काठमाडौ, १ फागुन । लामो समयदेखिको अन्यौल र विवादपछि ट्रमा सेन्टरले सेवा सुरु गरेको छ ।
सेन्टरलाई स्वास्थ्य मन्त्रालयमातहतको स्वायत्त निकाय या चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालन गर्ने विवादबीच सर्वोच्च अदालतको अन्तरकालीन आदेशका कारण ट्रमाले सेवा सुरु गर्न पाएको थिएन ।
सर्वोच्चले हालै ट्रमा सेन्टरलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालन गर्ने मन्त्रीपरिषदको निर्णय कार्यान्वयन गर्न आदेश दिएपछि उपचार सेवा सुरु भएको हो ।
ठूला दुर्घटनाबाट गम्भीर घाइते भएका विरामीलाई तत्काल उपचार गराउन अब सजिलो हुने भएको समाचार कान्तिपुर दैनिकले छापेको छ । ट्रमामा आकस्मिक र ओपीडी दुबै सेवा सुचारु गरिएको छ ।
हड्डी र नसाका सम्पूर्ण बिरामीहरुलाई ट्रमाबाटै सेवा दिइरहेको बीर अस्पतालका निर्देशक स्वयमप्रकाश पण्डितले जानकारी दिए । ‘तर, ठूला अपरेसन गर्नुपर्ने बिरामीलाई भने अस्पतालमै ल्याउन गरेका छौं,’ उनले भने, ‘वीर अस्पतालको अर्थोपेडिक डिपाटमेन्ट पुरै ट्रमामै सारिएको छ । त्यहाका चिकित्सक र नर्स पनि उतै कार्यरत छन् ।’
उनका अनुसार नसा रोग सम्बन्धी ओपीडि सेवा ट्रमा बाट दिएपनि पुरै डिपार्टमेन्ट सारि सकिएको छैन ।
भारतको सहयोगमा बनेको ट्रमा भवन निमार्ण सकेर पनि स्वामित्व कस्ले लिने भन्ने विवादले सञ्चालनमा आउन सकेको थिएन् ।
विगतमा न्याम्स अन्तरगत रहेको ट्रमा निर्माण सकिएको २ वर्ष बितिसक्दा पनि सेवा सुरु हुन नसकेको भन्दै तत्कालिन स्वास्थ्य मन्त्री राजेन्द्र महतोले न्याम्सबाट हटाएर मन्त्रालय मातहत रहनुपर्ने प्रस्ताव मन्त्रीपरिषदमा लगेका थिए ।
०६९ बैशाख २१ मा बसेको मन्त्रीपरिषदको बैठकले ट्रमालाई न्याम्सबाट छुटाएर सरकार मातहत सञ्चालन गर्ने निर्णय गरेको थियो ।
त्यसपछि ट्रमाले मुद्धा झेल्दा झेल्दै बिरामीको उपचार गर्न सकेन ।
ट्रमालाई न्याम्सबाट छुटाउने निर्णय भएलगत्तै वीर अस्पताल कर्मचारी युनियनले ट्रमा न्याम्स अन्तरगतै हुनुपर्छ भन्दै सर्बोच्चमा मुद्धा हालेको थियो ।
त्यसपछि उपभोक्ता मञ्च, न्याम्स र ट्रमा सेन्टर सबैका तर्फबाट पटकरपटक मुद्धा पर्यो ।
यसै बिच तत्कालिन ट्रमा प्रमुख अशोकरत्न बज्राचार्यको पालामा गत मंसिर ९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट उद्घाटन गरिएपनि जनशक्ती अभावमा सेवा सुरु हुन सकेन ।
०७१ पुस ११ मा ट्रमालाई न्याम्स अन्तरगत बनाएर सञ्चालन गर्न मन्त्रीपरिषदबाट निर्णय भएको थियो । डा.बज्राचार्यले मन्त्री परिषदको निर्णय गलत भएको र आफ्नो निर्देशक पदको अवधी बाँकी रहेको भन्दै निर्णय खारेज गर्न माग गर्दै अदालतमा मुद्दा दर्ता गरेका थिए ।
अदालतले हालै मन्त्रीपरिषदको निर्णय कार्यान्वयन गर्नु गराउनु भन्ने आदेश दिएपछि ट्रमा पुनः सुचारु भएको हो ।
दुई सय शैय्या क्षमता रहेको ट्रमामा हाल ५० शैय्यामा उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।
कर्मचारी, चिकित्सक नर्सहरुको व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयमा माग गरि सकिएको छ ।
प्रतिष्ठानका रेक्टर डाक्टर रंगबहादुर बस्नेतका अनुसार दुई सय बेडमै सेवा सुचारु गर्न आवश्यक पुर्वाधारहरु तयारी अवस्थामा नभएकाले ५० शैय्यामा उपचार सेवा सुरु गरेका हौं ।
ट्रमामा छ वटा अपरेसन थिएटर भए पनि आकस्मिक कक्षको एउटा मात्रै तयारी अवस्थामा रहेको उनले जानकारी दिए । ‘त्यसमा ३ वटा जति अपरेसन पनि भएका छन्,’ उनले भने, ‘तर मेजर अपरेसनका लागि हामीले बीरमै ल्याइरहेका छौं ।’
अन्य अपरेसन थिएटरमा ल्याम्पहरु नभएको त्यसको तयारीका लागि काम भइरहेको उनले जानकारी दिए ।
यसमा उपचार खर्च अझै नतोकिएपनि अन्य नीजी अस्पतालको भन्दा तुलनात्मक हिसाबले धेरै कम हुने रेक्टर बस्नेतले जानकारी दिए । ‘भर्खरै सेवा सुरु गरिएको छ । हामीले यसको कुनै मुल्य तोकेका छैनौ, तर अन्य नीजी अस्पताल भन्दा यो धेरै सस्तो हुनेछ ।’















प्रतिक्रिया