काठमाडौं, २६ माघ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा नेपालभरी एउटै मूल्यमा साट्न वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
विदेशी मुद्रा सटहीको दर सबै ठाउँमा फरक फरक पाइएपछि त्यसमा एक रुपता ल्याउन राष्ट्र बैंकले सोमबार यस्तो निर्देशन दिएको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र मनि चेन्जर कम्पनीलाई विनिमय दर एउटै कायम गर्न निर्देशन दिएको नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो निर्णयले ग्राहक ठगिनबाट जोगिनेछन् ।’ यो निर्देशन सोमबारबाटै लागू भएको उहाँले बताउनुभयो । सबै वित्तीय संस्थालाई यो निर्णय प्रभावकारीता साथ कार्यान्वयन गराउन उहाँले आग्रह समेत गर्नुभयो ।
निर्देशन अनुसार, बाणिज्य बैंकहरुले विहान १० बजे र दिनको २ बजे रेमिटेन्स विनिमय दरको रुपमा प्रकाशित गर्नुपर्ने हुन्छ । औसत दरमा रहेर बैंक तथा वित्तीय संस्था र रेमिटेन्स कम्पनीहरुले रेमिटेन्स प्रयोजनका लागि समान रुपमा विनिमय दर कायम गर्नुपर्छ ।
यही औषत दरका आधारमा कम्पनीहरुले ग्राहकलाई सटही सुविधा दिन राष्ट्र बैंकले निर्देशन दिएको हो । विदेशी विनिमयको कारोबार गर्ने संगठन फेडानले बैंकको औसतदर कायम गर्छ ।
फेडानले दैनिक दुई पटक प्रकाशन गर्ने रेमिटेन्स विनिमय दर बैंक तथा वित्तीय संस्था र रेमिटेन्स कम्पनीहरुलाई उपलब्ध गराउने छ । विनिमय दरको विवरण फेडानले प्रत्येक दिन राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा समेत बुझाउनुपर्ने निर्णय समेत गरिएको छ ।
निर्देशन अनुसार रेमिटेन्स भुक्तानी अनिवार्य रुपमा बैंक खातामार्फत बुझाउनुपर्ने छ । पुरानो व्यवस्थालाई संशोधन गर्दै एक लाख रुपैयाँभन्दा कमको रेमिटेन्स नगदमै भुक्तानी गर्न र लाख भन्दा बढीको बैंकमार्फत भुक्तानी गर्नुपर्ने छ ।
















प्रतिक्रिया