२०४२ सालमा चलचित्र मासिक प्रियाका लागि पहिलो रिपोर्टिंग गर्न जाँदा कपीको सिरानमा लेखेको थिएँ चलचित्र च । सामान्यतः केही लेख्न सुरु गर्दा श्रीगणेशायः नम लेख्ने चलनलाई कुनै सोचविचार नै नगरी तोडेको त्यो अभियानलाई पछि मैले सोच विचार गरेर नै चरिचुच्चे च हैन, चलचित्र च का रुपमा चलाएँ । झण्डै तीन दशकपछि त्यो अभियानले नयाँ अवतार पाएको छ, चलचित्र च । भर्चुअल वर्ल्डका नेटिजनहरुलाई इन्फर्मेसन सुपर हाइवेको सानो स्टेशनमा स्वागत छ ।
नेपाली पत्रकारितामा अक्षरको खेती गर्न थालेको पनि झण्डै तीन दशक भएछ । पहिले रहरले सुरु गरिएको यो खेती पछि कहरमा परिणत भयो । समयको गतिसँगै अगाडि बढ्दै जाँदा परेर मात्र नहुने भयो पत्रकारिता, पढ्नुपर्ने पनि भयो । पढियो र अझ थप जिम्मेवारीवोधका साथ यसलाई झण्डै दुई दशक त पेशाकै रुपमा अंगालिएछ ।
छापादेखि सुरु भएको यो यात्रा रेडियो हुँदै टेलिभिजनसम्म पुगेर एउटा निर्णायक मोडमा पुग्यो । अर्थात् एभिन्युज टेलिभिजनको एडिटर इन चिफको भूमिकासम्म निर्वाह गर्ने मौका मिल्यो । यसबीचमा कुनै बेला काठमाडौमा चल्ने क्रिम टेम्पोको खलासीजस्तै स्टेसनहरु फेरियो । नामले ठूला लाग्ने कान्तिपुरदेखि आफैै चलाएको पर्दासम्मका स्टेसनहरु । तर, जसरी एउटा खलासीलाई केही मान्छे चढ्ने र केही मान्छे ओराल्नेको अर्को नाम स्टेसन हुन्छ, ब्यावसायिक कोणबाट हेर्दा यी स्टेसनहरु पनि खासै फरक थिएनन् । आज फर्केर हेर्दा त्यस्तै लाग्छ ।
एभिन्युज टेलिभिजनलाई छोडेपछि भने एक किसिमको स्वेच्छिक अवकाश लिने हो कि जस्तो लाग्यो । केही छापाबाट जागिरे पत्रकारिताका लागि आएको प्रस्ताव पनि त्यति रुचिकर लागेन । पहिला त मुलुकमा प्रजातन्त्र ल्याउनकै लागि मिशन पत्रकारितामा लागिएको थियो । यो पेशा होला र यसबाट जिविका चल्ला भनेर सोचेकै थिइएन । हिड्दै जाँदा पत्रकारिता अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति जनताको सुसूचित हुने अधिकारको चरणमा प्रवेश गर्यो । अहिले त हाम्रो पत्रकारिता त्यो चरणबाट पनि अगाडि बढेर एक किसिमको कोरा व्यापारको अवतारमा देखापरिसकेको छ । व्यावसायिक पत्रकारिताको कलेबरमा अगाडि बढेको यो नयाँ अवतारको पत्रकारितासँग फुट नोटमा राख्नुपर्ने धेरै कुराहरु छन् ।
संसारमा हरेक कुरा दाहोरिन्छन्, तर ठीक त्यही रुपमा हैन, यो एक प्रचलित भनाइ हो । त्यही संसारको एक सानो प्राणी भएकाले मेरो जीवनमा पनि त्यस्तो हुनु अस्वभाविक हैन । कुनै बेला रहर भएको पत्रकारिता मेरो लागि कहर हुँदै फेरि रहर नै बन्न आइपुगेको छ । तर, उही रुपमा हैन । अब म ब्यावसायिक पत्रकार रहिन । व्यावसायिक हुन अन्तर्राष्ट्रिय मान्यताअनुसार कम्तीमा पनि साताको पाँच दिन आठ घन्टाको दरले ४० घण्टा त्यही काम गर्नुपर्छ । र, त्यसैबाट हुने कमाइले उसको गुजारा चल्नुपर्छ । यसरी हेर्दा, अहिले म न साताको चालीस घण्टा पत्रकारिता गर्छु, न यसबाट आउने कमाइले मेरो गुजारा नै चल्छ ।
अहिले मेरो पत्रकारिताको हैसियत दृष्टि साप्ताहिकको सल्लाहकार सम्पादक हो । म यो हैसियतमा सातामा एउटा स्तम्भ लेख्छु विलोम । आवश्यकता परे सम्पादकले सम्पादकीय र मुख्य समाचार लेख्न भन्नुहुन्छ, लेखिदिन्छु । नपर्दा हामी यी दुई विषयमा सल्लाह गर्छौ र अगाडि बढ्छौं । अहिलेका मेरा काम यिनै हुन् । तर, यति नै मात्र एक व्यावसायिक पत्रकार हुनको लागि पर्याप्त छैन । यसले मेरो पत्रकारिताप्रतिको समर्पणको कथा त भन्छ, तर व्यावसायिकताको भरणपोषण गर्दैन । विचारको कोणबाट कम्युनिष्ट हैन, वामपन्थी हुनुको नाता यो प्लेटफर्ममा धेरै हदसम्म सम्झौता पनि गर्नु पर्दैन । आफ्नै अभिव्यक्ति स्वतन्त्रताका लागि पनि यो प्लेटफर्म ठीकै लागेको छ मलाई । भौतिक रुपमा संसारको कुनै कुनामा रहे पनि यो उपस्थितिलाई निरन्तरता दिने इमान्दार प्रयत्न मेरो रहन्छ नै ।
यसोभन्दा गर्व पनि लाग्छ, सम्भवतः नेपालमा सबै विटमा कलम चलाउन सक्ने हातका औलामा गन्न सकिने पत्रकारमा पर्छु म । खेलकुददेखि ललितकलाका सारा फाँटसम्म, अर्थवाणिज्यदेखि सूचना प्रविधिसम्म, राजनीतिदेखि समाजका यावत बिटसम्म । नेपालीमा मात्र हैन, अंग्रेजीमा पनि । मसँग काम गर्ने हजारौं साथीहरु त्यसका साक्षी छन्, पाठकहरु साक्षी छन् । यसको पनि कारण छ, एक त धेरै विषय अध्ययन गरियो, दोस्रो हामी जनरालिष्ट हुने समयका पत्रकार पर्यौ, स्पेसलिष्ट हुने आजको समयका हैन । हाम्रो समयमा पत्रकारले सबै जान्नु पथ्र्यो, आफ्नो बिट जानेर मात्र पुग्दैनथ्यो । मानव स्रोत र साधनको अभावले खुम्च्याएको यो सीमितता आफैंमा एउटा चुनौतिपूर्ण अवसर थियो । त्यसैले एक किसिमले भन्नु पर्दा हाम्रो पुस्तालाई नै ज्याक अफ अल, मास्टर अफ नन बनायो भने पनि हुन्छ ।
यद्यपि, आफ्नो परिचय भने मास्टर अफ सम पनि बनेछ, चलचित्र पत्रकार, समीक्षकका रुपमा । नेपाल भित्र मात्र हैन, विश्वका हर कुनामा छरिएर रहेको नेपाली डायस्पोरा पुगेको बेला पनि धेरै यस्ता पाठक भेटिए, जसले आफूलाई अझै पनि चलचित्र पत्रकारकै रुपमा सम्झेका, पढेका रहेछन् । आफूले पत्रकारिताको कखरा पनि चलचित्र मासिक प्रियाको सहसम्पादकबाट सुरु गरेको थिएँ, त्यसै विषयमा शोधपत्र तयार गरेर विद्यावारिधि गर्नेसम्म मौका मिल्यो । चाहे चलचित्र समीक्षक समाज नेपाल (फिक्सन ) को संस्थापक भएर होस् या नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, चलचित्रले नै आफ्नो लागि भर्यांगको काम गर्यो । मैले पनि पत्रकारिताका अन्य महत्वपूर्ण भूमिकामा हुँदासमेत चलचित्रका विविध पक्षमाथि लेख्न छोडिन, बोल्न छोडिन । एक किसिमको वाच डगको भूमिकामा रहिरहे । हुन त यो मेरो चलचित्रप्रतिको एकतर्फि माया थियो, तर प्रकारान्तरमा जन्ती होस् या मलामी यही क्षेत्रले दिने रहेछ भन्ने कुरामा आशावादी हुने ठाउँ रह्यो । यसरी हेर्दा दुईतर्फि नै बनेछ भन्नुपर्ने अवस्था सिर्जना भयो ।
हो, नेपाली चलचित्र पछिल्लो समय खासै चलेको छैनन् । गुणभन्दा संख्यामा बढी चलचित्र बने । नेपाली चलचित्रकर्मीहरु पनि आफ्नो ठाउँमा रहेनन् । चलचित्र पत्रकारहरुले आफ्नो भूमिकामा खहे उत्तर सकेनन् । तर, यसको अर्थ यो हैन कि समाजका अन्य हरेक क्षेत्र ठीक भएर चलचित्र मात्र बिग्रेको हो । त्यसो हैन । पछिल्लो समय नेपालमा के चलेको छ र ? केही पनि त चलेको छैन । हरेकमा गुण हैन, संख्या त छ । अनि को चाँहि पो आफ्नो ठाउँमा रहेका छन् र ? त्योभन्दा पनि माथि उठेर पत्रकारिताका अरु बिट चाँहि कहाँ जंकिट र फ्रिविजबाट मुक्त भए र ? त्यसैले समग्रतामा हेर्दा, नेपाली चलचित्रमात्रै सखाप भएको चित्र देख्न सकिदैन । निरपेक्ष भएर हैन, सापेक्षतामा हेर्दा नेपाली चलचित्रले खासै निराश चित्र दिदैन । भारतीय चलचित्र अझै पूर्ण डिजिटल हुन सकेको छैन, युरोपेली चलचित्र २०१७ मा मात्र डिजिटल हुने कुरा हुँदैछ, नेपाली चलचित्र त २०१४ मै डिजिटल भयो । कुनै बेला नौटंकी मानिन्थ्यो, हाम्रो चलचित्र, अहिले यो मास मात्र हैन, क्लासमा पनि छिरेको छ । कुनै बेला पुरुषलाई नै महिला बनाउनुपर्ने स्थितिमा थियो क्षेत्र, आज नेपाली महिला चलचित्रकर्मी चलचित्रका हरेक क्षेत्रमा नेतृत्व पंक्तिमा छन् । कुनैबेला जय नेपाल हलमा जाँदा नाक छोपेर जानुपथ्र्यो, आज मुलुकमा न्युयोर्कको म्यानहट्टनमा रहेका स्तरका मल्टिप्लेक्स छन् । कुनैबेला भुई नाप्दै साग किन्नु पर्यो भनेर सरोज खनाल विदेशिएका थिए, तर आज सामान्य कलाकार पनि स्टेयरिंग सुम्सुम्याउँदै हिड्न थालेका छन् । रुपमा मात्र हैन, सारमा पनि नेपाली चलचित्रका पक्षमा भएका यी सकारात्मक पक्षहरु हुन् । तर हामीले यो प्रगतिको अर्थ र महत्व बुझ्न र बुझाउन सकेनौंं । यसमा हामी चुकेकै हो । अनि, हामी आफूभन्दा ठूलालाई सम्मान गर्ने र सानालाई माया गर्ने सोच र कोण, अनि आनी र बानीमा चुकेकै हौं । ओरियन्टल संस्कृतिमा धनी हामीहरुका लागि यो चाँहि चिन्ताको विषय हो ।
सक्रिय पत्रकारिताबाट ४५ को हाराहारीमै टायर्ड हैन, रिटायर्ड हुनुपर्दाको क्षण, अब के गर्ने, कसो गर्ने ? आफैतिर प्रश्नहरुको ओइरो लाग्ने रहेछ । अझ त्यसमा पनि मूल्य र मान्यतामा आधारित पत्रकारिता गरे वापत् हासिल हुने आर्थिक विपन्नताको स्थिति त झन् पीडादायक नै हुनेरहेछ । यस्तो अवस्थामा के गर्ने होला भनेर सोचिरहेको बेला दिमाखमा एउटा सोच आयो । मिडिया टेक्नोलोजीको डेमोक्रेटोडाइजेसन भएको बेला किन एउटा सिनेमा पोर्टल नचलाउने ? यत्रो वर्ष यसै क्षेत्रमा काम गरियो । यसै क्षेत्रमा जन्ती अनि मलामीको जोहो पनि गरियो । जीवनको अधिकांश समय पनि यसैमा लगानी गरियो । जानेको पनि सायद यही नै अरुभन्दा अलि बढी भयो । त्यसैले एउटा सानो सिनेमा पोर्टल सुरु गर्ने कि जस्तो लाग्यो ।
नाम खोज्दै जाँदा आफूले २०४२ सालमै प्रिया मासिकबाट चलचित्र पत्रकारिता सुरु गर्दा लेखेको पहिलो शव्द चलचित्र च नै ठीक लाग्यो । स्मरणीय रहोस्, जीवनमा पहिलो रिपोर्टिग गर्न जाँदा कपीको सिरानमा श्रीगणेशाय नमः हैन, चलचित्र च लेखेको थिएँ । अनि पछि पहिलो सम्पादकीय पनि त्यही शीर्षकमा लेखेको थिए । कपुरी क हुँदै चरिचुच्चे च हुन्थ्यो, हाम्रो बेलामा कखरा । मलाई लाग्यो, किन चरिचुच्चे च भन्ने, चलचित्र च भने त भैहाल्यो नि । त्यसपछि मैले यसलाई एउटा अभियानकै रुपमा चलाएको थिएँ, चलचित्र च ।
मेरो जीवनको पछिल्लो मुकाम पनि यही चलिचित्र च भएको छ । भर्चुअल वर्ल्डमा बिना साइबर बुलिंग नेटिजनहरुमा समर्पित छ, www.chalchitracha.com । बिटा प्रिमियर भैरहेको यो पोर्टललाई एक पटक लग अन गरेर भन्ने हो कि चरिचुच्चे च हैन, चलचित्र च । आगे यहाँहरुकै मर्जी ।















प्रतिक्रिया