२९ आश्विन २०८३, बिहिबार

तत्काल सवारीसाधनको भाडा घटाउन संसदको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-rentकाठमाडौँ, २७ माघ । व्यवस्थापिका–संसद्को विकास समितिले पेट्रोलियम पदार्थमा निरन्तर मूल्य ओरालो लागेकाले सार्वजनिक यातायातको भाडा दुई दिनभित्र घटाउन निर्देशन दिएको छ ।

सिंहदरबारमा बसेको समितिको बैठकले पेट्रोलियम पदार्थमा निरन्तर मूल्य समायोजन भए पनि जनताले अनुभव गर्नेगरी भाडा घट्न नसकेकाले भाडा घटाउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था विभागलाई निर्देशन दिएको हो ।

वैज्ञानिक भाडादर तय गर्न, कायम भएको दरलाई अक्षरस कार्यान्वयन गर्न, उपभोक्ता, विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकको भावनाअनुसार सवारीसाधन सञ्चालन गर्न समेत समितिले आग्रह गरेको छ ।

भाडादर कायम गर्ने सम्बन्धमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका सदस्य राष्ट्रहरुले के कस्तो प्रणाली अपनाएका छन् त्यसको समेत अध्ययन गरी दुई महिनाभित्र समितिलाई जानकारी गराउन आग्रह गरेको समितिका सभापति रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, समितिले मुलुकभर यातायात क्षेत्रमा कायम रहेको एकाधिकार हटाउनका लागि उच्चस्तरीय अनुगमन समिति बनाउन र समस्या समाधान गर्न समेत निर्देश गरेको छ ।

यातायात क्षेत्रको बिमा, तेस्रो पक्ष बिमाको प्रभावकारी कार्यान्वयन गर्नका लागि नीतिगत रुपमा केही समस्या भए त्यसको उचित सम्बोधन गर्न, सिटभन्दा बढी यात्रु राखेर सवारीसाधन नचलाउन र त्यसको उचित संयोजन गर्न समितिले मन्त्रालय, विभाग, यातायात व्यवसायीलाई ध्यानाकर्षण गराएको छ ।