काठमाडौं, २७ माघ । राजधानी लगायत देशैभरीको मासुको मूल्य अत्यधिक रुपमा बढेको छ । चिसो मौसममा कुखुरा तथा खसीबोकाको उत्पादन कम हुने भएकाले मासुको मुल्य ८० रुपैयाँले बढेको हो ।
बोइलर कुखुराको मासुको मूल्य पनि आकासिएको छ । जिउँदो कुखुराको अभाव देखाउँदै व्यवसायीले कुखुराको मूल्य पछिल्लो चार/पाँच महिनायताकै उच्च बनाएका छन् ।
एक हप्तासम्म प्रतिकेजी २५० देखि रु २८० सम्ममा पाउँदै आएको कुखुराको मासु अहिले भने रु ३२० देखि रु ३४० सम्म पर्ने गरेको छ ।
व्यावसायीहरुले पसलै पिच्छे आ–आफ्नै किसिमले मूल्य निर्धारण गरी बिक्री गर्दै आएका छन् । मासु व्यवसायी सङ्घले मासुको मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरे पनि व्यवसायीले त्यसलाई टेरेका छैनन् ।
रुपन्देही सदरमुकाम भैरहवामा अन्य क्षेत्रको तुलनामा बाइलर कुखुराको मूल्य उच्च रहेको सिद्धार्थनगर–८ भैरहवाका स्थानीयवासी हिमाल थापाले बताउनुभयो ।
प्रायःजसो कुखुराको मासु खाने बताउनु हुने थापाले सम्बन्धित निकायले अनुगमनलाई प्राथमिकता नदिँदा व्यवसायीहरुले मनपरी रुपमा मूल्य निर्धारण गरी बिक्री गर्दै आएको बताउनुभयो ।
विगत लामो समयदेखि मासु व्यवसाय गर्दैआउनु भएका कलाम खानले बजारमा जिउँदो कुखुराको अभाव भएपछि मागअनुसार मासु पुर्याउन नसकी मूल्य बढेको जानकारी दिनुभयो ।
















प्रतिक्रिया