानी गरी ५१ करोड लि पानी उपत्यकामा ल्याएर मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुने परामर्शदाता कम्पनी पोरीका भूगर्भविद् अमिर जाकरिया बताउनुहुन्छ ।

– अत्याधुनिक प्रशोधन केन्द्र

मेलम्चीको पानी काठमाडौँ आएपछि अत्याधुनिक रुपमा निर्माण गरिएको पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरण गरिनेछ । यसका लागि सुन्दरीजलमा २०२ रोपनी जग्गा अधिग्रहण गरी पानी प्रशोधन केन्द्र निर्माण भइरहेको छ । पानी वितरणको काम भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले गर्नेछ । निर्देशनालयले सुन्दरीजलदेखि पाइप विच्छ्याउने कामलाई तीव्रता दिएको निर्देशनालयका प्रमुख इञ्जिनियर तेजराज भट्टले भन्नुभयो

“ तर वैकल्पिक व्यवस्थाबिना सडक खन्दा आवतजावत र स्वास्थ्यमा समेत असर गरेको छ”, बानेश्वरका स्थानीयवासी रामप्रसाद घोरासैनीले भन्नुभयो ।