सोमबार, २ मंसिर २०७६
DainikNepal.com
सोमबार, २ मंसिर २०७६

राहदानीबाटै रु एक करोडभन्दा बढी राजस्व सङ्कलन

दैनिक नेपाल २०७१ माघ २८ गते १७:०१

MRP-Nepali-Passportम्याग्दी, २८ माघ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले चालु आर्थिक वर्ष २०७१÷७२ को पहिलो ६ महिनामा राहादानीबाटै रु एक करोड बढी राजस्व सङ्कलन गरेको छ ।

चालु वर्षको साउन महिनादेखि पुस मसान्तसम्मको अवधिमा राहदानी तथा अन्य आम्दानीसहित रु एक करोड २७ लाख २० हजार ३२० सङ्कलन गरेकोे कार्यालयले जनाएको छ ।

राहदानीबाट मात्रै रु एक करोड २२ लाख १५ हजार राजस्व सङ्कलन गरेको कार्यालयका लेखापाल त्रिविक्रम शर्माले बताउनुभयो । चालु आवमा सबैभन्दा बढी भदौ महिनामा रु २६ लाख ३१ हजार ५३४ आम्दानी भएको छ । सबैभन्दा कम असोज महिनामा रु १७ लाख ८३ हजार ५०० आम्दानी भएको देखिएको छ ।

संस्था दर्ता÷नवीकरण, हातहतियार नवीकरण, प्रशासनिक तथा न्यायिक दण्ड जरिवाना र परीक्षा दस्तुरबाट गत ६ महिनामा रु पाँच लाख पाँच हजार ९८ सङ्कलन भएको लेखापाल शर्माले बताउनुभयो ।

आव ०७०/७१ को पुस मसान्तसम्म रु एक करोड एकलाख १५ हजार २६२ आम्दानी भएकोमा चालु आवको पहिलो ६ महिनामा गत वर्षको भन्दा रु २६ लाख ५० हजार ५८ बढी राजस्व सङ्कलन भएको छ । सरकारले सन् २०१५ देखि अनिवार्य रुपमा एमआरपी लागू गरेपछि राजस्वमा वृद्धि भएको उहाँले बताउनुभयो ।

चालु आवको ६ महिनाको अवधिमा सामान्यतर्फ दुई हजार ४६१ र दु्रतसेवाका लागि एक हजार ८५१ वटा राहदानी सिफारिस भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सोही अवधिमा तीन हजार १४८ वटा राहदानी वितरण भएको राहदानी शाखाले जनाएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित